याङ ली: एक महिला कलाकार जसको व्यङ्ग्यले चिनियाँ पुरुषहरू क्रुद्ध भएका छन्

    • Author, जाउइन फङ र यित्सिङ वाङ
    • Role, बीबीसी चाइनिज

चीनकी ‘पन्चलाइन क्वीन’ याङ लीसँग विवाद जोडिनु नौलो कुरा होइन।

उनन्तीस वर्षीया यी कलाकार अहिले देशकी सबैभन्दा चर्चित व्यङ्ग्यकार हुन्। हालैका महिनामा चिनियाँ टेलिभिजन शो ‘रक एन्ड रोस्ट’ले उनको ख्याति अझै बढाइदिएको छ।

प्रत्येक साता दशौँ लाख दर्शकका अघि उभिएर उनी कैयौँ चिनियाँ श्रोताले अझै थाहा नपाइसकेको ‘स्ट्यान्ड अप कमेडी’ मार्फत् विवादीत लैङ्गिक सबालहरू उठाउँछिन्।

उनका समर्थकहरूको सङ्ख्या ठूलो छ तर उनको चोटिलो प्रस्तुतिलाई सबैले रूचाएका छैनन्। अहिले याङले आफ्नो करीअरकै सबैभन्दा चुनौतीपूर्ण अवस्थामा छिन्।

गएको डिसेम्बर महिनाको एउटा कार्यक्रममा उनले आफ्ना पुरुष व्यङ्ग्यकार साथीलाई आफ्नो नयाँ ठट्टा सुनाएको बताएकी थिइन्। अनि उनले ‘पुरुषको सीमा जाँच गरेको’ जबाफ आफूलाई दिएको याङको भनाइ थियो।

“के पुरुषहरूको साँच्चै सीमा हुन्छ?” याङले व्यङ्ग्यात्मक शैलीमा भनेकी थिइन्। त्यसपछि उनीविरुद्ध आलोचनाको एउटा लहर नै सुरु भयो।

हालैका हप्ताहरूमा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उनलाई "पुरुषलाई घृणा गरेको" र "लिङ्गका आधारमा विभेद गरेको" आरोप लगाएका छन्।

पुरुषहरूको अधिकारको पक्षमा उभिएको दाबी गर्ने एउटा समूहले उनीविरुद्ध चीनको सञ्चार नियामक निकायमा "बारम्बर पुरुषहरूलाई अपमान गरेको" आरोप दायर गर्न इन्टरनेट प्रयोगकर्तालाई अनुरोध गरेको छ।

तर याङका समर्थकहरूले पुरुष आलोचकहरू "बढी संवेदनशील भएको" र उनीहरूले व्यङ्ग्यलाई नबुझेको बताइरहेका छन्।

याङको प्रस्तुतिले महिलावादी आन्दोलन र स्ट्यान्ड अप कमेडी दुवै लगभग नयाँ साँस्कृतिक पक्ष रहेको चीनमा ताजा बहसहरू निम्त्याइरहेकोमा दुई मत छैन।

के चिनियाँहरू ठट्टा पचाउँछन्?

चिनियाँ संस्कृतिमा ठट्टा गर्ने चलन नभएको हैन।

जायाङ्सेङ भनिने चिनियाँ व्यङ्ग्यको संस्कृति त्यहाँ एक शताब्दीभन्दा अघिबाट लोकप्रिय छ। यसमा दुई व्यङ्ग्यकारले एकअर्काप्रति व्यङ्गात्यमक टिप्पणी गर्छन्। यो देखेर श्रोताहरू रमाउँछन्।

तर बेलाबेलामा पश्चिमा स्टयान्ड अप कमेडीमा जस्तै श्रोताहरू नै व्यङ्ग्यको केन्द्रमा पर्दा कतिपय चिनियाँहरूले त्यसलाई ठट्टाको रूपमा नलिन सक्छन्।

“पश्चिमा जगत्‌मा स्ट्यान्ड अप कमेडी भनेको श्रोता, अधिकारी वा सामाजिक मान्यताहरूलाई चुनौती दिनु वा आलोचना गर्नु हो,” व्यङ्ग्यकार तथा बेइजिङ कमेडी क्लब ह्यूमर सेक्शनका मालिक टोनी चू भन्छन्।

तर त्यसलाई अहिले पनि चीनमा केहीले अपमानजनक वा अभद्र ठान्छन्।

आफ्नो क्लबमा एक व्यङ्ग्यकारले हेनान प्रान्तका मानिसका बारेमा ठट्टा गरेपछि एकजना श्रोताले दुर्व्यवहार गरेको चू सम्झिन्छन्।

चूले व्यङ्ग्यकार पनि त्यही प्रान्तको भएको उल्लेख गर्दै केही व्यङ्ग्यकारहरूले राजनीतिक र व्यावसायिक रूपमा अप्ठेरो नपरोस् भनेर आफ्नो व्यक्तिगत विचार लुकाउने गरेको बताए।

कतिपय चिनियाँ व्यङ्ग्यकारहरूले याङ लीको विवादबारे आफ्नो धारणा राखेका छन्। चर्चित व्यङ्ग्यकार ची जीले वेबोमा धारणा राख्दै याङले "वास्तविक स्ट्यान्ड अप कमेडी नगरेको" बताए।

