श्रीलङ्का सङ्कटः प्रधानमन्त्री पद अस्वीकार गरेका विपक्षी नेता राष्ट्रपतिको उम्मेदवार बन्न इच्छुक

सजित प्रेमदास

तस्बिर स्रोत, Getty Images

    • Author, अनबरसन इथिराजन
    • Role, बीबीसी न्यूज, कोलम्बो

श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको बीबीसीसँग बताएका छन्।

उनको समगी जन बलवेगया (एसजेबी) दलले उनको उम्मेदवारीका लागि समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेपछि प्रेमदासले त्यस्तो इच्छा व्यक्त गरेका हुन्।

अहिले श्रीलङ्का चरम आर्थिक सङ्कटमा परेको छ। गत मार्च महिनादेखि हजारौँ मानिसले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

विदेशी मुद्रा सञ्चितिको अभावमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयात गर्न पनि श्रीलङ्काले सङ्घर्ष गर्नुपरेको छ।

राष्ट्रपति गोटाबय राजपक्षले आफूले यसै साता राजीनामा दिन लागेको बताएका छन्। सभामुखका अनुसार सांसदहरूले जुलाई २० का दिन नयाँ राष्ट्रपति छान्नेछन्।

प्रेमदासले उनको पार्टी र सहयोगीहरू "राष्ट्रपतिको पद रिक्त भएमा मेरो उम्मेदवारी अघि सार्न" सहमत भएको बीबीसीसँग बताए।

उनी सन् २०१९ मा राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए। जित्नको लागि सत्तारूढ गठबन्धनका सांसदहरूको समर्थन पनि आवश्यक हुन्छ।

राष्ट्रपति भवन छिरेका प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार हजारौँ प्रदर्शनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी निवासमा धावा बोलेका थिए

श्रीलङ्काको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका राजपक्षप्रति जनता असन्तुष्ट भएकाले आफूले सांसदहरूको समर्थन पाउने प्रेमदासको अपेक्षा छ।

त्यहाँको मुद्रास्फीति दर ५५ प्रतिशत पुगेको छ र लाखौँ मानिसहरू जीविकोपार्जन गर्न सङ्घर्ष गरिरहेका छन्।

प्रेमदासले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताए।

एसजेबीका यी नेताले गत अप्रिलमा प्रधानमन्त्रीको पदभार गर्ने प्रस्ताव अस्वीकार गरेपछि उनको आलोचना भएको थियो।

त्यसपछि उनका प्रतिद्वन्द्वी रनिल विक्रमसिङ्घलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। नयाँ सरकार गठन गर्न सजिलो बनाइदिन विक्रमसिङ्घले राजीनामा दिने बताइसकेका छन्।

श्रीलङ्काको वर्तमान अवस्थालाई "असफलता, अनिश्चितता र पूर्ण अराजकता"को सङ्ज्ञा दिँदै प्रेमदासले "सहमति, परामर्श, सम्झौता र एकताको खाँचो" औँल्याएका छन्।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार अहिले श्रीलङ्काको राष्ट्रिय ढुकुटीमा प्रयोग गर्न सकिने झन्डै २५ करोड अमेरिकी डलर मात्र बाँकी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'राष्ट्रपतिको राजीनामा नआएसम्म हामी यो ठाउँ छोड्दैनौँ'

कसरी होला समाधान

इन्धनको चरम अभावका कारण सार्वजनिक यातायात प्रभावित भएको छ। ऊर्जा केन्द्र सञ्चालनका निम्ति आवश्यक इन्धन नहुँदा विद्युत् कटौती भइरहेको छ। इन्धन अभावकै कारण यस साता विद्यालयहरू पनि बन्द छन्।

त्यहाँका धेरै मानिस देश छोडेर अन्यत्र जान खोजिरहेका छन्।

सजित प्रेमदास

तस्बिर स्रोत, Reuters

यस्ता समस्या तत्काल समाधान गर्न नसकिने प्रेमदासले स्वीकार गरेका छन्।

देशको अर्थतन्त्रलाई सन् २०१९ को स्तरमा फर्काउन करिब चार-पाँच वर्ष लाग्ने उनको तर्क छ। जारी सङ्कट पार गर्न आफ्नो दलसँग आर्थिक योजना रहेको बताए।

"हामी जनतालाई धोका दिनेछैनौँ। हामी स्पष्ट रूपमा देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्ने योजनाहरू प्रस्तुत गर्नेछौँ," प्रेमदासले भने।

तर कोलम्बोको गेल फेस साइटमा प्रदर्शनकारीहरूले श्रीलङ्काको वर्तमान अवस्थाका लागि सबै २२५ सांसद जिम्मेवार रहेको बताएका छन्।

उनीहरूले राजनीतिमा नयाँ र ऊर्जावान् व्यक्तिको आगमन तथा नयाँ थालनी चाहेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रपति भवन छिरेका प्रदर्शनकारीले यसरी पौडी खेले
लाइन

श्रीलङ्काबारे

  • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाली, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
  • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
  • आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो
लाइन