तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण कोरियाली महिलाहरूले किन कपाल छोटो काट्ने अभियान चलाएका हुन्
दक्षिण कोरियाली धनुकाण खेलाडी आन सानले तीन ओलिम्पिक्स स्वर्ण पदक जित्दा उनले प्रशंसा मात्रै पाइनन्, आलोचना पनि खेपिन्।
किनभने उनले छोटो पारेर कपाल काटेकी थिइन्।
उनलाई लक्षित अपमानजनक शब्दमध्ये एक 'नारीवादी आन' भन्ने थियो। कोरियाली भाषामा नारीवादी शब्दले पुरुषलाई घृणा गर्ने भन्ने खालको नकारात्मक अर्थ राख्छ।
एक पुरुषले एउटा पोस्टमा लेखेका छन्: "उनले स्वर्ण जितेको कुरा राम्रो हो तर उनको छोटो कपालले उनलाई नारीवादी जस्तो देखाउँछ। यदि त्यस्तो हो भने म मेरो समर्थन फिर्ता लिन्छु। सबै नारीवादी मर्नुपर्छ।"
उनलाई आलोचना गर्ने बढ्दै गएपछि उनले एउटा अभियान सुरु गरिन्।
देशभरिका हजारौँ महिलाहरूले आफ्नो छोटो कपाल भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै यसले आफूलाई अन्य महिलाभन्दा कम नबनाउने कुरा लेखे।
दक्षिण कोरियाका महिलाहरूले लामो समयदेखि विभेद र दुराचार भोगिरहेका छन् तर गएको दशकमा उनीहरूले मीटू अभियान र गर्भपतन प्रतिबन्ध खुलाएर केही अगाडि बढेका छन्।
त्यसो भए यो नयाँ अभियानले थप परिवर्तन ल्याउँछ त?
'यसले मलाई अरू महिलाभन्दा फरक बनाउँदैन'
हान जियोङ ट्विटरमा सुरु भएको छोटो कपाल अभियानको केन्द्रमा छिन्। उनले #women_shortcut_campaign ह्याशट्याग सुरु गरेकी हुन्।
उनले बीबीसीलाई सबै पुरुषप्रधान सामाजिक सञ्जालमा आनप्रति लक्षित एक वा दुई नभई धेरै नै दुराचारी प्रतिक्रिया देख्दा आफूलाई दुःख लागेको बताइन्।
उनका अनुसार त्यस्ता प्रतिक्रिया लेख्नेहरू धेरै युवकहरू भए पनि केही पाको उमेरका पुरुष र अझ केही महिला पनि छन्।
"यो खालको आक्रमणले पुरुषले महिलाको शरीरलाई नियन्त्रण गर्न सक्ने र महिलाले नारीवादी परिचय लुकाउनु पर्ने सन्देश दिन्छ," उनले भनिन्।
"महिलाहरूले छोटो कपाल देखाउने अभियान सुरु गरेर ओलिम्पिक्स खेलाडी महिलासँग ऐक्यबद्धता जनाउँदा त्यो प्रवृत्तिविरुद्धको अभियान हुन्छ भन्ने मलाई लाग्यो।"
अभियानमा दशौँ हजार तस्बिर आउन थालेका छन् र धेरै महिलाले कपाल काट्नुअघि र काटेपछिका तस्बिरहरू राखेका छन्।
केहीले आन सानको कपालले आफूलाई कपाल काट्न प्रोत्साहित गरेको बताएका छन्।
तर किन कोरियामा छोटो कपाल नारीवादी हुनुसँग जोडिन्छ?