तर चिनियाँ मूलका अमेरिकी व्यङ्ग्यकार जो वाङले आफूले याङलाई समर्थन गर्ने र व्यङ्ग्यले सीमान्तकृत मानिसलाई शक्तिमा भएका व्यक्तिप्रति लक्ष्य गरी ठट्टा गर्ने मौका दिएको बताए।

'नारीवादी योद्धा'

यो विवादको भित्री पाटोमा चीनमा नारीवादको अप्ठेरो बाटो परेको देखिन्छ।

याङ लीले अहिलेसम्म आफू नारीवादी हो नभने पनि आलोचकहरूले उनलाई "नारीवादी योद्धा" को सङ्ज्ञा दिइरहेका छन्।

कतिपयले त उनलाई लक्षित गरी अपमानजनक शब्दहरू पनि प्रयोग गरेका छन्।

अनलाइन आलोचक रहेका एक २३ वर्षीय विद्यार्थी भन्छन्, “लडाकु नारीवाद औचित्यहीन छ, यसले जथाभावी मुट्ठी बजार्छ र विशेषाधिकार माग गर्छ।”

बेइजिङकी एक प्राध्यापक चू यीनले वेबोमा "पश्चिमबाट आएको लैङ्गिक राजनीतिले श्रमजीवी वर्गको एकता" मा जोखिम पुर्‍याउने र त्यसबाट "पुरुषहरूमाथि घृणा फैलाइने" धारणा राखे।

उता याङ लीका समर्थकहरूले महिलाहरूभन्दा पुरुषमाथि रहेको विश्वास राख्नेहरूबाट महिलाको विचार दबाइने गरेको पछिल्लो घटनाक्रमले पनि प्रमाणित गरेको उल्लेख गरेका छन्।

अहिले पनि चीनमा परम्परागत लैङ्गिक भूमिकाहरू यथावत् छन् र पुरुष तथा महिलालाई आफ्नो दायित्व पूरा गर्न सामाजिक दबाव रहन्छ।

अविवाहित पुरुषको सङ्ख्या उच्च रहेको चीनमा विवाह गर्न योग्य हुन ठहरिन पुरुषसँग घर र काम हुनुपर्छ। परिवारका लागि आम्दानी गर्ने मूल दायित्व पनि उनीहरूकै हो।

ठूलो अपेक्षाका कारण कतिपय पुरुषहरूमा उदासीनता र क्रोधको भावना देखिने एक अधिकारकर्मी सियोङ जीनले बताइन्।

एक प्रमुख नारीवादी लु पीनले अरू देशमा भन्दा चीनमा विशिष्ट खालको राजनीतिक र सामाजिक दबाव रहेको बताइन्।

सन् २०१२ मा महिला अधिकारवादीहरूले घरेलु हिंसाविरुद्ध "रक्ताम्मे दुलही" अर्थ दिने प्रदर्शन गरेका थिए।

उनले भनिन्, “चीनको पुरुषप्रधान प्रणालीमा महिलावादीभन्दा उनीहरूका समर्थकहरूले अधिकारीहरूबाट बढ्ता समर्थन पाइरहेका छन्।"

नारीवादीलाई चीनमा यस्ता छन् चुनौती

सार्वजनिक यातायतमा यौन दुर्व्यवहारविरुद्ध अभियान चलाउने योजना गरेका पाँच महिला नारीवादीलाई सन् २०१५ मा चीनमा सात हप्ता जेल सजाय सुनाइएको थियो।

सन् २०१८ मा नारीवादी आवाज उठाउने फेमिनिस्ट भोइसेज नामक चिनियाँ संस्थाको सामाजिक सञ्जालका खाताहरू सेन्सर गरिनुका साथै बेलाबेला अवरुद्ध पारिएको थियो।

अघिल्लो डिसेम्बरमा चीनको अदालतमा एउटा चर्चित ‘मी टू” घटनाविरुद्ध सुनवाइ भए पनि सरकार नियन्त्रित सञ्चारमाध्यमले त्यसलाई स्थान दिएनन्।

उक्त मौनतामाझ केही प्रभावशाली खातामार्फत् सामाजिक सञ्जालमा उक्त विवाद फैलाउन “विदेशी शक्तिहरू” लागेको आरोप लगाइएको थियो।

उक्त “मी टू” अभियानले चीनमा महिला अधिकारवादीका गतिविधिहरूलाई प्रोत्साहन दिइरहँदा याङ लीको व्यङ्ग्यात्मक प्रस्तुतिले विवाद निम्त्याएको हो।

त्यसबारे चिनियाँ अधिकारीहरूले त्यसबारे औपचारिक अनुसन्धान गरिरहेको या नगरेकोबारे केही प्रष्ट छैन।

तर याङ लीले कुनै धारणा राखेकी छैनन् र बीबीसीले गरेको अन्तर्वार्ता लिने प्रयासमा उनको समूहले जबाफ दिएको छैन।

तर उक्त विवादलाई लक्षितजस्तो देखिने टिप्पणीमा उनले हालै सामाजिक सञ्जालमा लेखेकी थिइन्, “यो कहिल्यै पनि समाप्त हुँदैन… अब यो उद्योगमा रहन अलिकति अप्ठेरो नै छ।”