तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सक्रिय राजनीतिमा कलाकार - पार्टी प्रवेशको आधार सिद्धान्त कि पदको आशा
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
गत मङ्गलवार अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्। अध्यक्ष केपी शर्मा ओलीले "एमाले कलाकार, साहित्यकारलगायत सबैको पार्टी भएको" बताउँदै मानन्धरलाई पार्टीमा स्वागत गरेको विवरणहरू सार्वजनिक भए।
राजनीतिक दलहरूले कलाकारहरूलाई आफ्नो दलमा स्वागत मात्र गरेका छैनन्, सदनसम्मै पुर्याएका पनि छन्। फिल्मकर्मी रमेशजङ्ग रायमाझी नेपाली काङ्ग्रेसबाट, जेबी टुहुरे माओवादीबाट, गायिका कोमल वली नेकपा एमालेबाट सांसद बनेका छन्।
तर कलाकारहरूको राजनीतिक यात्रा एउटै पार्टीमा लामो समय टिकेको उदाहरण न्यून छ। एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धर स्वयं यसअघि डा. बाबुराम भट्टराईको नेतृत्व रहेको तत्कालीन नयाँ शक्तिमा पार्टीमा थिइन्। २०७२ सालको अन्त्यतिर उनीसँगै कलाकारद्वय सरोज खनाल र अशोक शर्मा पनि उक्त पार्टी प्रवेश गरेका थिए।
त्यस्तै राष्ट्रिय सभा सांसद कोमल वली एमाले प्रवेश गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिइन्। त्यसअघि उनी तत्कालीन सद्भावना पार्टी प्रवेश गर्ने विवरणहरू सार्वजनिक भएका थिए।
अर्का वरिष्ठ कलाकार नीर शाह पहिले तत्कालीन एकीकृत माओवादीमा थिए। पछि उनी नेपाली काङ्ग्रेसमा प्रवेश गरे। अहिले काङ्ग्रेसले उनलाई राष्ट्रिय सभाको सांसद बनाउने तयारी भइरहेको विवरणहरू आएका छन्।
त्यसबारे उनी भन्छन्,"मलाई पार्टीले आधिकारिक जानकारी दिइसकेको छैन। अरूले मानिसले जसरी जानकारी पाइरहेका छन् मैले पनि त्यसरी नै मात्र पाएको छु।"
कुनै पनि चेतनशील नागरिकले आफ्नो विचार प्रष्ट बनाएर त्यससँग मिल्दो पार्टी प्रवेश गर्नुलाई स्वाभाविक प्रक्रियाको रूपमा शाहले लिएका छन्।
"क्षणिक रहर पूरा गर्न मात्र चाहिँ पार्टीमा प्रवेश गर्नु भएन। त्यो दीर्घकालीन हुँदैन। त्यसले कसैलाई पनि स्थायित्व प्रदान गर्दैन," उनले भने।
भारतको बलीवुड चलचित्र उद्योगमा लामो समय सक्रिय रहेकी अभिनेत्री मनीषा कोइराला नेपाली काङ्ग्रेसको राजनीतिमा प्रभावशाली कोइराला परिवारकी सदस्य हुन्। पछिल्लो समय उनी बलीवुडमा निष्क्रिय भएपछि नेपाली राजनीतिमा प्रवेश गर्ने आकलन कतिपयको थियो।
कतिपय राजनीतिक विषयमा उनी सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरिरहन्छिन्।
तर उनी कुनै पनि राजनीतिक दलमा प्रत्यक्ष संलग्न भइसकेकी छैनन्।
कलाकारको राजनीतिक आधार सिद्धान्त कि अवसर?
