भारत मौसम: प्रचण्ड गर्मी, तापक्रम अझै बढ्ने अनुमानसँग सावधान रहन चेतावनी

    • Author, शरण्या हृषीकेश
    • Role, बीबीसी न्यूज, दिल्ली

भारतमा गर्मी बढ्न थालेपछि त्यहाँको मौसम विभागले गम्भीर उष्णलहर आउन सक्ने चेतावनी जारी गरेको छ।

भारतमा प्रचण्ड गर्मीका कारण दशौँ लाख मानिसको जीवन र जीविकोपार्जन कठिन बनाइदिएको छ। उष्णलहरमा तत्काल कम हुने सम्भावना पनि देखिएको छैन।

"देशमा निरन्तर र सामान्य अवस्थाभन्दा छिटो तापक्रम बढिरहेको छ," प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरूसँग भने।

भारतको मौसम विभागले यो साता मध्य भारत र पश्चिमोत्तर भेगमा अधिकतम तापक्रम २ देखि ४ डिग्री सेल्सीअससम्म वृद्धि भएको जनाएको छ। विभागका अनुसार "त्यसपछि कुनै ठूलो परिवर्तन भएको छैन"।

भारतमा मे र जुन महिनामा उष्णलहर सामान्य भए पनि यो वर्ष अगाडि नै गर्मी सुरु भएको छ।

यो वर्षको मार्च महिनामा विगत १२२ वर्षयताकै सबैभन्दा बढी गर्मी मापन भएको थियो। भारतमा मार्च महिनाबाटै यो वर्ष उष्णलहर सुरु भइसकेको थियो।

१५ राज्य प्रभावित

सेन्टर फर साइन्स एन्ड इन्भाअरन्मन्टका अनुसार यो वर्ष पहिला नै भएको उष्णलहरले १५ वटा राज्यलाई प्रभावित गरेको छ। शीतल वातावरण भएको राज्यका रूपमा परिचित हिमाञ्चल प्रदेश समेत यसबाट प्रभावित भएको छ।

राजधानी दिल्लीमा यो साता ४४ सेल्सीअससम्म तापक्रम पुग्ने अपेक्षा गरिएको छ।

मौसम विभागका वरिष्ठ वैज्ञानिक नरेश कुमार अहिलेको उष्णलहरमा स्थानीय वातावरणीय तत्त्वहरू कारक रहेको बताउँछन्।

उष्णलहरको मुख्य कारक कमजोर पश्चिमी बदली थियो। भूमध्यसागरमा उत्पन्न आँधीका कारण भारतका मध्य र पश्चिमोत्तर क्षेत्रमा वर्षा यामअघि नै केही पानी पर्‍यो।

एन्टीसाइक्लोन भनिने हावा दबेर रहने उच्च वायुमण्डलीय चाप रहेको क्षेत्रका कारण पनि मार्चमा पश्चिमी भारतका विभिन्न क्षेत्रमा गर्मी र सुक्खा सिर्जना गर्‍यो।

त्यसको प्रभाव देखिनेगरी पर्‍यो। किसानहरूका अनुसार तापक्रमको वृद्धिले गहुँ खेती प्रभावित भएको छ। युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्तिमा आएको सङ्कटका बेला भारतमा गहुँको उत्पादन प्रभावित हुँदा विश्वव्यापी असर पर्न सक्छ।

तापक्रम वृद्धिले ऊर्जाको माग समेत बढाएको छ। धेरै प्रदेशहरूमा लोडशेडिङ सुरु भएको छ भने कोइला अभाव हुने आशङ्का बढाएको छ।

प्रधानमन्त्री मोदीले तापक्रमको वृद्धिका कारण आगलागीको जोखिम बढेको भन्दै सचेत गराएका छन्।

भारतका मध्य र उत्तरी भूभागसहित धेरै ठाउँहरूमा गर्मी याम कष्टकर हुने गरेका छन्। लाखौँ रुपैयाँ पर्ने वातावरण अनुकूलन गर्ने उपकरणहरू विक्री सुरु हुनुअघि नै मानिसहरूले गर्मीबाट बच्ने आफ्नै जुक्ति लगाउने गरेका थिए।

जमिनमुनि गाडिएका घैँटामा पानी चिसो बनाइराख्नेदेखि गर्मीका कारण हुने स्ट्रोकबाट बच्न शरीरमा काँचो आँप दल्ने सम्मका उपाय अपनाउने गरिएको छ।

तर विज्ञहरूले भारतमा थप तीव्र र लामो समयसम्म रहिरहने उष्णलहरहरू बारम्बार दोहोरिरहेको बताएका छन्।

इन्डियन इन्स्टिट्यूट अफ ट्रपिकल मिटिअरोलजी वैज्ञानिक रोक्सी म्याथ्यू कोल अहिलेको उष्णलहरमा धेरै वातावरणीय तत्त्वहरू जिम्मेवार रहेको बताउँछन्।

