तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन: किन केही मानिस ‘सानो आँखा’लाई सुन्दर ठान्दैनन्
- Author, वाइयी यीप
- Role, बीबीसी न्यूज
चिनियाँ मोडल साई नियाङनियाङले आफ्ना तस्बिरहरू भाइरल भएपछि सामाजिक सञ्जालमा लेखिन्ः "के साना आँखा भएका कारण मलाई चिनियाँ नै ठान्नुपर्छ?"
चिनियाँ खाजा ब्रान्ड थ्री स्क्विरल्सको विज्ञापनमा देखा परेपछि कैयौँ दिनसम्म उनी निसानामा परेकी थिइन्। उनको 'अपराध' भने आँखा सानो हुनु थियो।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेपछि उक्त कम्पनीले ती विज्ञापनहरू अनलाइनबाट हटाएको थियो।
मानिसहरूलाई आफ्ना विज्ञापनका कारण परेको असुविधाप्रति कम्पनीले माफी समेत मागेको थियो।
तर साईले अनलाइनमार्फत् आफू हेपाइमा पर्नुको कारण बुझ्न नसकेको भन्दै मोडलका रूपमा आफूले आफ्नो काम मात्रै गरिरहेको बताइन्।
"मैले मेरो मुहार आफ्ना आमाबाबुबाट पाएकी हुँ," २८ वर्षीया अभिनेत्रीले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेकी छन्। उनले प्रश्न गरेकी छन्,"के म जस्ती देखिन्छु त्यसबाट चीनको अपमान गरेकी छु र?"
'पश्चिमाले जे भन्यो अब त्यही निर्णायक होइन'
सन् २०१९ मा छायाङ्कन गरिएका ती मूल विज्ञापनहरूको खोजी कथित राष्ट्रवादी चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले गरेका हुन्।
चिनियाँ मानिसहरूलाई देखाउने विज्ञापनलाई दिएर चीनमा संवेदनशीलता बढिरहँदा त्यसबारे खोज भएको हो।
गत नोभेम्बरमा एक चर्चित चिनियाँ फ्याशन फोटोग्राफरले फ्रान्सको विलासी सामाग्री उत्पादन गर्ने ब्रान्ड डिओका लागि आफूले खिचेको तस्बिरको आलोचना भएपछि माफी मागेकी थिइन्।
त्यसमा सानो आँखा भएकी चिनियाँ मोडल प्रस्तुत भएकी थिइन्।
हालैका दिनहरूमा सामाजिक सञ्जालमा मर्सिडिज बेन्ज र गुचीमा सानो आँखा भएका महिलाको प्रयोग गरिएको विषयलाई लिएर पनि आक्रोश व्यक्त भएका छन्।
चीनमा बढ्दो 'अनलाइन राष्ट्रवाद' को लहर र पश्चिमविरोधी भावनाका कारण कतिपयले त्यसलाई चिनियाँ मानिसविरुद्धको जातिवादी दृष्टिकोणको उदाहरणका रूपमा प्रस्तुत गरिरहेका छन्।
सानो आँखा भएका मोडलहरू राखेर ती कम्पनीहरूले चिनियाँ अनुहारबारेको पश्चिममा रूढिवादी धारणालाई बल पुर्याइरहेको आलोचकहरूले टिप्पणी गरिरहेका छन्।
धेरै जनाले चीनमा साधरणतया सुन्दरताको विशेषता मानिने सुन्दर त्वचा वा ठूलो गोलाकार आँखा भएका चिनियाँ विज्ञापनहरूमा देखा परिरहने मोडलहरूलाई किन ती विज्ञापनमा प्रयोग गरिँदैन भनेर पनि प्रश्न उठाएका छन्।
हालै सरकारी सञ्चारमाध्यम चाइना डेलीले लामो समयदेखि सुन्दरता र सौन्दर्यशास्त्रको पश्चिमा मापदण्डले प्रभुत्व जमाएको उल्लेख गरेको थियो। जसमा विज्ञापनमा देखाउने क्रममा एशियाली महिलालाई सानो आँखामार्फत् प्रकट गर्ने गरिएको उल्लेख गरिएको थियो।
उक्त लेखमा भनिएको थियो, "अब हरेक विषयमा पश्चिमा जगतले भनेकै कुरा अन्तिम हुँदैन। चिनियाँ मानिसहरूले सुन्दरता कस्तो हुन्छ र कस्ता महिलालाई सुन्दर मान्नुपर्छ भनेर उनीहरूले बनाएका मापदण्डलाई स्वीकार गर्नुहुँदैन।"