करिब एक दशकअघि माओवादीले आयोजना गरेको आम हडतालको बेलामा नेता पुष्पकमल दाहालसँग कलाकार रेखा थापा बाटोमै नाचेको प्रसङ्गको व्यापक चर्चा भयो। कार्यक्रममा उनी एक कलाकार मात्र नभई माओवादीकी सदस्यका रूपमा उपस्थित थिइन्।
घटनाको पाँच वर्षपछि रेखा थापाले माओवादी छोडिन् र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरिन्। भर्खरै सम्पन्न महाधिवेशनमा उनी महामन्त्री पदमा उम्मेदवार बनेकी थिइन्, तर पराजित भइन्। पछि उनी केन्द्रीय सदस्यमा मनोनीत भइन्।
थापा राजनीतिक दलमा आफू सिद्धान्त र उद्देश्यका कारण जोडिएको बताउँछिन्।
"पार्टीमा सहभागी हुनुको प्रमुख आधार सिद्धान्त नै हो। तर कहिलेकाहीँ सिद्धान्त मिल्दामिल्दै नेताहरूले गलत काम गरेपछि हामी भौँतारिनुपर्छ," उनले पार्टी परिवर्तन गर्नुको कारणबारे सोधिएको प्रश्नमा भनिन्।
माओवादीमा प्रवेश गर्दा पार्टीले लिएको लक्ष्यहरू गन्तव्यसम्म नपुग्ने देखिएपछि आफूले सदस्यता त्यागेको उनको दाबी छ।
"मुद्दाहरू कार्यान्वयन भएनन्, पार्टी फुट्यो। सिद्धान्त एकातिर, नेताहरू अर्कोतिर भए। बसिरहेको भए अवसरको हिसाबले मलाई फाइदा थियो। तर त्यसो गरिनँ," उनले भनिन्।
उनी कलाकारहरू अवसरका निम्ति पार्टी प्रवेश गर्छन् भन्ने कुरामा सहमति जनाउँदिनन्। त्यस्ता आक्षेप लाग्न नदिन कलाकारहरू स्वयम् आफ्नो राजनीतिक उद्देश्यबारे प्रष्ट हुनुपर्ने धारणा राख्छिन्।
भन्छिन्, "आफ्नो राजनीतिक लगाव, उद्देश्य के हो? प्रष्ट हुनुपर्छ। तपाईँ नेता बन्ने हो या माननीय मात्र? विचार गर्नुपर्छ। टीका लगाएर पद पाउने उद्देश्य हो भने त्यो 'कस्मेटिक' प्रवृत्ति हो।"
रोज राणाको नामले चिनिने अभिनेता तथा फिल्म निर्माता सरोज थापा नेपाली काङ्ग्रेसको प्यूठान-२ का क्षेत्रीय सभापति एवं पार्टीको महासमिति सदस्य समेत हुन्। नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी तरुण दलको केन्द्रीय सदस्य पनि बने।
उनी राजनीतिलाई अवसर मात्र नभई परिवर्तनका लागि प्रोत्साहित गर्ने क्षेत्र भएको बताउँछन्।
भन्छन्, "राजनीति र चलचित्र दुवैले मानिसलाई ऐना देखाउँछ। कलाकारिता व्यावसायिक हुन्छ। राजनीति विशुद्ध सेवा हो। सेवामा अवसर मात्र हुँदैन।"
कलाकारको उद्देश्य के?
