श्रीलङ्का सङ्कट: राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्: प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको निवासमा आगो लगाइदिएका थिए

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा राजीनामा नगरेसम्म उनीहरूका निवास नछाड्ने बताएका छन्।

राष्ट्रपति गोटाबय राजपक्षले १३ जुलाईमा पद छाड्ने जनाएको सभामुखले शनिवार घोषणा गरेका थिए। तर राष्ट्रपति स्वयं सार्वजनिक रूपमा देखिएका छैनन्।

शनिवार राजधानी कोलम्बोमा जुटेका हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेका थिए।

प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्।

संशय

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्।

शनिवार ठूलो सङ्ख्यामा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए।

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन्।

तर प्रदर्शनकारीहरूमा अझै आफ्ना नेताहरूप्रति संशय देखिन्छ।

संसद्‌का सभामुखले "सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि" राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्।

उनले जनतालाई "कानुनको सम्मान" गर्न पनि आह्वान गरेका छन्।

घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ।

प्रदर्शन

शनिवारको घटनापछि अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो।

शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए।

कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते रहेको एएफपी समाचार संस्थासँग बताएका छन्।

श्रीलङ्का

तस्बिर स्रोत, EPA-EFE/REX/Shuttertock

श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।

दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो।

विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ।

मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन्।

असाधारण रूप

महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित भएका थिए र उक्त प्रदर्शनले असाधारण रूप लिएको थियो।

राष्ट्रपति भवनमा जम्मा भएको ठूलो भिड अवरोधहरू हटाएर भवनभित्रै प्रवेश गरेको थियो।

सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू भवनभित्र घुमिरहेका र राष्ट्रपतिको पौडी पोखरीमा प्रदर्शनकारीहरू पौडी खेलिरहेको देखिन्छ।

कतिपय प्रदर्शनकारीहरूले दराजसमेत फुटाएर राष्ट्रपतिका कतिपय सामानहरू लिए भने राष्ट्रपतिले प्रयोग गर्ने विलासी स्नान गृह लगायतका सामानहरू प्रयोगको मजा समेत लिए।

श्रीलङ्का

तस्बिर स्रोत, Getty Images

शनिवारको पूर्व निर्धारित प्रदर्शनअघि नै राष्ट्रपति राजपक्षले शुक्रवार आफ्नो निवास छोडेको रक्षा स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

उनी आफ्नो सरकारी निवास नजिकै रहेको अलग घरमा सुत्ने गरेका थिए।

निवास छाडेका राष्ट्रपति राजपक्ष कहाँ छन् भन्ने बीबीसीले यकिन गर्न सकेको छैन।

श्रीलङ्काबारे

  • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय -- सिन्हाली, तमिल र मुस्लिम -- ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
  • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
  • आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।