उक्त लेखमा थ्री स्क्विरल्सले आफ्नो विज्ञापन तयार पार्दा चिनियाँ ग्राहकका संवेदनशीलताहरूबारे जानकारी राख्नुपर्ने उल्लेख गरिएको थियो।
यस विवादको केन्द्रमा एशियाली मानिसहरूको पुर्खालाई जनाउन पश्चिमा संस्कृतिमा प्रयोग गरिने १९ औँ शताब्दीको एउटा विशेषण जिम्मेवार रहेको ठानिएको छ जसलाई धेरै एशियालीले अहिले अपमानजनक ठान्छन्।
हलीवुडमा एक एशियाली खलनायक 'फु मान्चु'को भूमिकामा पातलो र सानो आँखा भएको कलाकारलाई प्रयोग गरिएको थियो।
उक्त पात्रमार्फत् पूर्वी एशियाली श्रमिकका कारण पश्चिमा समाजमा पर्न सक्ने जोखिम देखाइएको थियो।
त्यसका कारण एशियाली संस्कृतिले पश्चिमा समाजमा जोखिम बढाउने जातिवादी धारणा (येलो पेरिल) विस्तार गरेको बताइन्छ।
बहुलवादी सौन्दर्यशास्त्रको अस्वीकार्यता
तर सौन्दर्यको एउटा विशेष मानकबारे कतिपय चिनियाँका अडान विविधता र सञ्चारमाध्यममा एशियाली अनुहारहरूको प्रतिनिधित्व वृद्धि गर्ने बहसविपरीत छन्।
पर्यवेक्षकहरूले केही उपभोक्ताहरूले विज्ञापनका कारण अपमानित महसुस गर्न सक्ने कुरा बुझ्न सकिए पनि पछिल्लो आक्रोशले चिनियाँलाई हेर्न सकिने धेरै वटा तथ्य हुन सक्ने अवधारणालाई अस्वीकार गर्छ।
"सानो आँखालाई अस्वीकार गर्नु घातक घटनाक्रम हो किनभने यो बहुलवादी सौन्दर्यशास्त्रलाई अस्वीकार गर्नु हो," हङ्कङ बाप्टिस्ट विश्वविद्यालयका डा. लुवेइ रोज लुक्यू भन्छन्।
विज्ञहरूले परम्परागत रूपमा चीनमा सानो आँखालाई सौन्दर्यको मापदण्डका रूपमा लिने गरिएको पनि तर्क गरेका छन्।
उदाहरणका लागि सन् ६१८ देखि सन् ९०७ सम्म ताङवंश रहँदा चीनमा कला र संस्कृतिको स्वर्णकाल मानिन्थ्यो।
उक्त अवधिमा पेन्टिङमा लामो र सानो आँखा भएका महिलाहरूलाई विशेष रूपमा प्रस्तुत गरिन्थ्यो।
ठूला गोला आँखालाई सुन्दर ठान्ने चलन नयाँ भएको र त्यो पश्चिमबाट प्रभावित भएको हुनसक्ने ठानिएको छ।
कतिपय विज्ञहरूले चीन बाँकी विश्वसँग खुला भएसँगै पश्चिमा विज्ञापन र मनोरञ्जनको प्रभावमा सन् १९७० को दशकमा सुन्दरताका मापदण्डहरूमा परिवर्तन देखा पर्न थालेको उल्लेख गरेका छन्।
कतिपय विज्ञले आधुनिक चीनका महिलाहरूले युवतीका पश्चिमा सुन्दरताका मापदण्डहरूलाई नै अनुमोदन गरिरहेको जस्तो देखिएको उल्लेख गरेका छन्।
अहिले ठूला गोला आँखाहरूलाई चिनियाँ नयाँ पुस्ताका महिलाहरूले आकर्षक ठान्ने गरेका छन् र कतिपयले त त्यस्तो देखाउन सौन्दर्य सामग्री वा कस्मेटिक सर्जरी समेत गर्ने गरेको पाइन्छ।
तर विवादमा तानिएकी मोडल काईले फरक देखिने व्यक्तिहरू प्रति मानिसहरूले दयाभाव देखाऊन् भन्ने चाहेको व्यक्त गरेकी छन्।
आफ्नो वेबो पोस्टमा उनले उनको रूप मन नपरे पनि मानिसहरूले उनलाई आक्रमण गर्नुपर्ने आवश्यकता नरहेको बताइन्।
"मेरा आँखा यस्तै छन्। वास्तविकतामा त विज्ञापनमा भन्दा बढी साना छन्। तर सबैको आफ्नै विशेषता हुन्छ।"