च्वे इन-गुकः दक्षिणबाट भागेर उत्तर कोरिया पुग्ने को हुन्

दक्षिण कोरियाका पूर्वविदेशमन्त्रीका छोरा भागेर उत्तर कोरिया पुगेको बताइएको छ, जुन विरलैमध्येको एउटा घटना हो।

च्वे इन-गुकका आमाबुवा सन् १९८६ मा दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका थिए।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उनी उत्तर कोरियामै बस्नेछन् र कोरिया एकीकरणसम्बन्धी विषयमा काम गर्नेछन्।

यसप्रकारको भाग्ने घटना एकदम विरल हुन्छ। बरु उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया जाने घटना चाहिँ सामान्य मानिन्छ।

प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन् र उत्तर कोरिया जानका लागि दक्षिण कोरियालीहरूले सरकारी अनुमति लिनुपर्ने हुन्छ।

च्वेले भ्रमणका लागि त्यस्तो कुनै अनुमति नलिएको एकीकरण मामिलासम्बन्धी दक्षिण कोरियाली मन्त्रीले पुष्टि गरेका छन्।

सोलस्थित एनके समाचार वेबसाइटका विज्ञ ओलिभर होथामले बीबीसीलाई भने, "उनी कसरी भागे भन्ने कुरा अझै स्पष्ट भएको छैन।"

उनले थपे, "तर यदि त्यहाँका शासकहरूको आशीर्वाद छ भने चीन हुँदै उत्तर कोरिया पुग्न दक्षिण कोरियालीहरूलाई खासै गाह्रो चाहिँ छैन।"

तर विज्ञहरूका अनुसार यदि च्वेले दक्षिण कोरियाली कानुनको उल्लङ्घन गरेका छन् भने फर्किँदा उनी त्यहाँ समातिन सक्छन्।

को हुन् च्वे इन-गुक?

उनी ७३ वर्षीय दक्षिण कोरियाली नागरिक हुन् जसको व्यक्तिगत जीवन अथवा राजनीतिक धारणाबारे एकदम कम थाहा छ।

दक्षिण कोरियामा उनकी श्रीमती र छोरी छन्।

कोरियाली युद्ध अन्त्य भएयता दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने उनका आमाबुवा सबैभन्दा उच्च व्यक्तित्व थिए।

च्वे प्योङ्याङ पुगेको खबर उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन, च्वेलाई उत्तर कोरियाली अधिकारीहरूले न्यायो स्वागत गरेको देखिन्छ।

प्रचारबाजी गर्ने उत्तर कोरियाको बेवसाइट युरिमिन्जोकिरीले च्वेलाई उद्धृत गर्दै लेखेको छ, "म अनुगृहीत महसुस गर्ने देशमा बस्नु र उसलाई पछ्याउनु भनेको मेरा आमाबुवाले छाडेर गएका मार्गको रक्षा गर्नु हो।"

"अतः मैले सधैँका लागि उत्तर कोरियामै बस्ने निर्णय लिएको छु।"

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाए अनुसार च्वेको जीवन दक्षिण कोरियामा सहज थिएन र 'गद्दारको छोरा' भएको छविसँग उनी लड्नुपरेको थियो।

दक्षिण कोरियामा उनले कैयौँ पटक जागिर परिवर्तन गरेको बताइन्छ र सन् २०१६ मा उनकी आमाको मृत्यु हुनुअघि उनले पठाउने पैसामा च्वे निर्भर हुनुपर्थ्यो।

पछिल्ला वर्षमा च्वेले धेरै पटक उत्तर कोरियाको भ्रमण गरेका छन् र उनी आफ्नी आमाको अन्तिम संस्कारमा पनि त्यहाँ सहभागी भएका थिए।

को हुन् उनका आमाबुवा?

सन् १९६० को दशकतिर च्वेका बुवा च्वे टोक-सिनले दक्षिण कोरियामा विदेशमन्त्रीका रूपमा काम गरेका थिए।

सन् १९७० को दशकमा उनी संयुक्त राज्य अमेरिका बसाइँ सरे र सैनिक नेता पार्क चुङ-ही नेतृत्वको दक्षिण कोरियाली सरकारको उनी कटर आलोचक भए।

त्यसको एक दशकपछि सन् १९८६ मा श्रीमती र्‍यू मि-यङसँग भागेर उनी उत्तर कोरिया पुगेपछि चर्चामा आए। उक्त दम्पतीले आफ्ना पाँच सन्तानलाई दक्षिण कोरियामै छाडे।

दुवैजना उत्तर कोरियामा राजनीतिक सम्भ्रान्त वर्गको एउटा हिस्सा भए।

च्वे टोक-सिनको सन् १९८९ मा निधन भयो र उनकी विधवा र्‍यू मि-यङले एउटा धार्मिक सम्प्रदायको नेतृत्व सम्हालिन्। उनले अरू पद पनि सम्हालिन्।

उत्तर कोरियाली नेतृत्वसँग उक्त परिवारको लामो सम्बन्ध छ। च्वे इन-गुककी हजुरआमा (आमापट्टिकी) जापानी शासनविरुद्धको लडाइँ ताका उत्तर कोरियाका संस्थापक किम इल-सङकी एक मार्गदर्शक थिइन्।

भाग्ने घटना कत्तिको सामान्य हुन्छ?

कोरियाली प्रायःद्वीपमा भगौडाहरू सामान्यतया उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन्। र, यसरी भाग्ने काम निकै खतरनाक हुन्छ।

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकेयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

दक्षिण कोरियाली तथ्याङ्क अनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाली भगौडाहरूको सङ्ख्यामा केही कमी आएको छ।

सन् २०११ मा २,७०६ जना भागेर आएकोमा सन् २०१७ मा घटेर १,१२७ रहेको छ।

केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरू हिँडेरै सीमा कटेका छन्।

अधिकांश भगौडा चीन भएर दक्षिण कोरिया पुग्छन्। उत्तर कोरियासँग चीनको लामो सिमाना जोडिएको छ।

कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ।

चीनले भगौडाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र प्रायशः उनीहरूकै देश फर्काइदिन्छ।

दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटना चाहिँ निकै विरल हुन्छ र उनीहरू तथाकथित "दोहोरो भगौडा" हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगे र फेरि दक्षिणबाट उत्तर पुग्छन्।

सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य थियो।