तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित, के भन्छ सरकार
केही निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई कोभिड खोपको अतिरिक्त मात्रा दिने कार्यक्रम हाललाई स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सबै नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनु महत्त्वपूर्ण भएको भन्दै अतिरिक्त मात्राको विषयबारे आगामी महिना जानकारी गराउने उसले बताएको छ।
यसअघि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका लक्षित समूहका मानिसहरूलाई आजैदेखि अतिरिक्त मात्रा खोप दिने जनाइएको थियो।
मङ्गलवार अपरान्ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको विवरण अनुसार नेपालमा अहिलेसम्म अढाई करोड मात्रा भन्दा बढी खोप वितरण भइसकेको छ।
किन यस्तो निर्णय गरियो?
झन्डै एक करोड सात लाख जनाले पूर्ण मात्रा र एक करोड ४५ लाखले कम्तीमा एक मात्रा खोप लगाएको विवरणमा जनाइएको छ। कूल जनसङ्ख्याको ३५ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
केही समय पहिले सरकारले दैनिक ५ लाख मानिसलाई खोप लगाउने बताउँदै आएको छ तर त्यो अनुसार काम भने भइरहेको छैन।
अब यही नियमित खोप कार्यक्रममा ध्यान केन्द्रीत गर्ने गरि अहिलेलाई अतिरिक्त मात्रा वा बुस्टर डोजका विषय थाँती राखिएको मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रले बताइन्।
उनले जनसङ्ख्याको ४० प्रतिशतलाई खोप लगाइसकेपछि अतिरिक्त र बुस्टर मात्रा खोप दिनसकिने विकल्पबारे छलफल भइरहेको पनि उल्लेख गरिन्।
यसअघि अधिकारीहरूले निश्चित समूहका पूर्ण मात्रा लगाएको तीन महिना भएका व्यक्तिहरूले अतिरिक्त मात्रा पाउने बताएका थिए। स्वास्थ्य तथा
अतिरिक्त मात्रा कसलाई दिने भनिएको थियो?
जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार विभिन्न छ समूहका व्यक्तिहरूले अतिरिक्त मात्रा खोप पाउने बताइएको थियो।
जसमा मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर भएका बिरामीहरू र अङ्ग प्रत्यारोपण गरेका बिरामीहरू लगायत रहेका थिए।
तर मन्त्रालयले सूचनामै यो मात्रा बूस्टर डोज भने नभएको उल्लेख गरेको थियो।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष रमेशकान्त अधिकारीका अनुसार समितिले बारम्बार सरकारलाई खोप लगाउनेको सङ्ख्या र क्षेत्र बढाउन सुझाव दिएको छ।
खोप लगाउनेको सङ्ख्या विस्तार नगरिकन केही व्यक्तिलाई बूस्टर डोज दिएपछि बूस्टरमा मात्र ध्यान जान्छ भन्ने सल्लाहकार समितिको चिन्ता रहेको उनले बताएका छन्।
साथै विश्व स्वास्थ्य सङ्गठनले पनि खोपको व्यापकता पहिले बढाउनुपर्नेमा जोड दिएकाले बूस्टर मात्रा लगाउन हालसम्म सिफारिस नगरिएको उनले बताए।
समितिका अध्यक्ष रमेशकान्त अधिकारीका अनुसार समितिले बारम्बार सरकारलाई खोप लगाउनेको सङ्ख्या र क्षेत्र बढाउन सुझाव दिएको छ।
"कभरेज नबढाई केही व्यक्तिलाई बूस्टर डोज दिएपछि बूस्टरमा मात्र ध्यान जान्छ भन्ने सल्लाहकार समितिको जोड रह्यो," उनले भने।
उनले विश्व स्वास्थ्य सङ्गठनले पनि खोपको व्यापकता बढाउनुपर्नेमा जोड दिएकाले बूस्टर मात्रा लगाउन हालसम्म सिफारिस नगरिएको बताए।
खोपहरू मिसाउनेबारे कस्तो छलफल?
कतिपय देशहरूमा फरकफरक खोप मिसाउँदा त्यसको प्रभावकारित बढी देखिएको भन्दै अतिरिक्त मात्रामा पहिलेको भन्दा फरक खोप दिइएका विवरणहरू आइरहेका छन्।
नेपालमा पनि त्यसबारे छलफल भएको तर हालसम्म निर्णय भइनसकेको अधिकारीहरूको भनाइ छ।
मिश्रले भनिन्, "हामीले खोप सल्लाहकार समितिको सिफारिसमा गर्ने हो। उहाँहरूले जहिलेदेखि मिसाउनु भन्नुहुन्छ, हामी त्यसपछि गर्न सक्छौँ। अहिले अन्य देशहरूको हेरेर मात्र हामीले मात्रा मिसाउनेबारे सोचेका छैनौँ।"
समितिका अध्यक्ष अधिकारीका भनाइमा विभिन्न देशहरूमा भएका अध्ययन र अभ्यास हेर्दा खोपहरू मिसाउन सकिने देखिएको छ।
तर नेपालमा त्यसको कार्यान्वयनमा सहज हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने हुन्छ।
उनले भने, "कार्यक्रम बनाएर त्यसलाई व्यवस्थापन र कार्यान्वयनय गर्न सकिन्छ कि सकिँदैन भनेर अहिले चाहिँ पहिले लगाएकै दिँदा राम्रो भन्ने भएको छ र त्यसै अनुसार हामीले सुझाव दिएका छौँ।"
उक्त समितिकै सदस्य डा. गणेशकुमार राईले पनि समितिमा खोप मिसाउनेबारे छलफल भएको तर हाललाई पहिले जुन लगाएको हो त्यही नै लगाउने भन्ने निर्णय भएको बताए।
उनले भने, "अहिलेका अध्ययनहरूले के बताइरहेका छन् भने खोप मिसाउँदा हानी गर्दैन र पहिले एउटा र पछि अर्को दिँदा खोपको प्रभावकारतिा दर बढी देखिएको छ।"
"त्यसले गर्दा मिसाएर पनि लगाउनु हुन्छ भन्ने हो। हामी खोप मिसाउने कुराको विरोधी होइनौँ तर सकेसम्म पहिले लगाएकै खोप लगाउँदा सहज हुन्छ भन्ने हो।"
उनले पनि नेपालमा अझै पूर्ण मात्रा खोप लगाउनेहरूको सङ्ख्या धेरै बाँकी रहेकाले बूस्टर डोजभन्दा अघि खोपको व्यापकता बढाउनुपर्ने बताए।
अहिलेसम्म कति जनाले लगाए कोभिड खोप?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म साढे दुई करोड मात्रा खोप वितरण भएको छ।
एक करोड सात लाख जनाले पूर्ण मात्रा र एक करोड ४५ लाखले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइएको छ।
यसबाट नेपालको कुल जनसङ्ख्यामध्ये ४७.०९ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेको र ३५.९० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको देखिन्छ।
अठार वर्ष वा त्यसभन्दा माथिको उमेर समूहका भने ५३.०८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
उक्त उमेर समूहका ७३.१ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्।