कोभिड खोप नेपालः विद्यालय नजाने बालबालिका र किशोरकिशोरीले कहिले पाउलान् खोप

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

हेटौँडाकी रीता तामाङ (नाम परिवर्तित) १७ वर्षकी भइन्। अहिले उनको दिन बौद्धनजिकै एउटा गलैँचा कारखानामा बित्छ।

कोरोनाभाइरसको महामारी सुरु भएपछि विद्यालय बन्द भयो। सामुदायिक विद्यालयमा पढ्ने उनले अनलाइन पठनपाठनबारे पत्तै पाइनन्।

मजदुरी गर्ने आमाबुवाको काम पनि ठप्प थियो। त्यसैले अन्नपानी जोहो गर्ने बाटो खोज्दै उनी काठमाण्डू आइन्। विद्यालय खुल्यो तर उनी गाउँ फर्किनन्। घरमा अभाव यथावत् रहेको आफूलाई थाहा भएकाले नयाँ काम छोड्न नसकेको उनी बताउँछिन्।

"आमालाई त वैशाखदेखि पढ्न जान्छु भनेकी छु। तर अब आफूभन्दा तल्लो कक्षाका भाइबहिनीसँग बसेर पढ्न लाज हुन्छ। अब यहीँ काम गर्छु," तामाङले भनिन्।

सुरुसुरुमा त उनले धागो डल्लो पार्ने काम गरेकी थिइन्। अहिले भने उनी स्वयं गलैँचा बुन्न सक्ने भएकी छन्। कहिले काहीँ मामालाई तान लगाउन, तान तल झार्न, नाप्न र जाँच्न समेत सघाउँछिन्।

कारखानामा उनको उमेर, कुरा र रहर मिल्ने अन्य साथीहरू पनि छन्। त्यसैले उनलाई विद्यालयको याद बिरलै आउने बताउँछिन्।

कोभिड-१९ को महामारी र यसले निम्त्याएको विपद्‌बारे केही जानकार उनलाई हाल आफ्नो उमेर समूहले पनि भाइरसविरुद्धको खोप पाउनेबारे भने थाहा छैन।

"कता दिन्छन् र?" उनी प्रश्न गर्छिन्।

तर यस प्रश्नको उत्तर उनी बस्ने स्थानीय तहले पनि दिन सकेको छैन।

सम्बन्धित विषयमा स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख शम्भु काफ्लेले बीबीसीसँग भने,"बाह्रदेखि १७ वर्ष उमेर समूहकाहरू अधिकांश विद्यालयमै हुन्छन् भन्ने हिसाबले सुरुमा सोही अनुरूप तथ्याङ्क सङ्कलन गर्‍यौँ। विद्यालयबाहिर पनि त्यस उमेर समूहका व्यक्तिहरू धेरै रहेको जानकारी अहिले पो आइरहेको छ।"

गलैँचा कारखानादेखि गुम्बासम्म छरिएका छन् किशोरकिशोरी

सरकारले यसै महिनाको आरम्भदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई मोडर्ना खोप दिँदै आएको छ।

त्यस्तै पुसको १३ गतेदेखि २२ गतेसम्म काठमाण्डूसहित ८ जिल्लामा सोही उमेर समूहका व्यक्तिलाई फाइजर खोप दिइने भनिएको थियो। तर उक्त कार्यक्रम खोपका लगाउन आवश्यक सिरिन्ज र घोलक अभावका कारण स्थगित भएको छ।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले उक्त कार्यक्रम अबको एक सातापछि सुरु हुने सम्भावना रहेको जानकारी दिए।

यी दुवै खोप कार्यक्रम विद्यालय केन्द्रित छन्। यिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहहरूलाई विद्यालयमार्फत् उक्त उमेर समूहको तथ्याङ्क सङ्कलन गर्न र खोप लगाउनका लागि केन्द्र तथा स्वास्थ्यकर्मी परिचालनलगायत तयारी गर्न निर्देशन दिएको छ।

