द्रौपदी मुर्मू: नरेन्द्र मोदीको दल भाजपाले भारतको राष्ट्रपति बनाउन चाहेकी यी आदिवासी नेत्री को हुन्?

द्रोपदी मुर्मू

तस्बिर स्रोत, BJP

भारतको सत्तारूढ गठबन्धनद्वारा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार प्रस्तावित आदिवासी राजनीतिज्ञ द्रौपदी मुर्मू यदि निर्वाचित भएमा उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेत्री बन्नेछिन्।

चौसट्ठी वर्षीया पूर्वशिक्षिका उडिसा राज्यकी हुन्। उनी दशकौँदेखि भारतीय जनता पार्टी (भाजपा) सँग आबद्ध छिन्।

यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्।

भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन।

भारतमा राष्ट्रपति चयन

राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गर्छन्।

विश्लेषकहरूका भनाइमा भाजपासँग आफूले मनोनयन गरेको उम्मेदवारलाई विजय सुनिश्चित गर्न पर्याप्त सङ्ख्या छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मू एउटा "महान् राष्ट्रपति" हुनेमा आफू "विश्वस्त" रहेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

पार्टीको संसदीय समितिबाट गत मङ्गलवार उनको उम्मेदवारी घोषणा गरेपछि भाजपा अध्यक्ष जेपी नड्डाले मुर्मूको चयन आफ्नो दल र गठबन्धनका साझेदारहरूले सोचेका २० नाममध्येबाट विस्तृत छलफल गरेपछि भएको बताएका थिए।

मुर्मूले भने आफ्नो मनोनयनबारे टेलिभिजन र समाचारबाट थाहा पाएपछि "अचम्भीत" र "प्रसन्न" भएको बताइन्।

मनोनयनबारे थाहा पाएपछि उनले संवाददाताहरूसँग भनिन्, "दुर्गम मयूरभञ्ज जिल्लाकी एक आदिवासी महिलाको रूपमा मैले यो शीर्षस्थ पदको उम्मेदवार बन्नेबारे सोचेकी पनि थिइनँ।"

प्रतिस्पर्धामा भाजपाका पूर्वनेता यशवन्त सिन्हा पनि

उडिसामा सबै दलका नेताहरूले उनलाई "भूमिपुत्री" भन्दै उनको मनोनयनलाई स्वागत गरेका छन्।

मुर्मूले उक्त राज्यमा सबै निर्वाचित विधायकबाट सहयोग पाउनेमा आफू "आशावादी" भएको बताएकी छन्।

राष्ट्रपतिको निर्वाचनमा मुर्मूको प्रतिस्पर्धा विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हासँग हुनेछ। सिन्हा पहिला भाजपामै थिए।

सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए।सिन्हा अहिले भाजपा र मोदीका प्रखर आलोचक हुन्।

उनको मनोनयन दुईजना अनुभवी नेताहरू शरद पवार, फारूक अब्दुल्लाह र महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धीले प्रतिस्पर्धा गर्न अस्वीकार गरेपछि भएको हो।

राष्ट्रपतीय निर्वाचन जुलाई १८ मा हुने तय गरिएको छ र जुलाई २१ मा त्यसको परिणाम घोषणा गरिनेछ।

विजयी उम्मेदवार रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।

द्रौपदी मुर्मू र रामनाथ कोविन्द

तस्बिर स्रोत, Hindustan Times via Getty Images

तस्बिरको क्याप्शन, द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएमा उनी रामनाथ कोविन्दकी उत्तराधिकारी बन्नेछिन्

को हुन् द्रौपदी मुर्मू?

गत राष्ट्रपतीय निर्वाचनअघि उनलाई उम्मेदवार बनाउनेबारे भाजपाले विचार गरिरहेको हल्ला चलेपछि मुर्मू सन् २०१७ मा चर्चामा आइन्।

त्यस बेला उनी झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत थिइन्।

उनको जन्म १९५८ को जुन २० मा मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको हो। उनी सन्थाल आदिवासी समुदायकी हुन्।

उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ।

उनका बुवा ग्राम परिषद्का प्रमुख थिए। उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन्।

उनले उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी उनी सन् १९७९-१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिइन्।

उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन्।

साढे दुई दशकको राजनीति

उनको राजनीतिक जीवन भने सन् १९९७ मा सुरु भएको हो। त्यतिबेला उनी स्थानीय निर्वाचनमा स्थानीय परिषद् सदस्य चुनिएकी थिइन्।

भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भइन्।

सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उनी मन्त्री थिइन्। बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गरेका थिए।

द्रौपदी मुर्मू

तस्बिर स्रोत, RAJAT GUPTA/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, भाजपाले राष्ट्रपति पदको उम्मेदवारका रूपमा नाम घोषणा गरेपछि मुर्मूले आफू अचम्भीत भएको बताएकी छन्

सुरुमा वाणिज्य तथा यातायातमन्त्री भएकी उनलाई पछि मत्स्य तथा पशु मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

सन् २००६ देखि सन् २००९ सम्म उनी उडिसामा भाजपाको अनुसूचित जनजाति मोर्चाकी अध्यक्ष थिइन्। भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसर नपाएको समुदाय मान्छ।

सन् २०१५ मा उनले सक्रिय राजनीति त्यागिन् र छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपालका रूपमा नियुक्त भइन्।

उनी राज्यपाल हुने उडिसाकै पहिलो आदिवासी नेता हुन्। राज्यपाल बनेर उनी सन् २०२१ को जुलाईसम्म छ वर्ष काम गरिन्।

झारखण्डको राजधानी राँचीमा रहेका बीबीसी हिन्दीका रवि प्रकाशका अनुसार आफ्नो कार्यकालमा मुर्मूले निकै प्रशंसा कमाएकी थिइन्।

"उनको कार्यालयको ढोका सबै किसिम समुदाय र पेसाका मानिसका लागि खुल्ला थियो," रवि प्रकाश भन्छन्।