यसमा विश्वव्यापी तापमानवृद्धि पनि कारक रहेकोमा कुरामा उनी सहमत छन्।

"बढ्दो उष्णलहरको मुख्य कारण नै त्यही हो," उनी भन्छन्। वैज्ञानिक म्याथ्यूका अनुसार जलवायु परिवर्तन र अन्य कम चरम मौसम उतारचढावबीचको सम्बन्ध स्थापित गर्न थप अनुसन्धान आवश्यक छ।

जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने इन्स्टिट्यूट फर क्लाइमेट चेन्ज स्टडीजका निर्देशक शिवानन्द पाई जलवायु परिवर्तनबाहेकका अन्य चुनौतीहरू पनि रहेको बताउँछन्। उनका अनुसार बढ्दो जनसङ्ख्या र प्राकृतिक स्रोतहरूको दोहन पनि बढ्दो तापक्रमका कारक हुन्।

वन फँडानी, यातायातका साधनहरूको बढ्दो प्रयोगजस्ता गतिविधिले पनि उष्णलहरको बढ्दो अवस्थालाई अझै खराब बनाउने तत्त्वको काम गरिरहेका छन्।

"जब पक्की सडक र भवनहरू बढ्दै जान्छन् तापक्रम सतहमै थुनिएर रहन्छ र सतहभन्दा भन्दा माथि जान सक्दैन। यसले हावालाई अझै तातो बनाउने काम गर्छ," पाई भन्छन्।

चरम मौसमसम्बन्धी यस्ता समस्याहरू सबैभन्दा बढी गरिब मानिसले खेप्नुपर्छ।

"गरिब मानिसहरूसँग आफूलाई शीतल बनाउने थोरै मात्र स्रोतसाधन उपलब्ध हुन्छ। उनीहरूसँग तातोबाट बच्न घरभित्रै रहने विकल्प पनि कम हुन्छ," इन्डियन इन्स्टिट्यूट फर ह्यूमन सेटलमन्ट्समा वरिष्ठ अनुसन्धाता रहेकी चाँदनी सिंह भन्छिन्।

उष्णलहरका कारण हुने मृत्युमा धेरै ध्यान दिइरहँदा नीति निर्माताहरूले चरम मौसमका कारण मानिसहरूको जीवनस्तरमा पर्ने असरमा पनि ध्यान दिनुपर्ने सिंह बताउँछिन्।

"उष्णलहरले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यदि रातको समयमा पनि तापक्रम बढी भयो भने मानव शरीरले सामान्य अवस्थाको अनुभूति गर्न पाउँदैन जसले बिरामी हुने र औषधिको खर्च बढाउने जोखिम बढ्छ," उनी भन्छिन्।

भविष्यका लागि योजना बताउँदा "दीर्घकालीन सोच" सहितको योजना आवश्यक पर्ने कोल बताउँछन्।

"भारतमा केही ठाउँहरू छन् जहाँ तापक्रम मात्रै त्यति धेरै हुने होइन तर जब उच्च आर्द्रता पनि थपिन्छ जीवन धेरै कष्टकर हुन्छ," उनी भन्छन्।

उनले आर्द्रता र तापक्रम दुवैलाई एकसाथ मापन गर्ने वैज्ञानिक विधि 'वेट बल्ब' लाई आधार मान्नुपर्ने उनको सुझाव छ।

चर्चामा रहेका क्षेत्रबाहिर पनि ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।

"ग्रामीण क्षेत्रमा जस्ताको छाना भएका विद्यालयहरूमा बढ्ने बालबालिकाहरू धेरै छन्। गर्मीमा यस्ता कक्षाकोठामा बस्नै नसकिने हुन्छ," उनले भने।

सन् २०१५ यता भारतमा सङ्घीय र राज्य सरकारहरूले उष्णलहरबाट नागरिकहरूलाई जोगाउन विभिन्न उपायहरू अपनाउँदै आएका छन्। सरकारले तापक्रम उच्च भएको समयमा घर बाहिर काम गर्न प्रतिबन्ध लगाउनुका साथै समयमै नागरिकहरूलाई जानकारीहरू पठाउने समेत गरिरहेका छन्।

तर श्रम कानुनमा संशोधन गर्ने, सहरहरूमा हरियाली कायम गर्ने जस्ता ठूलो स्तरका परिवर्तनहरू नभएसम्म सरकारका यस्ता प्रयत्नहरू प्रभावहीन हुने सिंह बताउँछन्।

"हाम्रा भवनहरू हावा ओहोरदोहोर गर्नेभन्दा तातोलाई थुनेर राख्ने किसिमले बनाइएका छन्। हामीले अन्तर्राष्ट्रिय स्तरमा भएका धेरै नवीन परिवर्तनहरूबाट सिक्न जरुरी छ," उनी भन्छन्।

"हामीले केही कामहरू ठिकै पनि गरिरहेका छौँ, तर हामीले कामलाई अझै गति दिन जरुरी छ किनभने अब हामी तातोमै बाँच्नुपर्छ।"

यो पनि हेर्नुहोस्