तर केही स्थानीय तहले विद्यालयबाहेक त्यस्ता फरक क्षेत्र पहिचान गरे जहाँ खोपको लक्षित वर्गको सङ्ख्या उल्लेख्य छन्।

केही दिनअघि गोकर्णेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बीबीसीसँगको कुराकानीमा भनेका थिए,"सरकारले सोचेभन्दा केही फरक विवरण हामीलाई प्राप्त भयो। हाल हामी ती क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ।"

नगरपालिकाले गलैँचा कारखाना, चाँदी र तामाका भाँडाकुँडा बनाउने ठाउँ, गुम्बा, इँटाभट्टा र पुनर्स्थापना केन्द्रहरूमा किशोरकिशोरीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क तयार गरिरहेको उनले बताए।

तर बालबालिकाले काम गरिररहेका कारखाना तथा श्रमस्थल तथ्याङ्क दिन तयार नभएको उपाध्याय बताउँछन्। "पढ्न जाने उमेरकाहरूलाई काममा लगाउनु कानुनविपरीत हो भन्नेबारे उनीहरू जानकार छन्। कानुन उल्लङ्घन गरे सजाय पाइन्छ भन्ने पनि थाहा छ। त्यसैले धेरैले उमेर वा कामदार नै लुकाएको पायौँ," उनले भने।

गोपनीयता कायम राखिने र खोपले गम्भीर बिरामी हुनबाट बच्ने बताएपछि भने केही मानिस खोप कार्यक्रमप्रति सकारात्मक भएको अधिकारीहरू बताउँछन्।

त्यस्तै गुम्बा तथा पुनर्स्थापना केन्द्रलाई चाहिँ आवश्यक मात्रा उल्लेख गरी नगरपालिकालाई निवेदन दिन आग्रह गरिएको जिकिर गरे।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालयलाई समेत जानकारी दिइएको छ। यसअघि गोकर्णेश्वर नगरपालिकाले करिब १८,००० मात्रा खोप माग गरेको थियो। अहिले स्वास्थ्य कार्यालयले मागभन्दा १० प्रतिशत बढी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको उपाध्यायको भनाइ छ।

"पहिचान भएका सबैलाई खोप दिन्छौँ। स्वास्थ्यसम्बन्धी अधिकारबाट कोही पनि वञ्चित हुनुपर्दैन। सङ्क्रमण त एक जनाबाट सजिलै धेरैमा फैलने भएकाले उमेर पुगेका हरेकलाई खोप दिनु हाम्रो लक्ष्य हो," कार्यालय प्रमुख काफ्लेले प्रतिबद्धता जनाए।

दक्षिणकाली नगरपालिकाका प्रतिनिधिले पनि गुम्बामा १३ देखि १७ वर्ष उमेर समूहका थुप्रै व्यक्ति रहेको जानकारी दिएको उनले बताए।

त्यस्तै कागेश्वरी मनहरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार त्यहाँ पनि गुम्बा तथा कारखानालगायत साना उद्योगमा संलग्न किशोरकिशोरी देखिएका छन्।

थापाले भने,"हामीले सामुदायिक र निजी गरी ५५ वटा विद्यालयबाट सङ्कलित तथ्याङ्कका आधारमा १० हजार खोप माग गरेका छौँ। हाल लक्षित वर्ग विद्यालयबाहिर पनि पहिचान भए। उनीहरूका लागि अतिरिक्त खोप उपलब्ध भएको अवस्थामा वडा स्तरका स्वास्थ्य संस्थामार्फत् वितरण गर्छौँ।"

एक साता चल्नेछ खोप अभियान

स्वास्थ्य कार्यालय प्रमुख काफ्लेका अनुसार फाइजर खोप अभियान एक सातासम्म चल्नेछ।

छ दिन विद्यालयहरूमा चल्ने कार्यक्रम एक दिन स्वास्थ्य केन्द्रहरूमा हुनेछ। त्यहाँ विद्यार्थीबाहेक अरू र पहिला छुटेका किशोरकिशोरीले खोप लगाउन पाउनेछन्।

