समृद्ध फार्म, सुखी जनावर: नेपाली राजनीतिबारे 'भविष्यवाणीजस्तो लाग्ने' एनिमल फार्मको कथा रङ्गमञ्चमा

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

मानिसहरू जनावर बन्ने तयारीमा छन्। कसैको हँसिलो अनुहारमाथि रिसाहा सुँगुरको मखुन्डो देखिन्छ। कसैको अनुहारमा आशावादी भाव देखिन्छ, तर टाउकोमा निराश घोडाको आकृति।

कौसी थिएटरमा नाटक ‘एनिमल फार्म’ मञ्चनको तयारी भइरहेको छ। निर्देशकदेखि कलाकारसम्म नाटक देखाउने तयारीको चटारोमा छन्। उनीहरूमा महामारीका कारण ठप्प मञ्च चलायमान बनाउनुको उत्साह छ। साथै कहीँ केही बिग्रिहाल्छ कि भन्ने डर पनि।

त्यसैले कोही आफ्नो संवाद दोहोर्‍याउँदै बोलिरहेका छन् भने कोही आफूले निर्वाह गर्ने चरित्र अनुरूप पोसाक शरीरमा नापिरहेका छन्।

“दशकौँअघि विदेशी परिवेशमा लेखिएको कथा देखाउँदैछौँ। हाम्रो परिवेशमा सान्दर्भिक बनाउने जमर्को सफल हुन्छ वा हुँदैन भन्ने प्रश्न मनमा खेलिरहेको छ,” कलाकार इँगिहोपो कोँइच सुनुवारले भने। अनि अन्य कलाकारको लाममा मिसिएर पर्दा पछिल्तिर लागे।

जाँदाजाँदै उनले भने,”सकेसम्म धेरै पटक रिहर्शल गरेर सुधार्न सकिने ठाउँ खोज्दैछौँ।”

त्यसको केही बेरमा मञ्चको बत्ती बल्छ र दर्शकहरू बस्ने ठाउँमा अन्धकार छाउँछ।

‍समयसँगै फेरिएका पात्र

“तपाईँले मलाई कहिल्यै चिन्न सक्नुहुन्न। किनकि यस कथाका लेखक जोर्ज ओर्वेलले पनि मलाई चिन्दैनन्। उनका लागि म केवल एक कमजोर प्रतिनिधि पात्र हुँ”: एउटा सफल लेखकको चर्चित कथामा स्थापित भाष्य भत्काउँदै घोडी बनेकी पात्र माला बोल्छिन्।

आफू बस्दै आएको फार्म अव्यवस्थित भएपछि त्यो ठाउँ छाड्न लागेकी उनी भन्छिन्ः लेखकले आफ्नो भए भरको विवेक प्रयोग गरे पनि अन्त्यमा माथिल्लो वर्गको खोक्रो पात्रको रूपमा किन महिलालाई उभ्याए? जसको कुनै दिमाग, धरातल र विचार नै छैन जसरी।

जबाफमा फार्मको नेतृत्व गर्ने सुँगुर भन्छः के तँलाई साँच्चै लाग्छ म तेरो बारेमा यी सबै सोच्छु? वास्तवमा म तेरो बारेमा केही सोच्दिनँ।

ओर्वेलको कथामा बुर्जुवा वर्गकी कमजोर घोडी बनेकी पात्र नेपाली नाटक संस्करणमा सशक्त रूपमा प्रस्तुत हुन्छिन्।

सुँगुरलाई प्रत्युत्तरमा भन्छिन्ः जनावरको संसारमा पनि सत्तामा तपाईँजस्ता पुरुषहरू छन्। पितृसत्ताले महिलाको बारेमा कहिले पो सोचेको छ र?

उनी यति भनेर निस्किन्छिन्, कथाकारले देखाएको रूढिवादभन्दा माथि उठेर।

निरङ्कुश शासकविरुद्ध लेखिएको व्यङ्ग्यात्मक कथा हो एनिमल फार्म। कथाको नेपाली नाटक संस्करणमा निर्देशक र परिकल्पनाकार आकाङ्क्षा कार्कीले महिलावादलाई ठाउँ दिएकी छिन्। उनी वास्तविक कथामा आफूले गरेको 'केरमेट'लाई आवश्यकता ठान्छिन्।

“निकै अघिको कथालाई जस्ताको तस्तै प्रस्तुत गर्दा हामीले बाँचिरहेको समयका धेरै कुरा छुट्छन्। त्यसैले कथाको मर्म मर्न नदिई केही थपघट गरेकी छु,” कार्कीले बीबीसीसँग भनिन्,”महिलावाद आजका लागि बहसको विषय हो। त्यसैले मूर्ख र निरीह प्रस्तुत गरिएकी घोडीलाई निर्णय लिन सक्षम र क्रान्तिकारी प्रस्तुत गरेँ।”

वास्तविक कथामा दुई महत्त्वपूर्ण नेतृत्वकर्ता सुँगुरमध्ये दुवै पुरुष छन्। नाटकमा दुईमध्ये एक पात्र महिला छिन्। त्यस्तै यथास्थितिमा प्रश्न गर्ने एक मात्र भेडा पात्र कथामा पुरुष थिए, नाटकमा महिला। तर यी दुवै लैङ्गिक विभेदको खाडलमा परे जस्तो लाग्छ।

