तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोप नेपाल: बूस्टर र दोस्रो मात्रामा कसलाई भिन्न खोप, के भेरो सेल अभावले रणनीति फेरिएको हो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड खोप कार्यक्रमअन्तर्गत बूस्टर तथा दोस्रो मात्राका लागि खोप वितरण नीति परिवर्तन गरेको छ। उसका अनुसार नेपालमा चिनियाँ खोप भेरो सेलको अभाव "एउटा कारण भएको तर त्यसैले मात्र नीति परिवर्तन नगरिएको" जनाएको छ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा सङ्गीता कौशल मिश्रा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले परिवर्तन गरिरहने सिफारिसका आधारमा नेपालको खोप सल्लाहकार समितिले समेत आन्तरिक रणनीतिहरू फेर्न सुझाव दिने गरेको बताउँछिन्।
"नेपालमा चिनियाँ खोप लगाउनेहरू मात्र छैनन्, धेरैले अन्य खोप पनि लगाएका छन्। देशबाहिर विभिन्न खोप लगाएर आउनेहरू समेत छन्," उनले भनिन्।
नयाँ व्यवस्थाअनुसार यसअघि जुनसुकै खोप लगाउनेले पनि अब नेपालमा कोभिशील्ड वा आस्ट्राजेनेका लगाउन सक्नेछन्।
अहिलेसम्म नेपालमा सबैभन्दा धेरै अर्थात् झन्डै दुई करोड मात्रा चीनमा बनेको भेरो सेल खोप लगाइएकाले त्यसको अभाव र थप आपूर्ति अनिश्चित बनेका बेला सरकारले खोप रणनीति फेरेको छ।
यसअघि खोप लगाएका मानिसलाई सरकारले पहिला जुन हो लगाएको त्यही खोप लगाउनुपर्ने अन्यथा स्वास्थ्यसम्बन्धी समस्या पर्ने सक्ने भन्दै चेतावनी दिने गरेको थियो।
यतिखेर किन परिवर्तन?
माघ महिनाको आरम्भतिर सरकारले ज्येष्ठ नागरिक र अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूका लागि बूस्टर मात्रा दिने काम सुरु गर्दा प्राथमिक दुई खेपमा जुन खोप लगाएको तेस्रोमात्रा पनि त्यही नै दिइने बताइएको थियो।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले त्यस बेला बूस्टर कार्यक्रमका लागि विभिन्न कम्पनीका खोपहरू मिश्रित ढङ्गले बाँड्दा नेपालले माग धान्न नसक्ने सोचिएको बताउँछन्।
"यसबीचमा डब्ल्यूएचओका खोपसम्बन्धी विज्ञहरूको समूहले पहिलो दुई मात्रामा एउटा सिरीजको खोप दिइएको छ भने तेस्रो मात्रा अर्को दिन मिल्ने सुझाव दिएपछि हामीले रणनीति फेरेका हौँ," डा. अधिकारीले भने।
डा अधिकारीले खोपहरू मिश्रण गर्दा त्यसको प्रभावकारिता देखिएको अध्ययनहरूले देखाउनु र नेपालको खोप कार्यक्रमसँग उपलब्ध मात्रासँग समेत मिल्नुले यस्तो निर्णय गर्न सम्भव गराएको बताउँछन्।
"भेरो सेल भएन, त्यसलाई पर्खिनुभन्दा कोभिशील्ड/आस्ट्राजेनेका भए पनि सुरक्षित र प्रभावकारी छ भने किन नदिने भन्ने निष्कर्षमा पुगियो।"
डा. अधिकारीले "नभएको खोप पर्खिनुभन्दा वैकल्पिक रूपमा कार्यक्रमलाई अघि बढाउनेगरी" यस्तो रणनीति लिइएको बताउँछन्।
अब कसलाई कुन खोप?
साठी वर्ष र माथिका ज्येष्ठ नागरिकलाई बूस्टर खोप दिनका लागि पहिलो दुई मात्रा कोभिशील्ड, आस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरो सेल लगाएकालाई बूस्टरका रूपमा कोभिशील्ड वा आस्ट्राजेनेका दिन सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
पहिलो मात्र खोप लगाएर दोस्रो मात्राका लागि सोही खोप लगाउन नपाउनेहरूलाई समेत कोभिशील्ड वा आस्ट्राजेनेका दिन सकिने जनाइएको छ।
यसका लागि देशबाहिर दुई मात्रा कोभिशील्ड, आस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरो सेल लगाएर आउनेहरू समेत योग्य हुनेछन्।
सरकारी विवरणअनुसार अहिलेसम्म नेपालले प्राप्त गरेको झन्डै चार करोड २० लाख मात्रा कोभिड खोपमध्ये तीन करोड आठ हजार मात्रा वितरण भइसकेको छ।
यसैबीच लाखौँ मात्रा खोपको विवरण यकिन नभएको भन्ने खबर आएपछि सरकारले त्यससम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ।