पाकिस्तानमा क्षेप्यास्त्र प्रहार भएको घटनाबारे अनुसन्धान गर्न भारतको आदेश

भारतले पाकिस्तानमा भुलवश एउटा क्षेप्यास्त्र प्रहार भएको घटनालाई "आफूले गम्भीरतापूर्वक" लिएको भन्दै त्यसबारे उच्चस्तरीय तहमा छानबिन गर्न आदेश दिएको छ।

उक्त घटना मार्च ९ मा भएको थियो तर भारतले त्यसलाई दुई दिनपछि स्वीकार गरेको थियो। उसले मर्मत-सम्भारका क्रममा भएको "प्राविधिक त्रुटि"का कारण सो घटना भएको बताउँदै आएको छ।

भारतका विदेशमन्त्री राजनाथ सिंहले मङ्गलवार संसद्‌मा बोल्दै उक्त घटनाप्रति खेद व्यक्त गरे। तर उक्त घटनामा कुनै मानवीय क्षति नभएकोमा उनले सन्तोष व्यक्त गरे।

रक्षामन्त्री सिंहले भारतले आफ्नो अस्त्र प्रणालीको सुरक्षा र रक्षालाई सर्वोच्च प्राथमिकता दिने गरेको र कथित दुर्घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्र पत्ता लाग्ने बताए।

भारत र पाकिस्तान दुवै परमाणुअस्त्रसम्पन्न राष्ट्र हुन्।

पाकिस्तानको सेनाले "तीव्र वेगको उडिरहेको वस्तु" आफ्नो देशको पूर्वी सहर मिआँ चान्नुनजिकै दुर्घटनाग्रस्त भएको जनाउँदै त्यसको उडानमार्गले यात्रुवाहक विमानहरूलाई जोखिममा पारेको बताएको थियो।

उसले भारतको "असंवेदनशील र लापरबाहीपूर्ण" व्यवहारको आलोचना गर्दै उक्त घटनाबारे वास्तविकता पत्ता लगाउन संयुक्त अनुसन्धान गर्नुपर्ने माग गरेको थियो।

अनुसन्धान गर्न आदेश

"आज म ९ मार्च, २०२२ मा भएको एउटा घटनाबारे जानकारी दिन चाहन्छु। यो घटना निरीक्षणका बेला एउटा मिसाइल अन्जानमै प्रहार हुनुसँग सम्बन्धित छ। नियमित मर्मत-सम्भार तथा निरीक्षणको क्रममा झन्डै ७ बजे गल्तीले एउटा मिसाइल प्रहार भएको थियो," रक्षामन्त्री सिंहले भने।

"पछि मिसाइल पाकिस्तानी क्षेत्रमा खसेको थाहा भयो। यो घटनाप्रति हामीलाई खेद छ भने दुर्घटनाका कारण कसैलाई चोट नलागेकोमा राहत छ। सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ, औपचारिक उच्चस्तरीय जाँचको आदेश दिइसकिएको छ।"

"यो जाँचबाट दुर्घटनाको सही कारण पत्ता लाग्नेछ। म यो पनि भन्न चाहन्छु कि यो घटनालाई दृष्टिगत गरेर सञ्चालन, मर्मत सम्भार र निरीक्षणका लागि मानक सञ्चालन प्रक्रियाको समीक्षा गरिँदैछ।"

"हामी आफ्नो अस्त्र प्रणालीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन्छौँ। यदि कुनै कमी देखा पर्‍यो भने त्यसलाई तत्काल हटाइनेछ।"

"हाम्रो मिसाइल सिस्टम अत्यन्त सुरक्षित छ। यसबाहेक हाम्रा सुरक्षा प्रक्रियाहरू र प्रोटोकल उच्चस्तरीय छन् तथा समयसमयमा यिनको समीक्षा गरिन्छ। हाम्रा सशस्त्र बल राम्रो तरिकाले प्रशिक्षित र अनुशासित छन् अनि यस्ता प्रणाली सम्हाल्न राम्ररी अनुभवी छन्।"

के भन्छ पाकिस्तान

शनिवार पाकिस्तानीको विदेश कार्यालयले भारतले दिएको "साधारण स्पष्टीकरण" प्रति असन्तुष्टि व्यक्त गरेको थियो। उसले संयुक्त छानबिन गर्नुपर्ने माग राखेको थियो।

पाकिस्तानी वायुसेनाले उक्त क्षेप्यास्त्र ध्वनिको वेगभन्दा तीनगुना तीव्र गतिमा १२ हजार मिटरको उचाइबाट उड्दै १२४ किलोमिटर दूरी पार गरेर पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको र त्यसपछि दुर्घटनामा परेको जनाएको छ।

"उक्त वस्तुको उडानमार्गले भारतीय र पाकिस्तानी हवाई क्षेत्रमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्रु उडानहरू, साथै मानिसको जीवन र पृथ्वीको अन्य वस्तुलाई जोखिममा पारेको थियो," पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल बाबर इफ्तिखारले अघिल्लो साता भनेका थिए।

त्यसको एक दिनपछि पाकिस्तानको विदेश मन्त्रालयले एक उच्च भारतीय कूटनीतिक अधिकारीलाई बोलाएर उक्त घटनाका बारेमा विरोध प्रकट गरिएको बताएको थियो।

पाकिस्तानले भारतलाई घटनाबारे उसको अनुसन्धानबाट फेला परेका विषयवस्तु जानकारी गराउन पनि आग्रह गरेको छ।

पाकिस्तानी सेनाको भनाइ अनुसार प्रहार भएको क्षेप्यास्त्र ब्रह्मोस मिसाइल हुनसक्छ।

के भन्छन् अरू देश

चीनको विदेश मन्त्रालयले उक्त घटनाबारे टिप्पणी गरेको छ।

विदेश मन्त्रालयको दैनिक ब्रीफिङमा प्रवक्ता झाओ लिजियानले भारत र पाकिस्तानले यथाशीघ्र उक्त विषयमा वार्ता गर्नुपर्ने र गम्भीर छानबिन हुनुपर्ने बताए।

सोमवार एक पाकिस्तानी पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, "चीनले यस विषयमा प्रासङ्गिक जानकारी नोट गरेको छ। पाकिस्तान र भारत दुवै दक्षिण एशियाका महत्त्वपूर्ण देश हुन् र त्यो क्षेत्रमा सुरक्षा तथा स्थिरता कायम गर्नु पनि उनीहरू दुवैको उत्तरदायित्व हो। चीन दुवै देशलाई यथाशीघ्र वार्ता गर्न आग्रह गर्छ।"

त्यस्तो घटना दोहोरिन दिनु नहुने उनको राय थियो।

अमेरिकाले उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सोमवार सञ्चारमाध्यमसँग कुरा गर्दै भारतबाट क्षेप्यास्त्र प्रहार हुनु केवल एउटा दुर्घटना भएको बताए।

यसैबीच पाकिस्तानले उक्त घटनाबारे जर्मनीका विदेशमन्त्रीलाई पनि जानकारी दिएको छ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले सोमवार जर्मन समकक्षीलाई फोन गरेर आफ्नो भूमिका भारतीय क्षेप्यास्त्र खसेको विषयबारे कुरा गरेको जानकारी पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।

कुरैशीले अन्तर्राष्ट्रिय समुदायले उक्त घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए। तर जर्मन मन्त्रीले त्यसबारे के भने भन्ने पाकिस्तानले केही उल्लेख गरेको छैन।

यो पनि हेर्नुहोस्