पुरुष नेतृत्वकर्तासँगको सहयात्राबाट महिला नेता षड्यन्त्र गरी फार्मबाटै निकालिन्छिन्। उनीविरुद्ध मिथ्या आरोप लगाई उनकै योजनालाई पुरुष नेताले आफ्नो जसरी प्रस्तुत गर्छन्।

नेताहरूको अस्वाभाविक कार्यमा असहमति जनाउने र कुतर्कविरुद्ध प्रश्न गर्ने भेडीलाई हरेक पटक दबाइन्छ। नेताहरू चर्को आवाजमा बोल्छन् उनको आवाज धूमिल बन्छ, सुनिँदैन।

यी दृश्यहरू नेपाली राजनीतिको वर्तमान चित्रसँग मिल्दोजुल्दो भएको निर्देशक कार्की बताउँछिन्। हाल देशका ठूला राजनीतिक दलहरूको नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ। यस पटक दलका हरेक तहका समितिदेखि पदाधिकारीसम्ममा महिला सहभागिताको प्रश्न उठिरहेको छ।

केही नेत्रीले पद दाबी गरिरहँदा दलभित्रकै पुरुष नेताहरूले सकारात्मक प्रतिक्रिया नजनाएका विवरण सञ्चारमाध्यममा आएका छन्। यी सबै संयोग मात्र पनि हुन सक्छन्।

“यथार्थ नाटकमा देखाए जस्तै हो – प्रश्न गर्ने महिलाहरूको आवाज दबाइन्छ। गर्न खोज्ने महिलाहरूलाई पितृसत्तामाथि खतरा ठानिन्छ। मलाई आफ्ना भोगाइ भेडी र नेत्री सुँगुरको परिस्थितिसँग मिल्दो लागेर पनि हो ती पात्रमा महिला राखेकी हुँ,” निर्देशक कार्की भन्छिन्,”नाटकलाई पुरुषले निर्देशन गरेको भए त्यसो नहुन सक्थ्यो।“

नाटकको आरम्भदेखि पात्रहरू क्रान्तिका कुरा गर्छन्। त्यो क्रान्ति संवादमा सीमित रहँदैन भन्ने कुरा अनेक दुःखान्तका बीच कम्तीमा माला घोडीले चालेको कदमले पुष्टि गर्छ।

एनिमल फार्म र नेपाली परिवेश

सन् १९४५ मा ब्रिटिश लेखक जोर्ज ओर्वेलले लेखेको उपन्यास हो एनिमल फार्म। यस राजनीतिक व्यङ्ग्यमा निरङ्कुशताविरुद्ध र शासितहरूले स्वतन्त्रताका लागि गरेको सङ्घर्षको कथा छ।

एउटा सुँगुरले साहुको अन्यायपूर्ण व्यवहारविरुद्ध फार्मका सम्पूर्ण जनावरलाई सचेत बनाउँछ। तिनीहरूले मानिसलाई फार्मबाट हटाउन र जनावरहरूको शासन चलाउन आन्दोलन गर्छन्। सफल हुन्छन्। त्यसपछि स्वतन्त्र र समृद्ध फार्म स्थापित गर्न सबै जनावरहरू एक भएर लाग्छन्।

तर मानव शासकबाट उन्मुक्त भएका उनीहरूकै बीचमा फाटो आउँछ। त्यस फुटलाई पुष्टि गर्छ एउटा संवादले: ‘सबै जनावर समान छन्, तर केही जनावर अरूभन्दा बढी समान छन्।‘

यहाँ अरूभन्दा बढी समान सुँगुरहरू हुन्छन्। अन्य जनावरको कमजोर स्मरणशक्तिलाई हतियार बनाएर आफूहरू शासक बन्छन्। फाइदा आफ्नो पोल्टोमा पार्छन्। काम चाहिँ अरू जनावरलाई लगाउँछन् जसलाई आफ्नो उद्देश्य र सपनाबारे केही थाहा हुँदैन।

न्याय र स्वतन्त्रताको नारा रटाएर उनीहरूकै परिश्रमको फल लुकाइन्छ। अन्धभक्त भएर नेता सुँगुरको हरेक कुरामा विश्वास गर्ने घोडा भक्तलाई अस्पताल भनेर वधशाला पुर्‍याइन्छ। प्रश्न गर्न दिइँदैन। सट्टामा ‘समृद्ध फार्म, सुखी जनावर’ को आश्वासन दिइन्छ।

आफूले कक्षा ८ को पाठ्यक्रममा पढेको यस नाटकको गाम्भीर्य वर्षौँपछि मात्र बुझेको बताउँछिन् निर्देशक कार्की।