भुइँबाट उठ्ने र सङ्गठन विस्तार गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको दाबी गर्छिन् कलाकार रेखा थापा। आफूले "जनताले छानेको नेता बन्नु र देशको भूगोलसँग" जोडिने लक्ष्य राखेको बताइन्।
कलाकारले आफूले कला क्षेत्रमा पुर्याएको योगदानका कारण सम्मानस्वरूप राजनीतिमा अवसर खोज्छन् भने त्यसबारे पार्टीले मूल्याङ्कन गर्ने उनको बुझाइ छ। तर पद खोज्ने कलाकारसँग आफ्नो दृष्टिकोण र लक्ष्य हुनुपर्ने बताउँछिन्।
"टीका लगाएर निःशुल्क पाएको पदले महिलाहरूको नेतृत्व स्थापित गर्दैन। क्षमताका आधारमा पद दिइनुपर्छ, इतिहास हेरिनुपर्छ। वर्षौँ राजनीतिमा समय र ऊर्जा लगानी गरेकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ," थापाले भनिन्।
अवसरवादी हुनु र अवसरको सदुपयोग गर्नु फरक कुरा भएको उनी बताउँछिन्।
कलाकार राजनीतिमा हुनुले कलाकारिता क्षेत्रको उन्नतिका लागि पहल गर्न सक्ने बताउँछन् नीर शाह।
सरोज थापा भन्छन्, "कलाकारहरू नीतिदेखि देश परिवर्तनको प्रक्रियामा सामेल हुनुपर्छ किनकि उनीहरूले समाजमा हिजो के थियो, आज के छ र भोलि के हुन्छ भनेर आकलन गर्न सक्छन्।"
'राजनीतिले वैचारिक हस्तक्षेप गर्न सिकायो'
राजनीतिले आफूलाई सिकाइको अवसर प्रदान गरेको बताउँछिन् गायिका कोमल वली। पार्टीभित्र वैचारिक हस्तक्षेप र आफ्नो स्थान बनाउन समेत प्रेरित भएको उनले बीबीसीलाई सुनाइन्।
"प्रत्येक मानिस जन्मँदै राजनीतिक प्राणी हो। भोट गर्नेहरू पनि कुनै न कुनै तरिकाले राजनीतिमा संलग्न हुन्छन्। मैले पनि त्यसैका आधारमा विचार र दृष्टिकोण बनाएँ र राजनीतिमा संलग्न भएँ," उनले भनिन्।
यसले आफूलाई अवसरहरूसँगै चुनौतीहरूसँग पनि जुध्ने क्षमताको विकास गर्न सहयोग पुर्याएको अनुभव साटिन्।
"राष्ट्रिय सभा पुगेपछि राजनीतिलाई नजिकबाट चिन्ने मौका पाएँ। पार्टी फुटेपछि राजनीतिक क्षेत्रका चुनौतीहरूबारे बुझ्दै गएँ।"
चुनौतीपूर्ण समयमा "आफ्नो ठाउँ बनाउने र वैचारिक हस्तक्षेप गर्न आवश्यक हरेक मौकाको सही सदुपयोग गर्नुपर्छ" भन्ने बुझाइ स्थापित भएको सुनाइन्।
"त्यसका लागि राजनीतिमा सक्रिय रूपमा लागिरहनुपर्छ। यस क्षेत्रमा सीमित समयमा लक्ष्य पूरा गर्न सकिँदैन। राजनीतिक प्रणाली जसरी अघि बढ्दै जान्छ, आफ्नो भूमिका सोहीअनुरूप परिवर्तन गर्दै लैजानुपर्छ," वलीले भनिन्।
राजनीतिमा कलाकारको भूमिका कस्तो?
दललाई कलाकार र कलाकारमा राजनीतिक चेतको विकास अत्यावश्यकता भएको बताउँछिन् वली। राजनीतिक चेत भएका कलाकारले राजनीतिक क्षेत्रमा अवसर पाउनुलाई सकारात्मक विषय भएको उनको विचार छ।
"विभिन्न क्षेत्रमा रहेका व्यक्ति राजनीतिमा सहभागी भएपछि सबै क्षेत्रको मुद्दा उठाउन सकिन्छ। सम्बोधन गर्न सकिन्छ। नीतिनिर्माण प्रक्रिया विविधतामूलक बन्छ," वलीले भनिन्।
रेखा थापा भने आफूले राजनीतिमा "सिन्डिकेट" हाबी भएको देखेको र त्यसलाई तोड्न आफू यस क्षेत्रमा सक्रिय रहेको जिकिर गरिन्।
"राजनीतिमा विचारको सिन्डिकेट भयो। कलाकारले कलाकारिता मात्र गर्ने हो भनेर चुप लागेर बसे वर्षौँदेखि नेताहरूले मात्र राजनीति गर्दा बढेको बेथिति र भ्रष्टाचारविरुद्ध को बोल्ने?"
