कोरियाली युद्धः दक्षिण कोरियाले बिर्सिएका युद्धबन्दी र तिनको सम्मानका लागि सङ्घर्षरत छोरीहरू

    • Author, सुविन किम
    • Role, बीबीसी न्यूज कोरियन

आफ्ना पिता र दाइलाई मृत्युदण्ड दिने व्यक्तिले तीनचोटि गोली हानेपछि के भयो त्यो उनी जति प्रयास गर्दा पनि सम्झिन सक्दिनन्। यो तीन दशकअघि को कुरा हो जति बेला ली ३० वर्षको छेकोमा थिइन्।

त्यसअघि भएको कुरा उनलाई हेक्का छ। उत्तर कोरियाको आउजी गाउँमा सुरक्षाकर्मीहरूले उनलाई एउटा रङ्गशालामा पुर्‍याएका थिए। त्यहाँ के हुँदैछ भन्ने कुरा उनलाई थाहा थिएन।

भिड बढ्यो र एउटा ट्रकबाट दुई जना बाहिर निस्किए। ती उनका बुवा र दाइ थिए।

"उनीहरूलाई देशद्रोही, जासुस अनि प्रतिक्रियावादी भन्दै बाँधिएको थियो," लीले बीबीसीलाई बताइन्।

त्यसपछि के भयो उनलाई थाहा छैन। "मलाई लाग्छ म चिच्याइरहेकी थिएँ," उनले भनिन्।

बिर्सिएका युद्धबन्दीहरू

लीका पिता ५०,००० कैदीमध्ये थिए जसलाई कोरियाली युद्धको अन्त्यमा उत्तर कोरियामा राखिएको थियो।

युद्धबन्दीहरूलाई इच्छाविपरीत उत्तर कोरियाली सेनाका एकाईहरूमा समूहबद्ध गरियो र आजीवन पुनर्निर्माण परियोजना र खानी उत्खननको काम गर्न बाध्य पारियो।

सन् १९५३ मा युद्धविराममा हस्ताक्षर गरिँदा दक्षिण कोरियाली सेनाले छिट्टै बन्दीहरू आदानप्रदान हुने र आफूहरू घर फर्किन पाउने आशा गरेका थिए।

तर उत्तर कोरियाले आफूले बन्दी बनाएकामध्ये थोरै मानिसलाई मात्रै फिर्ता गर्‍यो। अनि दक्षिण कोरियाले अरूलाई छिट्टै बिर्सिदियो।

त्यसयता दक्षिण कोरियाका तीन राष्ट्रपतिले उत्तर कोरियाको नेतृत्व सँग भेटवार्ता गरेका छन्। तर युद्धका बेला पक्राउ परेका बन्दीहरूको विषय कहिल्यै पनि छलफलको कार्यसूचीमा परेन।

उत्तर कोरियामा लीको परिवारलाई नकारात्मक रूपमा हेरिन्थ्यो। दक्षिणमा जन्मेका उनका पिताले संयुक्त राष्ट्रसङ्घ सँगसँगै उत्तरविरुद्ध लडेका थिए। लीका बुवा र दाइ कोइला खानीमा काम गर्थे जहाँ घातक दुर्घटनाहरू भइरहन्थे।

लीका बुवाको एक एक दिन घर फर्किन पाइने आशा थियो। काम सकेपछि आफ्नो जवानीको कथा आफ्ना बालबच्चालाई उनी सुनाउँथे। कहिलेकाहीँ आफ्ना बच्चाहरूलाई भागेर दक्षिण जान प्रेरित गर्थे।

"त्यहाँ मेरा लागि पदक हुनेछ र तिमीहरूलाई एक नायकको सन्तानका रूपमा व्यवहार गरिनेछ," उनी भन्थे।

एक दिन लीका दाइले साथीहरूसँग मदिरा पिउँदै गर्दा ती कुरा फुत्काए। एकजना साथीले त्यो कुरा सरकारी अधिकारीहरूलाई सुनाइदिए। त्यसको केही महिनाभित्रै लीका बाबु र उनका दाइको मृत्यु भयो।

सन् २००४ मा ली भागेर दक्षिण कोरिया पुग्न सफल भइन्। उनले सोधखोज गरिन्।

तर आफ्नै देशले उनलाई नायक मानेको थिएन। युद्धबन्दीहरूलाई घर फर्काउन खासै पहल गरिएको थिएन।

उत्तर कोरियामा बन्दी बनाइएका सैन्य अधिकारीहरूले दुःख र कष्टको सामना गरिरहेका थिए।

उनीहरूलाई उत्तर कोरियामा सबैभन्दा तल्लो दर्जामा राखिएको थियो जसकारण तिनका सन्तानलाई उच्च शिक्षा प्राप्त गर्ने वा आफ्नो पेसा छान्ने अधिकार थिएन।

