तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड ओमिक्रोन: भारतमा सङ्क्रमण बढेपछि नेपालमा पनि 'निगरानी बढाइने', प्रतिबन्धात्मक व्यवस्थाको सम्भावना कति
नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिम देखिएको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानी बढाउन छलफल अगाडि बढाएको जनाएको छ।
भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न राज्यमा नयाँ प्रकारको उक्त भेरिअन्ट फैलिने क्रम केही बढेपछि रात्रिकालीन कर्फ्यूसहित विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिएको छ।
अन्य राज्यमा पनि भिडभाड हुने स्थलमा कडिकडाउ सुरु गरिएको बताइएको छ।
विगतमा कोभिड भारतमा "फैलिएको केही सातापछि नेपालमा पनि फैलिएको पाइएका कारण" भारतको अवस्थालाई नजिकबाट नियालिएको अधिकारीहरू बताउँछन्।
अहिले नै नेपालमा प्रतिबन्धात्मक व्यवस्था कायम गर्नुपर्ने स्थिति नभएको रहे पनि "भविष्यमा समयानुकूल निर्णय लिनुपर्ने हुनसक्ने" उनीहरूको बुझाइ छ।
नयाँदिल्लीमा २४ घण्टाको अवधिमा ओमिक्रोन सङ्क्रमण भएका थप २९० जना फेला परेको विवरण आएको छ।
भारतमा अहिले ओमिक्रोनबाट ५७८ जना सङ्क्रमित भएको पुष्टि भएको छ।
सरकारी तयारी के छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अहिले निगरानी गर्ने काममा ध्यान दिइएको छ।
"भारतमा सङ्क्रमण बढ्दै गएपछि हामी प्रत्यक्ष प्रभावित हुने अवस्था हुन्छ। यस्तोमा अझ बढी परीक्षणहरू, सीक्वन्सिङ र यो सँगसँगै जनस्वास्थ्यका मापदण्डहरू पालना हुने खालका क्रियाकलाप बढाउनेगरी र कोभिड-१९ को खोपलाई तीव्रता दिनेगरी काम गरिरहेका छौँ," डा. अधिकारीले भने।
भारतमा कोरोनाभाइरसको पहिलो लहरका क्रममा सङ्क्रमण उत्कर्षमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमितको सङ्ख्या उच्च भएको अधिकारीहरू बताउँछन्।
दोस्रो लहरका बेला अझ चाँडो त्यसो भएको थियो।
मन्त्रालयका अनुसार भारतमा अवस्था जटिल भएको १५ देखि २० दिनमा नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको थियो।
|अहिलेको भेरिअन्ट दोस्रो लहरको भेरिअन्टभन्दा बढी सङ्क्रामक भएको हिसाबले सङ्क्रमण यहाँ बढ्न धेरै समय लाग्ने अवस्था हुँदैन। हामीले त्यो अनुमान गरेरै तयारी गरेका छौँ," डा. अधिकारीले भने।
अहिले किन बढ्यो जोखिम?