आफू नीति, नियम बनाउने ठाउँमा पुग्ने र चलचित्रका लागि कथा र पात्र खोज्दै हिँड्दा भेटिएका सबै "जनताको आवाज" त्यहाँ पुर्याउने बताइन्।
"कलाकारिता त मेरो पेसा मात्र हो। कलाकार हुनुअघि म यस देशकी नागरिक हुँ। यहाँका हरेक घटनाक्रमले मलाई प्रत्यक्ष रूपमा आफूलाई असर पुर्याउँछ भने म किन यहाँको राजनीतिमा सहभागी नहुने?" उनी प्रश्न गर्छिन्।
कलाकारहरूलाई राजनीतिक दलले प्रचारप्रसारका लागि मात्र प्रयोग गरिरहेको हो कि भन्ने प्रश्न पनि उठेको छ। राजनीतिमा होमिएका केही कलाकारहरूले पनि दलभित्र वैचारिक हिसाबले आफूलाई अब्बल साबित गर्न नसकेको केही विश्लेषकको धारणा छ।
'ग्ल्यामरको एउटा क्षेत्रबाट अर्कोमा सरे जस्तो'
नेकपा एमालेका सांसद तथा सङ्गीतकर्मी विजय सुब्बा कलाकारहरू राजनीतिमा प्रवेश गर्नुलाई सकारात्मक सङ्केत मान्छन्।
"प्रायः कलाकार राजनीतिक विषयमा जानकार देखिँदैनन्। पछिल्लो समय परिचित अनुहारहरू राजनीतिमा संलग्न हुनु सकारात्मक विषय हो। जुनसुकै तह र क्षेत्रबाट इमानदार मानिसहरू यहाँ प्रवेश गर्ने क्रमको सुरुवात हो," उनले भने।
तर उनी कलाकारिता क्षेत्रमा रहेकाहरू मुलुक र जनतासँग प्रत्यक्ष रूपमा जोडिने गतिविधिमा संलग्न नभएको गुनासो गर्छन्।
राजनीतिक विश्लेषक कृष्ण खनाल पनि कलाकारहरूले दलभित्र वैचारिक ठाउँ बनाउन नसकेको बताउँछन्।
प्रायः कलाकारहरू राजनीतिलाई "कला क्षेत्रजस्तै आकर्षणको केन्द्र" मानेर राजनीतिक पार्टीमा जोडिने गरेको उनको बुझाइ छ। राजनीतिमा चुपचाप कला निखार्ने हिसाबले योगदान पुर्याइरहेकाहरू नभई चर्चामा रहेका कलाकार होमिने चलन रहेको उनले बताए।
"राजनीति पनि सिनेमाजस्तै बृहत् मञ्च हो। केहीको चाहना त्यही मञ्चमार्फत् आफ्नो चर्चाको निरन्तरता हुनसक्छ जसले उनीहरूलाई राजनीतिसम्म डोर्याउँछ," खनालले भने। यसलाई उनी "ग्ल्यामरको एउटा क्षेत्रबाट अर्कोमा सर्ने" प्रवृत्ति मान्छन्।
त्यस्तै केहीलाई राजनीतिक शक्तिमा रहने रहरका कारण पनि यो क्षेत्रमा जाने उनले बताए। यस प्रक्रियामा कलाकारको मात्र नभई दलगत स्वार्थ पनि भएको हुनसक्ने उनको बुझाइ छ।
"आम मानिसमाझ चिनिएका कलाकारहरू पार्टीमा आबद्ध भए चुनावमा मत बढ्ने लोभ हुनसक्ला," उनी आफ्नो तर्क राख्छन्,"तर कलाकारहरूले राजनीतिमा आवश्यक प्रभाव पार्न सकेका छैनन्।"