"गुम्बामा अध्ययन गर्नेहरूमध्ये केही बाहिर निस्किन नमिल्ने समेत बताइएको छ। त्यस्तो अवस्थामा हामी त्यहीँ गएर खोप दिनेछौँ," काफ्लेले बताए।

विद्यार्थी नै खोपबाट वञ्चित हुने जोखिम

अहिले माध्यमिक तहमा मात्र नभई उच्च माध्यमिक तहका शिक्षण संस्थाहरूमा पनि १७ वर्ष उमेर समूहका किशोरकिशोरी रहेको जानकारी आइरहेको गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए।

उनले भने,"कलेज पढ्नेहरू पनि फाइजर खोप दिने कार्यक्रम लक्षित उमेर समूहका रहेछन्। अहिले विभिन्न क्याम्पसबाट फोन आउँदा पो थाहा पाइरहेका छौँ। त्यसैले माग गरिएको खोप पर्याप्त नहुने निश्चित छ।"

हाल नगरपालिकामा रहेका उच्च माध्यमिक तहहरूबाट पनि लक्षित वर्गको तथ्याङ्क माग गरेको बताइएको छ। त्यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकाहरू खटेका छन्।

"सुरुदेखि शिक्षण संस्थामा केन्द्रित गरिएको खोप अभियानमा झन्डै विद्यार्थी नै छुट्ने जोखिम पनि रहेछ। हामीले स्थानीय तहबाटै यस समस्या समाधानका लागि पहल गरेका छौँ," उनले भने।

उमेर हदले निम्त्याएको अन्योल

ढुङ्गेधारा काठमाण्डूकी श्रीषा बस्नेत डेढ महिना अघि कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि खोप केन्द्र पुगिन्। तर उमेरले १८ वर्ष पुग्न केही दिन मात्र बाँकी रहेकै कारण उनले खोप लगाउन पाइनन्।

स्वास्थ्यकर्मीहरूले केही दिनमै १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप दिने आश्वासनसहित उनलाई फर्काए।

मङ्सिर महिनाको अन्तिम साता उनी १८ वर्ष लागिन्। त्यसको एक साता नबित्दै अर्थात् पुस ४ गतेबाट किशोरकिशोरीलाई मोडर्ना खोप वितरण सुरु भयो।

"पहिले १८ वर्ष नपुगेकाले खोप लगाउन पाइनँ। जुन खोप लगाउन पर्खिएको थिएँ त्यो १७ वर्षसम्मकालाई हो भनियो। अब कुन खोप लगाउने वा कुनै पनि नलगाउने अन्योल छ," उनले बीबीसीसँग भनिन्।

तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्र भने खोप लगाउनेबारे कोही पनि अन्योलमा रहनु नपर्ने बताउँछिन्। उनले बीबीसीसँग भनिन्,"उमेर हदसम्बन्धी केही अन्योल देखिएको छ। तर यो ठूलो समस्या होइन। प्रावधानअनुसार १८ वर्षभन्दा एक दिन मात्र कम छ भने पनि ऊ १७ वर्ष नै हो। "

"ती उमेर समूहकाले १२ देखि १७ वर्षका लागि छुट्टाइएको खोप लगाउँदा कुनै समस्या हुँदैन।"

विभिन्न अनुसन्धान र परीक्षण पछि कुन खोप कुन उमेर समूहका लागि उपयुक्त भन्ने निष्कर्ष रहेकाले दिन वा घण्टाको समेत हिसाब गरी तोकिएको खोप लगाउनुपर्ने बताइन्। "अठार वर्षमाथिका भन्दा पनि मुनिको उमेर समूह सचेत हुनुपर्छ। किनकि उपलब्धमध्ये निश्चित खोप मात्र उनीहरूका लागि सिफारिस गरिएको छ," उनले भनिन्।

विभिन्न खोप केन्द्रहरूमा यस किसिमको समस्या देखिएकाले प्रमुख विशेषज्ञको संयोजकत्वमा 'र्‍यापिड रिस्पन्स समूह' बनेको र उमेर हदबारे आवश्यक जानकारी प्रवाह गरिरहेको बताइन्।