“कथाका हरेक दृश्य र संवाद मैले बाँचेको छु भन्ने महसुस भयो। हाम्रो देशमा, समाजमा, परिवारमा र तहतहमा दमन भोग्ने धेरै छौँ,” उनले भनिन्,”हामी आफैँ दमनकारी पनि हुन सक्छौँ र दमन भोग्न बाध्य पनि। ओर्वेलको कथाको यहीँ सन्देश नाटकमार्फत्‌ देखाउन आवश्यक लाग्यो।”

उनले नाटकले दर्शकलाई आफ्नो व्यवहारप्रति सचेत गराउने विश्वास राखेकी छन्।

सत्ताको उन्माद र आफूसँग भएको विशेषाधिकारले मानिसलाई कसरी भ्रष्ट बनाउँछ भन्ने कुरा नाटकमा भएको बताउँछिन्। “यो कथा त नेपालको सामाजिक र राजनीतिक परिवेशको भविष्यवाणीजस्तै लाग्छ,” कार्की आफ्नो विचार राख्छिन्।

उनले आफूले देखेका, चिनेका र भेटेका मानिसमा कथाका पात्रको जस्तो स्वभाव देखिन्। कथालाई सान्दर्भिक बनाउन पुनर्लेखन गरिन्। फार्ममा महारोग फैलिएका कारण जनावरहरू मर्ने जस्ता दृश्य थपिन्, सर्वसाधारण मानिसले भोगेको महामारीको चित्र समेट्ने जमर्को गरिन्।

नेपाली नेताहरूले सार्वजनिक वृत्तमा बोलेका वाक्य र तुक्काहरूलाई पनि निर्देशकले नाटकमा समेटेकी छन्। उनी भन्छिन्,”त्यसो गर्दा दर्शकले हाम्रा नेताले हामीलाई गरेका सम्बोधन र आश्वासन सम्झन्छन् र हाम्रै परिवेशको कथा हो है भन्ने पनि अनुभूत गर्छन्।”

समग्रमा बन्द कोठामा हुने बैठक, सहमति र निर्णयहरूले सर्वसाधारण मानिसको जीवनलाई कसरी प्रभावित गरिरहेको छ भन्ने विषयमा नाटक केन्द्रित रहेको कलाकार सेबिता अधिकारीको बुझाइ छ।

“त्याग, परिश्रम, विश्वास लगानी गरेबापत चुप लाग्नुपरेका अनेकौँ घटना छन्। बदलामा आश्वासन र झुटबाहेक केही पाइएन। अभिनय गरिरहँदा मलाई ती घटना याद आउँछन्,” अधिकारी सुनाउँछिन्।

नेपाली नाटकमा ‘क्राउड सोर्सिङ’

कौसी थिएटर समूहले सन् २०१९ मै नाटक एनिमल फार्म मञ्चन गर्न खोजेको थियो। तर कोरोनाभाइरस महामारीले नाटकघरमा ताला लगाउन बाध्य बनाइदियो। त्यतिबेला नाटक तयारीमा गरेको लगानी बालुवामा पानी हाले सरह भएको सुनाउँछिन् थिएटरकी सञ्चालक समेत रहेकी आकाङ्क्षा कार्की।

पुनः मञ्चमा फर्किँदा नाटकघरमा पुँजी अभाव भएको उनी बताउँछिन्। निर्देशकले आफ्नो खल्तीबाट रकम खर्च गर्ने विकल्प थियो, तर उनले दर्शकमाथि विश्वास गरेरै आर्थिक लगानी गरिदिन आग्रह गरिन्।

“सुरुमा त अप्ठेरो लाग्यो। तर विकसित देशहरूमा कला क्षेत्रमा क्राउड सोर्सिङको अवधारणा निकै प्रचलित छ। यसले दर्शक र रङ्गमञ्चबीच विश्वास स्थापित गर्छ र दर्शकलाई कलाप्रति अपनत्व महसुस गराउँछ,” उनले भनिन्।

सङ्कटमा निम्तिएको अभावबारे सुनाउन सरकारी निकाय तत्पर नभएकै कारण आममानिससँग सहकार्य गरेको उनको दाबी छ।

सामाजिक सञ्जालमार्फत्‌ गरेको आग्रहलाई स्वीकारेर सहयोग गर्नेहरू देखिए। कुल २ लाख ४० हजार रुपैयाँ सङ्कलन भयो।

“हामी आफूले गर्ने कामप्रति विश्वस्त थियौँ। त्यसैले ढुक्क भएर सहयोगका लागि आह्वान गर्‍यौँ। सङ्कलित रकमबारे पारदर्शी रह्यौँ। पारदर्शी हुँदा विश्वास गर्ने ठाउँ दिँदो रहेछ,” उनले सुनाइन्।

नाटकमा ५० रुपैयाँदेखि एक लाख रुपैयाँ लगानी गर्नेसम्मको नाम निर्माताको सूचीमा समेटिनेछ।

उनीहरू सबैको साझा सपना बनेको छ नाटकको प्रभावलाई लिएर आकाङ्क्षाले देखेको सपना जसले दमनविरुद्ध बोल्न प्रेरित गर्छ। समस्याजन्य स्थापित भाष्यहरू भत्काउन बाटो खुला गरिदिन्छ।

यो पनि हेर्नुहोस्