श्रीलङ्का आर्थिक सङ्कटः पेट्रोल भण्डार रित्तिन लागेको ऊर्जामन्त्रीको चेतावनी

श्रीलङ्कामा तेल अभाव

तस्बिर स्रोत, Getty Images

सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्।

नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्।

अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए।

इन्धन, खाद्यपदार्थ र औषधि आयात गर्न पनि निकै गाह्रो परिरहेको बेला गत साता श्रीलङ्काले अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनलाई डीजल र पेट्रोल बेच्न रोक लगाएको थियो।

कति तेल बाँकी छ?

श्रीलङ्कामा केवल १२,७७४ टन डीजल र ४,०६१ टन पेट्रोल बाँकी भएको विजेशेकरले संवाददाताहरूलाई बताए।

"पेट्रोलको अर्को खेप जुलाई २२ र २३ का बीचमा आउने अपेक्षा छ," उनले भने।

डीजल यही साताको अन्त्यतिर आइपुग्न सक्छ।

श्रीलङ्कामा तेल अभाव

तस्बिर स्रोत, Getty Images

यद्यपि विजेशेकरले इन्धन र कच्चा तेल आयात गर्ने योजनाका लागि पर्याप्त रकम नभएको चेतावनी उनले दिएका छन्।

उनका अनुसार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले इन्धन किन्न केवल १२.५ करोड डलर दिन सकेको छ।

अहिले ल्याउन खोजिएको इन्धनक लागि ५८.७ करोड डलर तिर्नुपर्छ।

यो वर्ष यसअघि विभिन्न सात आपूर्तिकर्तासँग किनेको तेलको ८० करोड डलर तिर्न अझै बाँकी भएको उनले बताए।

श्रीलङ्कामा तेल अभाव

तस्बिर स्रोत, CHAMILA KARUNARATHNE/EPA-EFE/REX/Shutterstock

रोक कहिलेसम्म?

श्रीलङ्कामा आगामी सातासम्मका लागि निजी सवारीसाधनलाई तेल बेच्न विक्रेताहरूलाई रोक लगाइएको छ।

सन् १९७० को दशकमा इन्धन आपूर्तिमा देखा परेको सङ्कटपछि तेल बेच्न रोक लगाउने श्रीलङ्का पहिलो देश भएको विज्ञहरू बताउँछन्।

त्यतिबेला संयुक्त राज्य अमेरिका र युरोपमा इन्धन बेच्न कोटा लगाइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो

महँगी कस्तो?

श्रीलङ्का सन् १९४८ मा यूकेबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रतापछि श्रीलङ्काले भोगेको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो।

अत्यावश्यक सामग्री आयात गर्न पनि श्रीलङ्कासँग पर्याप्त विदेशी मुद्रा छैन।

इन्धन, खाद्यान्न र औषधिको चरम अभावका कारण श्रीलङ्कामा महँगी ह्वात्तै बढेको छ।

धेरै मानिसहरू आफ्नो जीविकोपार्जनका लागि कुनै न कुनै रूपमा सवारीसाधनमा भर पर्ने भएकाले उनीहरूको खर्च पनि बढेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा औषधि अभाव, स्वास्थ्यसेवा पनि धराशायी हुने डर बढ्दो

उद्धारको प्रयास कस्तो?

गत साता बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको एउटा टोलीले श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउनका लागि ३ अर्ब डलरको एउटा सहमति गर्न वार्ता गरेको थियो।

त्यसबारे अझै कुनै सहमति भइनसकेको भए पनि उक्त टोलीले एउटा विज्ञप्ति जारी गर्दै "समष्टिगत तथा संरचनागत नीतिसँग सम्बन्धित एउटा प्याकेजका लागि महत्त्वपूर्ण प्रगति भएको" जनाएको छ।

उक्त टोलीले श्रीलङ्काली नागरिकले अहिले भोग्नुपरेको दुःख आफूले देखेको जनाएको छ।

"...विशेषगरी सङ्कटबाट विषमतापूर्क प्रभावित विपन्न र जोखिममा परेका मानिसले," विज्ञप्तिमा लेखिएको छ।

श्रीलङ्काले इन्धन उत्पादक देश रुस र कतारबाट सस्तोमा तेल पाइन्छ कि भनेर बुझ्न आफ्ना अधिकारीहरू ती देशमा पठाएको छ।