कोभिड नेपालः ओमिक्रोन भेरिअन्टका कारण अधिकांश सङ्क्रमण, कति दिन आइसोलेशनमा बस्नुपर्छ

कोरोनाभाइरस महामारीको तेस्रो लहर फैलिएका बेला अहिले नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। अहिले देशभरि ९० हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

विगत दुई सातादेखि दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू फेला परिरहेका छन् भने रुघाखोकी र टाउको दुख्ने जस्ता सामान्य लक्षण भएका ठूलो सङ्ख्यामा मानिसहरू परीक्षण गराउन गएका छैनन्।

सरकारी अधिकारीहरूका अनुसार नेपालमा थपिएका अधिकांश सङ्क्रमितमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन पाइएको छ।

यो भेरिअन्ट "अत्यन्त सङ्क्रामक" रहे पनि यस अघिका भेरिअन्टभन्दा ओमिक्रोन "तुलनात्मक रूपमा कमजोर" रहेको विवरणहरू सार्वजनिक भएका छन्।

यस्तो अवस्थामा सङ्क्रमण पुष्टि भएर वा सङ्क्रमितको संसर्गमा पुगी उस्तै लक्षण देखिएर घरमै आराम गरिरहेका मानिसमा आइसोलेशन अर्थात् अरूबाट एक्लिएर बस्ने अवधिबारे फरकफरक बुझाइ रहेको पाइन्छ।

आइसोलेशनमा कति दिन बस्नुपर्छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार विगतमा नेपालमा १० दिन एकान्तवास बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।

"ओमिक्रोन भेरिअन्ट सँगसँगैको अध्ययन अनुसन्धानबाट आएका प्रमाणका आधारमा विज्ञहरूको सुझावअनुसार हामीले यो समयावधि घटाएर सात दिन बनाएका छौँ," केही अघि मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बीबीसीसँग भनेका थिए।

कोभिड -१९ विरुद्ध खोप लगाएका कारण ओमिक्रोन भेरिअन्टको सङ्क्रमणको चक्र र यसले पार्न सक्ने जोखिम हेर्दा "सात दिनपछि सक्रिय भाइरस नरहने" र अरू व्यक्तिलाई सङ्क्रमण "सार्ने सम्भावना नरहने" हुँदा सात दिन आइसोलेशन समयावधि बनाइएको सरकारी भनाइ छ।

"तर कसैमा ज्वरो, खोकी वा सास फेर्ने गाह्रो हुने जस्ता कोभिडका देखिने लक्षण छन् भने लक्षण होउन्जेल शरीरमा सक्रिय भाइरस हुन्छ र त्यो भाइरसले अरूलाई सङ्क्रमण गराउन सक्ने हुँदा लक्षण हुँदासम्म समयको कुरा रहँदैन," डा. अधिकारीले भने।

"लक्षण हराएको थप तीन दिनसम्म आइसोलेशनमा बस्नुपर्छ। त्यस्तो गर्दा अरू व्यक्तिलाई सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ।"

अमेरिका र इङ्ग्ल्यान्डसहित केही देशमा पाँच दिन एकान्तवास गर्नुपर्ने नियम लागु गरिएको छ।

फेरि कोभिड परीक्षण गर्नुपर्छ कि पर्दैन?

कतिपय चिकित्सकहरूका अनुसार कुनै एक घरमा एक जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको अवस्थामा परिवारका अन्य सदस्यमा पनि लक्षण देखिए परीक्षणका लागि जानैपर्छ भन्ने छैन।

तर लक्षण देखिएपछि आइसोलेशनमा भने बस्नुपर्छ। आफ्नो शरीरमा भएको भाइरस अरूमा नसरोस् भन्नका लागि लक्षण देखिएपछि सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ।

"लक्षण समान भए हैजा फैलिएको ठाउँमा सबैको हैजा परीक्षण त गर्नुपर्दैन," शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनले भने।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी पनि रुघाखोकी, सास फेर्न गाह्रो हुने, घाटी खसखस गर्ने, टाउको दुख्ने वा पखाला लाग्ने जुनसुकै लक्षण भए पनि सबैभन्दा पहिले महामारीको समयमा भएकाले कोभिडकै सङ्क्रमण चक्रमा आफू रहेको बुझ्नुपर्ने बताउँछन्।

"त्यस्तो भयो भने परीक्षण गर्ने, अलग्गै बस्ने वा सावधानी लिने कुरा आउँछ। होइन यो मौसमी रुघाखोकीको बेला हो भनेर हामीले बुझ्यौँ भने कोभिड-१९ को सङ्क्रमण झनै फैलिएर भयावह हुनसक्छ," उनले भने।

मन्त्रिपरिषद्को निर्णयानुसार राजपत्रमा स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको सूचनामा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र पाँच दिनपछि कोभिड-१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा जान मिल्ने उल्लेख गरिएको छ।

सङ्क्रमित व्यक्तिको शरीरमा सात दिनपछि लक्षण नदेखिएको खण्डमा सक्रिय भाइरस नरहने हुँदा पुनः परीक्षण गरिरहनु नपर्ने तर्क पनि कतिपय विज्ञहरूले गरिरहेका छन्।

डा. पुनका अनुसार भाइरल लोड कम भएपछि सङ्क्रमितले अरूलाई भाइरस सार्न सक्ने सम्भावना कम रहने मानिन्छ। अहिले नेपालका सङ्क्रमितहरूमा औसतमा २० देखि २५ सीटी भ्यालू आफूले पाएको उनी बताउँछन्।

"सीटी भ्यालू जति बढी हुन्छ त्यति नै भाइरल लोड कम हुने भयो। ओमिक्रोनको हकमा लक्षण पनि छिटै विकास भएको देखिन्छ। धेरै कुरा अझै आउन बाँकी रहे पनि सायद यसको पछाडिको कारण यही नै होला," सात दिनपछि परीक्षण गर्नुपर्ने धारणाको सम्भावित कारणबारे डा. पुनले भने।

के नेपालमा अहिले ओमिक्रोन भेरिअन्टको मात्रै प्रभाव छ?

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरिबाट एस-जीन भएका सङ्कलित नमुनामध्ये जीन सीक्वन्सिङ गर्दा ३२ नमुना मध्ये २८ मा ओमिक्रोन सङ्क्रमण देखिएको थियो भने बाँकी चारवटा नमुनामा डेल्टा भेरिअन्ट देखिएको थियो।

"यसरी नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा एस-जीन पोजिटिभ भए पनि ८८ प्रतिशत ओमिक्रोन भेरिअन्ट रहेको पाइएको छ," आइतवार स्वास्थ्य मन्त्रालयले गर्ने गरेको प्रेस ब्रीफिङका क्रममा डा. अधिकारीले भने।

"यसले विश्वव्यापी रूपमा डेल्टा भेरिअन्टको सङ्क्रमणलाई ‌ओमिक्रोन भेरिअन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ।"

थोरै अनुपातमा डेल्टा भेरिअन्ट पाइएको अवस्थामा त्यसले त्यति ठूलो मान्यता नराख्ने डा. पुन बताउँछन्।

यो पनि हेर्नुहोस्