श्रीलङ्का सङ्कट: राजीनामाको मागबीच राष्ट्रपतिले नियुक्त गरे नयाँ प्रधानमन्त्री

तस्बिर स्रोत, AFP
- Author, अपर्णा अल्लुरी र साइमन फ्रेजर
- Role, बीबीसी न्यूज
श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षले गम्भीर आर्थिक सङ्कटलाई सम्बोधन गर्न नसकेको भन्दै भइरहेको विरोधलाई निरुत्साहित गर्ने प्रयासका रूपमा नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
वरिष्ठ विपक्षी सांसद रनिल विक्रमसिङ्गले प्रस्तावित संयुक्त सरकारको नेतृत्व गर्ने शपथ लिएका छन्।
राष्ट्रपतिले राजीनामाको आह्वानलाई बेवास्ता गर्दै राष्ट्रको नाममा गरेको सम्बोधनमा कानुन व्यवस्थालाई पुनर्स्थापित गर्ने वाचा गरेपछि राष्ट्रपति राजपाक्षले यस्तो कदम चालेका हुन्।
उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि देशमा फैलिएको अशान्तिमा नौ जनाको मृत्यु भइसकेको छ भने दुई सय जना घाइते भएका छन्।
आफ्नो सम्बोधनमा राष्ट्रपति राजपक्षले संसद्मा बहुमत प्राप्त गर्ने र नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्ने गरी नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएका थिए।
विक्रमसिङ्ग श्रीलङ्काको राजनीतिक परिदृश्यमा दशकौँदेखि रहँदै आएका छन्।
संसद्को एक सिट मात्रै रहेको दलको नेतृत्व गर्ने उनको प्रधानमन्त्रीका रूपमा यो छैटौँ कार्यकाल हुनेछ।
यद्यपि उनी कहिल्यै पनि पूर्ण कार्यकाल प्रधानमन्त्री हुन पाएका छैनन्।

तस्बिर स्रोत, Getty Images
उनलाई राजपक्षको नजिकको व्यक्तिका रूपमा हेरिएको छ।
विज्ञहरू भने राजपक्ष र उनको परिवारको सुरक्षा तथा उनीहरूले अनुरोध गर्न सक्ने कुनै पनि सुरक्षित वहिर्गमनको प्रत्याभूति दिनसक्ने भएकाले विक्रमसिङ्गलाई छानिएको बताउँछन्।
तर अहिले उनलाई प्रतिपक्ष वा जनताको धेरै समर्थन छैन।
बिहीवार बिहान केही समयका लागि राष्ट्रव्यापी कर्फ्यू हटाइएको थियो तर दिउँसो पुन: लागु गरियो।
श्रीलङ्काको अर्थतन्त्र कमजोर छ र खाद्यान्न र इन्धन जस्ता आधारभूत वस्तुहरू सकिन वा किन्न नसकिने भएकाले मानिसहरू निराश छन्।








