श्रीलङ्का सङ्कट: भिड छिरेपछि राष्ट्रपति भवनमा देखिए यस्ता गतिविधि र दृश्य

- Author, अनबरसन इथिराजन
- Role, बीबीसी न्यूज, कोलम्बो
रश्मी कविन्ध्य आफूलाई कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासभित्र जान पाइएला भन्ने कहिल्यै नलागेको बताउँछिन्।
मानिसहरूको ठूलो भिडले श्रीलङ्काको सबैभन्दा सुरक्षित भवन आफ्नो नियन्त्रणमा लिएको भोलिपल्ट कविन्ध्यजस्ता हजारौँ मानिस उक्त विशाल परिसर हेर्न भेला भएका थिए।
त्यो उपनिवेशकालीन संरचनामा कैयौँ बरन्डा, बैठककक्ष र शयनकक्ष, एउटा स्विमिङ पुल र एउटा ठूलो चौर छ। शनिवारको नाटकीय घटनाक्रमले राष्ट्रपति गोटाबय राजपक्षलाई भाग्न बाध्य बनाएको थियो।
"यो ठाउँको विलासिता र भव्यता हेर्नुहोस् त," आफ्ना चार सन्तानसहित राष्ट्रपति निवास गएकी कविन्ध्य भन्छिन्। "हामी गाउँमा बस्छौँ र हाम्रो घर सानो छ। यो दरबार जनताको हो र यो जनताको पैसाले बनेको हो।"
हजारौँ महिला, पुरुष र बालबालिकाले दरबार परिसरमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए भने केही प्रदर्शनकारीले भिडलाई नियन्त्रण गर्ने प्रयासमा थिए।
प्रहरी र विशेष सुरक्षाकर्मीहरूले एउटा कुनामा उभिएर शान्त भई त्यो गतिविधि हेरिरहे।
एउटा कोठाबाट अर्को कोठासम्म डुल्दै मानिसहरूले कलात्मक डेस्क र चित्रकला देखिनेगरी सेल्फी खिचे। उनीहरूले बैठकमा पनि त्यसै गरे।

कतिपय ठाउँमा भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडाहरू छन्। तिनले राष्ट्रपति भवनमा भिड प्रवेश गर्दा भएको भद्रगोलको सङ्केत गर्छन्।
"यस्तो दरबार देख्न पाउनु मेरा लागि सपना पूरा भएको क्षण हो," बच्चा घुम्न आउने एउटा पार्कमा गेनमुला नगरमा काम गर्ने एएल प्रेमावर्दनेले भने।
प्रदर्शनको अगुवाइ गरिरहेका नेताहरूले राष्ट्रपति राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्घले राजीनामा नदिएसम्म ती दुईका सरकारी निवास नछाड्ने बताएका छन्।
उक्त भवन हेर्ने मानिसको भिड बढ्दा भागदौड हुने खतरा देखिए पनि घातक हतियार बोकेका सैनिक र विशेष सुरक्षाकर्मी पछि हटे। बरु स्वयंसेवकहरूले आगन्तुकको आउजाउ मिलाउने प्रयास गरे।

उक्त परिसरमा रहेको पौडी पोखरी आकर्षणको केन्द्रबन्दु बनेको थियो।
खैरो पानी भरिएको पोखरीनजिकै मानिसहरू झुम्मिएका थिए।
एक किशोर पोखरीमा हाम फाल्दा मानिसहरू ताली बजाउँदै चिच्याएका थिए। शनिवार प्रदर्शनकारीहरूले त्यो दृश्यको भिडिओ खिचेका थिए।

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, Getty Images
"मलाई दुःख लाग्यो," आफ्ना दुई छोरीसँग राष्ट्रपति भवन गएकी निरोसा सुदर्शनी हचिङ्सनले भनिन्।
"लोकतान्त्रिक विधिबाट निर्वाचित एक व्यक्तिले यस्तो लाजमर्दो तरिकाले छोड्नुपर्यो। हामी यस्तो मान्छेलाई मत दिएकोमा लज्जित छौँ। मानिसहरू तिनले देशबाट लुटेका रकम फिर्ता भएको हेर्न चाहन्छन्।"
सबैभन्दा लोकप्रिय ठाउँ राष्ट्रपति भवनभित्रको एउटा शयनकक्ष थियो जहाँ किशोरहरू आरामपूर्वक बसिरहेको देखिन्थ्यो।
राष्ट्रपति भवनमा देशभित्र बोलिने सिन्हला र तामिलबाहेक अङ्ग्रेजी भाषा पनि बोलेको सुनिन्थ्यो।
त्यहाँ प्रदर्शनकारीहरू रोमाञ्चित भएको स्पष्ट थियो।
भवनबाहिरको सफा चौरमा बौद्ध, हिन्दू र इसाई धर्मका सयौँ मानिसहरू डुलिरहेका थिए।
अघिल्लो दिनसम्म प्रवेश पनि नपाइने उक्त हरियो चौरमा एउटा परिवारले पिकनिक मनाइरहेको देखिन्थ्यो।
केही महिनादेखि भइरहेको विरोधप्रदर्शनका कारण अन्ततः देशको आर्थिक दुरवस्थाका जिम्मेदार ठानिएका नेताहरू हट्नुपर्ने स्थिति आएको श्रीलङ्कालीहरू ठान्छन्।
यद्यपि नेताहरूको जीवनशैलीको झलक देख्न पाउँदा उनीहरू झनै आक्रोशित देखिएका छन्।










