श्रीलङ्का सङ्कट: प्रधानमन्त्री कार्यालय भन्छ 'राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने पुष्टि गरेका छन्'

तस्बिर स्रोत, Getty Images
श्रीलङ्काको प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति गोटाबय राजपक्षले आफूले राजीनामा दिन लागेको पुष्टि गरेका छन्। प्रदर्शनकारीहरूले शनिवार धावा बोलेर प्रधानमन्त्री तथा राष्ट्रपति दुवै जनाको सरकारी निवास आफ्नो नियन्त्रणमा लिएका थिए।
प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू आफू ती स्थानबाट त्यत्तिकै बाहिर ननिस्किने अडानमा छन्।
शनिवार संसद्का सभामुखले राष्ट्रपतिले जुलाई १३ बुधवारका दिन राजीनामा दिने बताएका थिए।
तर धेरै प्रदर्शनकारीहरूले उक्त घोषणाबारे आशङ्का व्यक्त गरेका थिए।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घको कार्यालयले सोमवार एउटा विज्ञप्ति प्रकाशित गर्दै राजपक्षबाट उनले बुधवार पदत्याग गर्ने आधिकारिक सूचना प्राप्त भएको जनाएको छ।
तर राजपक्ष आफैँले यसबारे केही बोलिसकेका छैनन्।
श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा स्वीकृत हुन सक्छ। तर अहिलेसम्म उनले राजीनामा बुझाइसकेका छैनन्।
कहाँ छन् राजपक्ष?
अहिले राजपक्ष कहाँ छन् भन्ने खुलाइएको छैन।
तर सैन्य स्रोतले बीबीसीलाई बताएअनुसार राष्ट्रपति अहिले जलसेनाको जहाजमा श्रीलङ्काली सीमाभित्र समुद्रमा छन्।
उनका दाइ तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्ष पनि एउटा सैन्य शिविरमा भएको स्रोतहरूले बताएका छन्।
शनिवार हजारौँ मानिसले कोलोम्बोमा भेला भएर राष्ट्रपतिको राजीनामा माग गरेका थिए।
चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।
राजपक्षलाई श्रीलङ्काको अर्थतन्त्र भताभुङ्ग पारेका आरोप लागेको छ। विदेशी मुद्रा सञ्चितिको अभावमा त्यहाँ महिनौँदेखि खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव सिर्जना भएको छ।

तस्बिर स्रोत, Reuters
के भन्छन् प्रदर्शनकारी?
राष्ट्रपति र प्रधानमन्त्री निवासभित्र छिरेका प्रदर्शनकारीहरूको एउटै माग छः दुवै नेताको राजीनामा।
"हाम्रो सङ्घर्ष अझै टुङ्गिएको छैन," विद्यार्थी नेता लाहिरु वीरशेखरले समाचारसंस्था एफएपीसँग भने। "[राष्ट्रपति राजपक्ष] साँच्चै नबाहिरिएसम्म हामी यो सङ्घर्ष छोड्दैनौँ।"
"राजनीतिमा के हुन्छ त्यो हेर्न आगामी दुई दिन निकै अनिश्चित छन्," राजनीतिक विश्लेषक तथा मानवाधिकारवादी वकिल भवानी फोन्सेकाले रोएटर्सलाई बताइन्।
सहज किसिमले सत्ता हस्तान्तरण गर्ने विषयमा राजनीतिक दलहरूले आइतवार छलफल गरेका छन्।
बीबीसीको न्यूजआवर कार्यक्रममा बोल्दै श्रीलङ्काको संसद्का सभामुखले राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र राजनीतिक दलहरूले संयुक्त सरकार बताउनुपर्छ।
सभामुख महिन्द यप अबेवर्दनले कोभिड महामारीका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको दाबी गरे। उनी राजपक्षकै दलबाट निर्वाचित भएका हुन्।

तस्बिर स्रोत, Getty Images
शनिवार के भयो?
महिनौँदेखि प्रायः शान्तिपूर्ण प्रदर्शन भइरहेको श्रीलङ्कामा शनिवार अभूतपूर्व घटना भयो।
नाराबाजी गर्दै देशको झण्डा बोकेर ठूलो भिड राष्ट्रपति निवासमा बलपूर्वक छिर्यो।
अनलाइन माध्यममा प्रकाशित भिडिओमा प्रदर्शनकारीहरू राष्ट्रपति निवासभित्र यताउता घुमेको र पौडी पोखरीमा पौडी खेलेको देखिन्छ। उनीहरूले राष्ट्रपतिका महँगा सामान चलाएको र भव्य स्नानकक्ष प्रयोग गरेको देखिन्छ।
महिनौँदेखि लाखौँ जनताले खेपेको सास्ती र राष्ट्रपति निवासको सुखसुविधाबीचको अन्तर प्रदर्शनकारीहरूले देखेका थिए।
विशाल प्रदर्शन हुने अघिल्लो दिन शुक्रवार नै राजपक्षले सरकारी निवास छोडेको रक्षा मन्त्रालयस्थित स्रोतहरूले रोएटर्सलाई बताएका छन्।
तर राजपक्ष सुत्नका लागि सरकारी निवास नभई नजिकै रहेको अर्को घरमा जाने गरेको बताइन्छ।

श्रीलङ्काबारे
- टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाली, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
- शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
- आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।











