श्रीलङ्का आर्थिक सङ्कटः इन्धन आयातमा सघाउन गोटाबय राजपक्षद्वारा रुसी राष्ट्रपति पुटिनसँग अनुरोध

तस्बिर स्रोत, Getty Images
श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशमा इन्धन आयात गर्न सघाइदिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले अनुरोध गरेको बताएका छन्।
चरम आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा महँगी बढेको छ भने इन्धन र अन्य सामग्रीको अभाव उत्पन्न भएको छ।
गोटाबय राजपक्षले पुटिनसँग "निकै फलदायी" छलफल भएको बताएका छन्।
श्रीलङ्काका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलको मौज्दात चाँडै सकिने बताएको केही दिनपछि राष्ट्रपति राजपक्षले रुससँग गुहार मागेका हुन्।
बुधवार श्रीलङ्काको राजधानी कोलम्बोमा देशको खराब आर्थिक अवस्थाका कारण आक्रोशित हजारौँ मानिसले सरकारविरुद्ध प्रदर्शन गरेका थिए।
वार्ताका क्रममा श्रीलङ्कालाई इन्धन आयात गर्न सघाउ पुग्नेगरी 'अफर अफ क्रेडिट' [उधारो लिन योग्य छ भनेर खुलाइएको पत्र] दिन आफूले अनुरोध गरेको राजपक्षले बताए।
उनले मस्को र कोलम्बोबीच फेरि उडान सञ्चालन गर्न अनुरोध पनि गरेको जनाएका छन्। गत साता रुसी ध्वजावाहक एरोफ्लोटले आफ्ना उडान निलम्बन गरेको थियो। *

तस्बिर स्रोत, Getty Images
"हाम्रा देशबीच विद्यमान मित्रतालाई सबल बनाउन पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुपर्नेमा हामी एकमत भयौँ," राजपक्षले ट्विटरमा लेखेका छन्।
इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि श्रीलङ्काले केही महिनादेखि रुससँग तेल किनिसकेको छ।
सरकारले रुससँग थप पेट्रोलियम पदार्थ किन्न आफू इच्छुक भएको सङ्केत दिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सङ्कट
सात दशकभन्दा लामो अवधिमा देखा परेको सबैभन्दा नराम्रो आर्थिक सङ्कट समाधान गर्ने राजपक्षका प्रयासहरू सफल हुन सकेका छैनन्।
उनले भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत्, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभाव हुन नदिने प्रयास गरेका थिए।
आइतवार ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताएका थिए।
इन्धन तेल जोगाउने उद्देश्यले गत साता सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डीजल बेच्न रोक लगाएको थियो।
कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेको थियो। विदेशी मुद्रा नहुँदा विदेशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको हो।

तस्बिर स्रोत, Getty Images
तीस दिनको थप समय पाएको भए पनि गत मे महिनामा पहिलो पटक श्रीलङ्का ऋण तिर्न विफल भएको थियो।
देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्न अहिले श्रीलङ्का सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच तीन अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने विषयमा वार्ता भइरहेको छ।
श्रीलङ्का सरकारले यो वर्ष आफूलाई आईएमएफसहित अन्तर्राष्ट्रिय समुदायबाट पाँच अर्ब डलर सहयोग चाहिने बताएको छ।
महँगीसँगै ब्याजदर पनि बढ्यो
इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिएको छ।
बिहीवार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले आधारभूत ब्याजदर एक प्रतिशतले वृद्धि गरिदिएको छ।
ब्याङ्कले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज तोकिएको छ।
यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो।
वार्षिक मुद्रास्फीति अहिलेसम्मकै उच्च देखिएको छ।
खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ।
सयौँ प्रदर्शनकारीहरूले कोलम्बोस्थित संसद् भवनबाहिर बुधवार भेला भएर राजपक्ष सरकार हटाउने "अन्तिम प्रयास" भन्दै प्रदर्शन गरेका थिए।

तस्बिर स्रोत, Getty Images
रुससँग किन गुहार?
बीबीसी न्यूजका दक्षिण एशिया सम्पादक अनबरसन इथिराजनका अनुसार देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण इन्धन र पर्यटक ल्याउन अहिले श्रीलङ्कालाई रुसी राष्ट्रपतिको ठूलो सहयोग चाहिएको छ।
श्रीलङ्कामा अहिले इन्धन लगभग सकिएकाले व्यापार व्यवसाय र सार्वजनिक यातायात बन्द भएका छन्।
"विदेशी मुद्राको अभाव तथा ब्याङ्किङ र बन्दोबस्तीसँग सम्बन्धित समस्याका कारण श्रीलङ्काले खाडी वा अन्यत्रका आपूर्तिकर्ताबाट तेल पाउन सङ्घर्ष गर्नुपरिरहेको छ।"
रुसले युक्रेनमा अतिक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाएका छन्। "तर राष्ट्रपति गोटाबय पश्चिमा राष्ट्रहरू असन्तुष्ट हुने जोखिम लिन तयार भएको स्पष्ट देखिन्छ," इथिराजन भन्छन्।

तस्बिर स्रोत, Getty Images
गत महिना भुक्तानीसम्बन्धी विवादका कारण श्रीलङ्काको एउटा अदालतले एरोफ्लोटको एउटा विमान केही समयका लागि जफत गर्ने आदेश दिएपछि उक्त वायुसेववाले मस्को-कोलम्बो उडान बन्द गरिदिएको थियो।
युक्रेन युद्ध सुरु हुनुभन्दा अगाडि श्रीलङ्का आएका पर्यटकमध्ये झन्डै २० प्रतिशत रुसी नागरिक थिए।

श्रीलङ्काबारे
- टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय -- सिन्हाली, तमिल र मुस्लिम -- ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
- शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
- आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।

* मस्को र कोलम्बोबीच उडान हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्च्याइएको छ। - सम्पादक























