श्रीलङ्का विस्फोटः आक्रमणका नाइके मारिएको राष्ट्रपतिको भनाइ

श्रीलङ्का
तस्बिरको क्याप्शन, जहरान हाशिम

श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्।

राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको सिरिसेनाले बताए।

उनका अनुसार "इल्हाम" नाम गरेका अर्का बम आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।

कोलम्बोस्थित केही होटल तथा गिर्जाघरहरूमा अघिल्लो आइतवार गराइएका विस्फोटमा कम्तीमा २५० जना मारिएका थिए।

राष्ट्रपति सिरिसेनाले देशको गुप्तचर निकायका अनुसार तथाकथित इस्लामिक स्टेटसँग सम्बद्ध करिब १३० जना सन्दिग्ध रहेकोमा ७० जनाको अझै प्रहरीले खोजी गरिरहेको बताए।

साङ्ग्रीला होटलमा गराइएको विस्फोटमा हाशिमको ठ्याक्कै के भूमिका थियो भन्नेबारे राष्ट्रपतिले स्पष्ट पारेनन्।

आक्रमणमा स्थानीय इस्लामवादी उग्रवादी समूह न्याशनल तौहिद जमातको हात रहेको श्रीलङ्काका अधिकारीहरूको आरोप छ।

को थिए जहरान हाशिम?

खासै नचिनिएका हाशिमले केही वर्षअघि बौद्ध धर्मसँग सम्बन्धित सालिकहरू कुरूप बनाएर बदनामी कमाएका थिए।

त्यसपछि उनले गैरमुस्लिमविरुद्ध हिंसाका लागि आह्वान गर्दै युट्युबमा भिडिओहरू अपलोड गरे।

आइतवारको आक्रमणको केही दिनपछि आइएसले सार्वजनिक गरेको एउटा भिडिओमा उनी देखिएका थिए, त्यसमा सातजना पुरुष थिए (बम आक्रमणकारीमध्ये केही थिए)।

श्रीलङ्का

तस्बिर स्रोत, Reuters

उनीहरूले समूहप्रति आफूहरू आबद्ध रहेको बताएका थिए। भिडिओमा अनुहार हाशिमको मात्रै देखिएको थियो।

आइएससँग हाशिमको प्रत्यक्ष सम्पर्क थियो अथवा आबद्धता मात्रै थियो भन्नेबारे स्पष्ट छैन।

हाशिम श्रीलङ्काको कट्टानकुडी नगरका थिए। यसअघि उनकी बहिनीले आफ्ना दाइको संलग्नताको निन्दा गरेकी थिइन्।

को थिए आक्रमणकारी?

आक्रमणमा नौजना सन्दिग्ध सामेल रहेको बताइन्छ। दुईजना आक्रमण मसला व्यापारी युसुफ इब्राहिमका छोरा थिए।

इब्राहिम श्रीलङ्काका धनीमध्येका एक हुन्। घटनापछि इब्राहिमलाई पक्राउ गरी सोधपुछ गरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

राष्ट्रपति सिरिसेनाका अनुसार इब्राहिमका एउटा छोराले हाशिमसँगै साङ्ग्रीला होटलमा विस्फोट गराएका थिए।

अर्का छोरा सिनमन होटलमा गराइएको विस्फोटमा संलग्न रहेको बताइन्छ।

आक्रमण कसरी भयो?

आइतवार बिहान पौने नौ बजेतिर थोरै समयभित्र छवटा विस्फोटका घटनाबारे विवरण बाहिर आए।

बाटिकालोआको नेगोम्बो र कोलम्बोको कोच्चिकाडेस्थित तीनवटा गिर्जाघरमा इस्टर पर्व मनाउने क्रममा विस्फोट भए।

राजधानी कोलम्बोस्थित साङ्ग्रीला, किङ्ग्सबरी र सिनामन ग्राण्ड होटलमा पनि विस्फोट भए।

अधिकारीहरूका अनुसार आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए।

श्रीलङ्का

तस्बिर स्रोत, Reuters

घटनापछि प्रहरीले छापा मारेको दुवै ठाउँमा विस्फोट भएको थियो।

एउटा छापा देहिवालामा मारिएको थियो भने अर्को देमातागोडामा जहाँ तीनजना अधिकारी मारिए।

श्रीलङ्काको समकालीन इतिहास

सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।

बौद्ध र मुस्लिम समुदायबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।

अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।

उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।

श्रीलङ्कामा धर्म

श्रीलङ्काको मुख्य धर्म थेरवादी बौद्ध धर्म हो।

पछिल्लो जनगणनाका अनुसार देशमा उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।

बहुसङ्ख्यक सिंहला समुदायले बौद्ध धर्म मान्छ।

A general view showing the damages after an explosion hit Kingsbury Hotel in Colombo

तस्बिर स्रोत, EPA

देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।

श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।

सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख इसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।