कोभिड नेपाल: नेपालमा खोपको बूस्टर मात्रा दिनेबारे विश्व स्वास्थ्य सङ्गठनको धारणा के

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अनुमति दिएमा पुसको अन्तिम तिरबाट कोभिडको बूस्टर खोप अभियान सुरु गर्ने सरकारको चाहना रहेको बताएकामा उक्त राष्ट्रसङ्घीय निकायको नेपाल कार्यालय प्रमुखले 'बूस्टर मात्रा स्पष्ट प्रमाणित आधारहरूका भरमा दिइनुपर्ने' बताएका छन्।

बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिँदै डब्ल्यूएचओको नेपाल कार्यालय प्रमुख डा. राजेश संभाजीराव पाण्डवले बूस्टरको आवश्यकता र असर सम्बन्धमा आफूहरूले 'अहिलेसम्मका उपलब्ध वैज्ञानिक तथ्यहरूलाई समीक्षा गरिरहेको' बताए।

"अहिलेसम्मका निष्कर्षका भरमा बूस्टर मात्रा दिने काम स्पष्ट प्रमाणित आधारहरूमा टेकेर दिइनुपर्छ र त्यो जनसङ्ख्याका गम्भीर रोग लाग्नसक्ने उच्च जोखिममा रहेका समूह र स्वास्थ्य प्रणालीको सुरक्षाका लागि आवश्यक जनसङ्ख्यामा लक्षित गरिनुपर्छ।"

डा. पाण्डवले खोपका विषयमा डब्ल्यूएचओलाई सुझाव दिने उक्त सङ्गठनको विज्ञहरूको रणनीतिक सुझाव समूह (एसएजीई) र कोभिड-१९ को खोप कार्यदलसँग मिलेर काम भइरहेको बताए।

उनले नेपालको स्वास्थ्य मन्त्रालय र खोप सल्लाहकार समितिलाई तिनै 'विश्वव्यापी तथ्य, सुझाव र प्राविधिक मार्गनिर्देशन' साट्ने गरिएको उल्लेख गरे।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उसले अनुमति दिएका चार प्रकारका खोपमा अधिकांश तथ्यले गम्भीर कोभिड रोगसँग लड्ने क्षमता सबै उमेर समूहमा ६ महिनामा झन्डै ८ प्रतिशतले घट्ने देखाएको छ।

के डब्ल्यूएचओको अनुमति अनिवार्य हो?

केही प्रारम्भिक विवरणहरूले तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टसँग जुझ्न बूस्टर वा तेस्रो मात्रा खोप आवश्यक पर्ने बताएका बेला बुधवार नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले आफूहरू बूस्टर खोप वितरणमा जान चाहेको सार्वजनिक रूपमा बताएका थिए।

उनको भनाइ थियो, "डब्ल्यूएचओले अनुमति दियो भने पुसको अन्तिम तिरबाट हामी आवश्यकता अनुसार बूस्टर डोजमा जान चाहन्छौँ।"

त्यस क्रममा उनले प्रथम चरणमा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी, वृद्धवृद्धा, बालबालिकालाई प्राथमिकतामा राखेर 'क्रमश: सम्पूर्ण नागरिकलाई' बूस्टर मात्रा दिने योजना सुनाएका थिए।

के बूस्टर मात्रा सुरु गर्न विश्व स्वास्थ्य सङ्गठनको अनुमति अनिवार्य हो भनेर सोधिएको प्रश्नमा डा. पाण्डवको जवाफ थियो, "डब्ल्यूएचओ एउटा प्राविधिक निकाय हो। हाम्रो भूमिका देशको स्वास्थ्य लक्ष्यहरू हासिल गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्राविधिक मार्गनिर्देशन र सहायता दिने हो।"

नेपालका स्वास्थ्य अधिकारीहरूले कम्तीमा देशको ४० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप नपाउँदासम्म बूस्टर अभियान सुरु गर्न नहुने डब्ल्यूएचओले बताउँदै आएको भन्ने गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले धेरै देशहरू सन् २०२१ को अन्त्यसम्ममा ४० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्यबाट पर रहेको भन्दै सन २०२१ को अन्त्यसम्ममा स्वस्थ्य वयस्कहरूलाई बूस्टर खोप नदिन आग्रह गरेका छन्।

भण्डारण

पुस मसान्तसम्ममा कुल जनसङ्ख्याको ६६ प्रतिशतलाई खोप लगाउने नेपालको लक्ष्य छ।

बिहीवारसम्म नेपालको कुल जनसङ्ख्याको ३२.४ प्रतिशतले र १८ वर्षभन्दा माथिको जनसङ्ख्यामा ४९.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको सरकारी विवरण छ।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आफूहरूसँग पर्याप्त खोप भए पनि त्यसको तुलनामा खोप लगाउन मानिसहरू नआइरहेको बताउने गरेका छन्।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. सागर दाहालले भने, "नेपालमा अहिले १ करोड मात्रा भन्दा धेरै खोप भण्डारमा छ। ६० लाख फाइजर खोप र २० लाख मोडर्ना खोप आउन बाँकी छ।"

यतिखेर विश्वका १२० देशले बूस्टर मात्राको सिफारिस गरेको र विश्वभरि झन्डै २० प्रतिशत खोप बूस्टरका रूपमा प्रयोग भइरहेको डब्ल्यूएचओको विवरण छ।