नेपालमा गत सप्ताहान्त क्रिसमसको उत्सवका क्रममा काठमाण्डूसहित प्रमुख सहरमा ठूलो भिडभाड देखिएको थियो।
आगामी सप्ताहान्तमा अङ्ग्रेजी नववर्षको अवसरमा भिडभाड हुने खालका विभिन्न कार्यक्रमहरू हुन लागेका छन्।
यस्तो अवस्थामा सङ्क्रमण सहजै एक ठाउँबाट अर्को ठाउँ फैलिने वातावरण बनेको अधिकारीहरू बताउँछन्।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भारतमा लकडाउन वा त्यहाँ काम गर्ने अवस्था बन्द हुँदै गए नेपालीहरू फर्किने र त्यस बेला नेपालमा जोखिम ह्वात्तै बढ्ने विगतले देखाएको बताउँछन्।
त्यसै कारण विदेशबाट आउने मानिसहरूमाथि निगरानी बढाउने र क्वारन्टीनमा राख्नेगरी तयारी गरिएको सरकारी भनाइ छ।
तर भारतको अवस्था र क्रिसमसको बेला विश्वभरि भएका यात्रा तथा अन्य गतिविधिबारे विचार गर्दा निगरानी अझ बढाउनुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।
"छिमेकी मुलुकसँगको हाम्रो सम्बन्ध यति घनूभूत छः जनस्तरमा उता गएर आएको मानिस पसल गएर आएको हो कि, गाई चराएर आएको हो कि घाँसदाउरा गरेर आएको हो कि, सङ्क्रमितसँग धेरै समय बसेर सङ्क्रमण लिएर आएको हो कि … यो छुट्ट्याउन जनस्तरको सम्बन्धका कारण गाह्रो छ। त्यो हाम्रो लागि निकै चुनौतीपूर्ण पनि छ। त्यसले भोलि हामीलाई चुनौती थप्न सक्छ भन्ने विषयमा हामी चिन्तित छौँ,'' उनले भने।
परीक्षणको अवस्था के छ?
सरकारले आइतवार प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० भन्दा केही कम छ।
आइतवार अपराह्ण प्रकाशित विवरणअनुसार २४ घण्टाको अवधिमा ९,६७७ जनाको परीक्षण गर्दा २१९ जना सङ्क्रमित थपिएका छन्।
तर सरकारले सङ्क्रमितमध्ये अहिलेसम्म तीन जनामा मात्रै ओमिक्रोन भेरिअन्ट रहेको पुष्टि भएको बताएको छ।
कतिपयले नेपालमा कोभिड सङ्क्रमण भए पनि भेरिअन्ट छुट्ट्याउने परीक्षण नगरिएकाले ओमिक्रोनको अवस्था अस्पष्ट रहेको हो कि भन्ने शङ्का गरेका छन्।
तर विदेशबाट आएका मानिसमा कोभिड देखिएको अवस्थामा उनीहरू कुन भेरिअन्टबाट सङ्क्रमित भएका हुन पत्ता लगाउनका लागि जीन सीक्वन्सिङ गरिने गरेको डा. अधिकारी बताउँछन्।
के भन्छन् विज्ञ?
डा. शेरबहादुर पुनका अनुसार प्रारम्भिक नतिजाहरू हेर्दा डेल्टा भेरिअन्टको तुलनामा ओमिक्रोन त्यति कडा देखिएको छैन।
तर पनि नेपालमा सबैले खोप नलगाएको अवस्थामा जोखिम भने कायमै छ।
नेपालमा हालसम्म लक्षित जनसङ्ख्या मध्य ५०.२ प्रतिशतले कोभिडविरुद्ध खोपको दुवै मात्रा लगाएका छन्।
खोप नलगाएका, लगाएर पनि एन्टिबडी नबनेका वा बनेर पनि त्यो एन्टिबडीको मात्रा ह्रास हुँदै गएको अवस्थामा कोरोनाभाइरसको जुनसुकै भेरिअन्ट फैलिएको अवस्थामा पनि कुनै न कुनै समूहमा समस्या आउन सक्ने डा. पुन बताउँछन्।
कोरोनाभाइरसको यो नयाँ भेरिअन्टबाट जोगिन हात धुने, सामाजिक दूरी कायम गर्ने अनि मास्क लगाउनेजस्ता पुरानै उपाय अपनाउनुपर्ने उनको भनाइ छ।
त्यसबाहेक खोप पनि धेरे भन्दा धेरैले लगाएको अवस्थामा क्षति न्यूनीकरण गर्न सकिने उनी बताउँछन्।
खोप आफैँ लगाउन आउनेहरूले लगभग लगाएको अवस्थामा सरकारले विशेष ध्यान दिएर नलगाएका मानिसका लागि खोप अभियानलाई तीव्र पार्नुपर्ने पुनले बताए।
यो पनि हेर्नुहोस्