दक्षिण कोरियामा मीटू अभियानबारे प्रकाशोन्मुख पुस्तकका लेखिका हओन जङले यसलाई सन् २०१८ को अभियानसँग जोडेर हेर्छिन्। त्यो बेला सौन्दर्यको परिभाषाविरुद्ध धेरै महिलाहरूले कपाल काट्ने र मेकअप नगर्ने अभियान चलाएका थिए।
"त्यसपछि छोटो कपाल धेरै युवा नारीवादीहरूका लागि राजनीतिक अभिव्यक्ति बनेको हो," उनले भनिन्।
"यो अभियानले महिलाहरू चाहिनेभन्दा अगाडि बढेको ठान्ने धेरै पुरुषहरूको आलोचना खेप्यो।"
विवादास्पद औँलाको अभिव्यक्ति
यो अभियान नारीवादी लक्षित अर्को आक्रामक अभियानको केही सातापछि बाहिर आएको छ।
केही समाएको जस्तो गरी बुढीऔँला र चोरऔँलाको सङ्केतलाई केही पुरुषले उनीहरूको लिङ्गको सानो आकार समाए जस्तो गरेर बेइज्जत गर्न खोजेको दाबी गरेका छन्।
सो सङ्केत अहिले निष्क्रिय बनेको अतिवादी नारी समूह मेगालियाको परिचयात्मक चित्र थियो र सो समूहलाई पुरुषलाई घृणा गर्ने समूह मानिन्छ।
त्यो चित्रलाई बहिष्कार गर्ने अभियान चलेपछि केही ठूला ब्रान्डहरूले यस्तै खालको चित्र प्रयोग गरिएका विज्ञापनहरू हटाएका थिए।
ती कम्पनीहरूले राजनीतिक अभिव्यक्ति दिन नचाहे पनि केही पुरुषहरूले उस्तै देखिने चित्रहरू खोजेर आलोचना गर्न थालेपछि उनीहरू ती विज्ञापन हटाउन बाध्य भएका थिए र कतिपय अवस्थामा क्षमायाचना गरेका थिए।
तर विज्ञहरूले यस्तो कार्यले ती पुरुषहरू अझ उत्साहित बनेको र आन सानलाई लक्ष्य बनाएको बताउँछन्।
"उनीहरूले आन सानको रूपमा नयाँ लक्ष्य भेटे," जङले भनिन्।
"उनी युवा खेलाडी थिइन्, छोटो कपाल थियो, महिला कलेज पढेकी थिइन् अनि त्यसैले ती पुरुषहरूलाई मन नपर्ने धेरै कुराको प्रतिनिधित्व गर्थिन्।"
अबको बाटो
अनलाइनमा युवा पुरुषको रिसको कारण महिलाहरूको सफलताका कारण उनीहरूले मौका नपाएको भन्ने सोचका कारण आउँछ।
"पुरुष प्रधान अनलाइन समुदायमा युवा पुरुषलाई उनीहरू पछाडि पर्नुको कारण महिला रहेको बताइन्छ। उदाहरणका लागि महिलाहरूले परीक्षामा राम्रो गरेर पुरुषको सीट चोरेको बताइन्छ," हानले भनिन्।
दक्षिण कोरियामा विश्वविद्यालयमा भर्ना र जागिरका लागि कडा प्रतिस्पर्धा हुने गर्छ र केही पुरुषहरू महिलाका कारण आफू अन्यायमा परेको ठान्छन्।
उदाहरणका लागि सबै पुरुषहरू १८ महिना अनिवार्य सैन्य तालिममा सहभागी हुनुपर्छ जसले गर्दा उनीहरू महिलाभन्दा पछाडि पर्ने ठान्छन्।
कोरियामा एक दर्जनभन्दा बढी महिला विश्वविद्यालय छन् तर पुरुषहरूका लागि त्यस्ता विश्वविद्यालय छैन।
तर कोरियामा महिलाहरूको औसत तलब पुरुषको तुलनामा ६३ प्रतिशत मात्रै छ। यो विकसित मुलुकमा सबैभन्दा ठूलो तलब खाडलमध्ये एक हो।
द इकोनोमिस्टले दक्षिण कोरियालाई विकसित राष्ट्रहरूमध्ये कामकाजी महिलाका लागि सबैभन्दा नराम्रो देश मान्छ।
त्यसो भए दक्षिण कोरियाली महिलाका लागि अगाडिको बाटो कस्तो छ त? अनि यस्ता अभियानले केही परिवर्तन ल्याउन सक्छ त?
"गएको दुई वर्षमा परिवर्तनहरू भएका छन्," जङले भनिन्।
"महिलाहरू आफ्नो जीवनको नयाँ बाटो कोर्न प्रयास गर्न थालेका छन् र महिला जस्तो देखिनु पर्ने सामाजिक दबावविरुद्ध जान थालेका छन्। उनीहरूले सहज लाग्ने कपाल काट्ने स्वतन्त्रता खोज्नु यसको सानो अंश मात्रै हो।"
यो पनि हेर्नुहोस्