हालसम्म कुनै पनि कलाकार सर्वसाधारण मानिसले देख्ने ठाउँमा नपुग्नुलाई उनी कमजोरीको सङ्ज्ञा दिन्छन्। त्यस्तै दलले पनि सम्मानसहितको ठाउँ नदिएको उनको भनाइ छ।
"एकाध कलाकार सांसदसम्म भएका छन्। त्यहाँ पनि उनीहरू कुन 'डिग्निटी' बोकेर पुगे भन्ने प्रश्न खडा हुन्छ। त्यसमाथि राजनीतिज्ञले पनि समाजमा सम्मान बोकेको कलाकार वा विद्वान् व्यक्तिलाई सम्मान गर्न जानेका छैनन्," उनले आफ्नो विचार राखे।
कुनै पनि कलाकार राजनीतिमा लागेपछि तिनीहरूले "कलाकारिता गर्दा कमाएको सम्मान जोगाउन नसकेको" उनले बताए।
समग्रमा पार्टीले कलाकारलाई क्षणिक प्रचारको लागि मात्र प्रयोग गरेको उनको कथन छ।
"त्यसैले उनीहरूको विचारले हस्तक्षेप गर्न सक्दैन। नेताहरूकै विचार प्रष्ट नभएको परिवेशमा त्यसो हुनु परको कुरा हो," खनालले भने।
चर्चाका लागि कलाकार या राजनीतिमा कलाकारको चर्चा?
कलाकार पार्टी प्रवेश गर्नु विश्वव्यापी रूपमा नौलो कुरा होइन। अमेरिकाका चालिसौँ राष्ट्रपति रोनाल्ड रेगन कलाकारिता पृष्ठभूमिका थिए।
पछिल्लो समय चर्चामा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि हास्य कलाकारिता क्षेत्रबाटै उदाएका मानिस हुन् जसले टेलिशृङ्खलाकै नाममा आधारित पार्टी खोलेर राजनीतिमा होमिए।
भारतमा पनि थुप्रै कलाकारहरू प्रत्यक्ष, अप्रत्यक्ष रूपमा विभिन्न राजनीतिक पार्टीमा संलग्न छन्। पाकिस्तानको हकमा लामो राजनीतिक पृष्ठभूमि नभएका क्रिकेट खेलाडी इमरान खान प्रधानमन्त्री छन्।
उनीहरूको जस्तै नेपाली कलाकारहरू राजनीतिमा छिर्दा चर्चा हुनुलाई स्वाभाविक मान्छन् कलाकारदेखि नेतासम्म।
"चर्चाले कलाकारलाई आम मानिससँग प्रत्यक्ष रूपमा जोड्छ। त्यो सम्बन्धको फाइदा लिन सकिन्छ। तर केही पार्टीले त्यही चर्चाको दुरुपयोग पनि गर्न सक्छ," सरोज थापाले भने।
नेपालमा कलाकारितालाई खुम्चिएको क्षेत्रका रूपमा हेरिने भएकाले उनीहरूलाई 'प्रचारप्रसार'का लागि प्रयोग गरिने उनको विचार छ।
सांसद सुब्बा पनि पार्टीले कलाकारलाई प्रचारका लागि मात्र प्रयोग गर्ने स्वीकार्दैनन्। पार्टीहरूभित्र कलाकार वा साहित्यकारलाई विशुद्ध राजनीति मात्र गरेकाहरूको तुलनामा कम अवसर दिइने गुनासो रहे पनि उनीहरूको प्रयोग नभएको बताउँछन्।
"उनीहरूलाई नचाउने, गाउन मञ्चमा उतार्ने गरेका छैनौँ," उनले भने।
यो पनि हेर्नुहोस्