कोभिड नेपाल: माघ १५ सम्म विद्यालय बन्द गरेर खोप लगाउने शिक्षा मन्त्रालयको निर्णय

कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गरेको सिफारिसबमोजिम शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

"देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरी पुस २७ देखि माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ," शिक्षा मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बताए।

कतिपय शिक्षाविद्ले चाहिँ विद्यालय बन्द गर्नुभन्दा सबै बालबालिकालाई खोप लगाउने व्यवस्था मिलाएर शैक्षिक सत्रअनुसार पठनपाठन जारी राख्नुपर्ने बताएका छन्।

सोमवार बिहान बीबीसीसँग कुराकानी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीसीको सिफारिसलाई मन्त्रालयले कार्यान्वयनमा लाने बताएका थिए।

उनले भनेका थिए, "सबै विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने भन्ने निर्णयलाई हामी तलमाथि गर्दैनौँ।"

सीसीएमसीसीले कोरोनाभाइरस सङ्क्रमणलाई वृद्धिलाई दृष्टिगत गरेर विद्यालय बन्द गर्न आइतवार सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा सोमवारको निर्णय भएको अधिकारीहरूको भनाइ छ।

सबै बालबालिकालाई खोप

मन्त्रालयका भनाइमा विद्यालय बन्द गरिएको अवधिमा सबै विद्यार्थीलाई खोप लगाइसक्ने योजना सरकारको छ।

शर्माले भने, "विद्यार्थीहरूलाई यो अवधिमा खोप लगाइसक्ने भन्ने छ। … १२ देखि १७ वर्ष उमेरका सबै विद्यार्थीलाई खोप लगाउने… त्यो उमेर समूहका विद्यार्थी सङ्ख्या हेरेर विद्यालयमै खोप लगाउने प्रबन्ध गर्ने हो।"

उनले विद्यालयहरूले खोपका लागि समन्वय गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

सकेसम्म जुन विद्यालयमा विद्यार्थी अध्ययन गर्छन् त्यहीँ खोप लगाउने व्यवस्था मिलाइने उनको भनाइ छ।

तर कुनै विद्यालयमा सङ्ख्या कम भए वा पायक नपरेमा अर्को विद्यालयमा पनि विद्यार्थीले खोप लगाउने पाउने व्यवस्था मिलाउने तयारी गरिएको छ।

अब परीक्षाहरू के हुन्छन्

प्रवक्ता शर्माका भनाइमा बन्द रहने बेला विद्यालयहरूले आन्तरिक परीक्षा लिन पाउनेछैनन्।

"स्कूलले आन्तरिक परीक्षाहरू चलाउने भन्ने हुँदैन," उनले भने।

"स्कूल तहमा अहिले बाह्य परीक्षा छैनन् किनकि स्कूल तहको राष्ट्रिय परीक्षा भनेको कक्षा १०/१२ कै हो। आधारभूत तहको परीक्षा भनेको कक्षा ८ को हो, ती बाह्य परीक्षाहरू अहिले छैनन्।"

"स्कूलले लिने आन्तरिक मूल्याङ्कन अघिपछि पनि गर्न सकिन्छ। त्यसैका लागि स्कूल खुल्दैन।"

तर विश्वविद्यालय र कलेजलगायत अन्य शैक्षिक संस्थाहरूले भने परीक्षा चलाउन पाउने उनले जानकारी दिए।

शर्माले भने, "खासगरी विश्वविद्यालयहरू शैक्षिक प्रतिष्ठानहरूको सिमेस्टरमा आबद्ध भएको वार्षिक प्रणालीका जुन परीक्षाको अहिले रूटिन निस्किसकेको छ, त्यस परीक्षालाई नरोक्ने र चल्न दिने भन्ने सीसीएमसीसीको सिफारिस हो।"

"ती परीक्षाहरू स्वास्थ्य मापदण्ड पालन गरेर गर्नुपर्‍यो। ती परीक्षा हुन्छन्।"

अहिलेसम्म कति बालबालिकाले लगाए खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म विद्यालय जाने उमेर समूहका करिब ११ लाख बालबालिकाले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्।

सुरुमा ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन थालिएको थियो।

तर पछि थप १२ जिल्लामा पनि मोडर्ना खोप दिइएको र काठमाण्डू उपत्यकाभित्र बालबालिकालाई फाइजर खोप दिन लागिएको अधिकारीहरूले बताएका छन्।

केही जिल्लाका बालबालिकाले भने मोडर्ना खोप लगाउन अझै केही दिन पर्खिनुपर्ने अवस्था रहेको अधिकारीहरूले बताए।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले भने, "अहिले खोप अभियान चलेका बाहेकका जिल्लामा चाहिँ थप खोप आएपछि मात्र हामी खोप लगाउँछौँ।"

"ज्यानुअरी दोस्रो साता मोडर्नाको थप खोप आउँदैछ, त्यसपछि हामी खोप लगाउँछौँ।"

शिक्षाविद्को सुझाव के छ

कोभिड महामारीलाई विचार गर्दै सरकारले विद्यालयहरू बन्द गर्ने योजना अघि बढाएका बेला शिक्षाविद्हरूले चाहिँ सबै बालबालिकालाई खोपको व्यवस्था गरेर पठनपाठन जारी राख्न सुझाव दिएका छन्।

तिनैमध्येका एक शिक्षाविद् मन वाग्लेले जाडो बिदा केही लम्ब्याएर खोपको व्यवस्था गरी शैक्षिक सत्रअनुसार पठनपाठन अघि बढाउनुपर्ने बताए।

उनले भने, "चैतसम्ममा यो शैक्षिक सत्र अन्त्य हुन्छ तर यो तीन महिनाको शैक्षिक सत्र पनि पूरा नहोला भन्ने डर छ। त्यसैले अहिले तत्काल खोपमा नै बल गर्नुपर्‍यो र बालबालिकालाई सुरक्षित राख्नुपर्‍यो।"

"विद्यालय बन्द गरेर मात्र पनि भएन किनकि विद्यालय बन्द हुन्छ तर समाज खुलेपछि त्यसबाट पनि त घरघरमा सङ्क्रमण पुग्न सक्छ।"

खोप लगाउन बाँकी बालबालिका

सरकारी अधिकारीहरूका भनाइमा नेपालमा १२ देखि १७ वर्षसम्मका बालबालिकाको सङ्ख्या ३४ लाख २५ हजार छ।

उक्त उमेर समूहका बालबालिकाले अधिकांश जिल्लामा अहिले खोप अभियानअन्तर्गत खोप पाइरहेका छन्।

त्यसबाहेक ठूलो सङ्ख्यामा रहेका ५ देखि ११ वर्षका बालबालिकाका लागि पनि कोभिडविरुद्ध खोप बनिसकेको छ।

सरकारले फाइजर कम्पनीसँग उक्त समूहका बालबालिकाका लागि खोप ल्याउन पत्राचार गरिसकेको बताइएको छ।

असी लाखभन्दा बढी मात्रा त्यस्तो खोप ल्याउने पहल गरिएको बताउने अधिकारीहरू त्यति खोप आए तथा सबै बालबालिकाले खोप लिन पाए विद्यालय सञ्चालन सहज हुने बताउँछन्।