चोई प्रतिभाशाली विद्यार्थी थिइन्। तर आफ्ना बाबुका कारण उनलाई विश्वविद्यालयमा निषेध थियो। एक दिन उनले आफ्ना बुवासँग झोक्किँदै उनी किन आफ्नो देश नगएको भनेर सोधिन्।

उनका बुवाले आफूहरूलाई फिर्ता लैजान आफ्नै देशले नखोजेको खिन्नतापूर्वक बताए।

आठ वर्षअघि चोई परिवार छाडेर दक्षिणतिर पलायन भइन्।

"मेरा बुवा यहाँ आउन चाहनुहुन्थ्यो," उनले भनिन्। तर उनका बुवाको मृत्यु भइसकेको छ।

दक्षिण कोरियाकको सरकार कागजातका अनुसार उनका बाबु छैनन् किनकि आधिकारिक दस्ताबेजका अनुसार उनको युद्धका क्रममा मृत्यु भइसकेको उल्लेख गरिएको छ।

बुवाका अस्थि घर ल्याउँदै

सोन माययोङ-ह्वा लगभग ४० वर्षअघि आफ्ना पिताले मृत्यु हुने बेला भनेका अन्तिम शब्द अक्षरशः सम्झिन्छिन्।

"यदि दक्षिण गयौँ भने मेरो अस्थि लिएर जानू, अनि म जन्मेको ठाउँमा गाडिदिनू।"

सोनका पिता दक्षिण कोरियाका सेना थिए। उनी बुसान भन्दा १८ किलोमिटर टाढा रहेको गिम हेका बासिन्दा थिए।

उत्तरमा कोइला खानीमा काम गर्ने उनको क्यान्सरका कारण मृत्यु भएको थियो।

सोन सन् २००५ मा भाग्न सफल भइन्। तर उत्तर कोरियाबाट बुवाको पार्थिव अवशेष प्राप्त गर्न उनलाई आठ वर्ष लाग्यो।

उनले आफ्ना दाजुभाइलाई बुवालाई गाडेको ठाउँ खन्न र अस्थि चीनस्थित एक मध्यस्थकर्ताकहाँ पुर्‍याउन आग्रह गरिन्।

त्यसका लागि तीनवटा सुटकेसको आवश्यकता पर्‍यो।

सन् २०१५ मा उनले आफ्ना बुवाको अवशेष समाधिस्थ गर्न पाइन्।

"अन्ततः छोरीका रूपमा आफ्नो दायित्व पूरा गरे जस्तो लाग्यो," उनले भनिन्।

तर सोनको परिवारले उक्त कार्यका लागि ठूलो मूल्य तिर्नुपर्‍यो। उत्तर कोरियमा उनका भाइबहिनीहरूलाई जेल पठाइयो।

सोनले अहिले कोरीअन वार पीओडब्ल्यू फ्यामिली असोसीएशनको नेतृत्व गर्छिन् जसले घर फर्किन नसकेका झन्डै ११० परिवारको राम्रो रेखदेखका पक्षमा वकालत गर्छ।

भागेर दक्षिण कोरिया पुग्न सफल भए पनि युद्धबन्दीहरूका सन्तानलाई आधिकारिक रूपमा पहिचान गरिँदैन। धेरैजसो बन्दीहरूको मृत्यु भइसकेको वा युद्धका बेला कामबाट हटाइएको वा हराइरहेको मानिन्छ।

भाग्न सफल केही युद्धबन्दीहरूले मात्रै पुरानो भुक्तानी प्राप्त गरेका छन्। उत्तरमा बन्दी रहेकै बेला मृत्यु भएकाहरूलाई कुनै पनि किसिमको क्षतिपूर्तिका लागि योग्य मानिएन।

ज्यानुअरीमा सोन र उनका वकिलहरूले उत्तरमा मृत्यु भएका सेनाका परिवारलाई अनुचित व्यवहार गरिएको भन्दै एउटा संवैधानिक अदालतमा मुद्दा दायर गरेका छन्।

"हामी युद्धबन्दीका सन्तानका रूपमा जन्मिएकाले निकै दुःखी थियौँ र दक्षिण कोरिया आएपछि समेत बेवास्ता गरिनु झन् पिडादायी भएको छ," सोनले भनिन्।

"यदि हामीले हाम्रा बुवाहरूको सम्मान प्राप्त गर्न सकेनौँ भने युद्धबन्दी र तिनका सन्तानको भयानक जीवन सबैले बिर्सिनेछन्।"

सुरक्षाका लागि यो सामग्रीमा उल्लिखित केही पात्रहरूको नाम परिवर्तन गरिएको छ।