ओमिक्रोन कोभिडः दक्षिण अफ्रिकाको अनुभवबाट हामी के सिक्न सक्छौँ

    • Author, रेचल श्रेअर र पिटर मवाई
    • Role, बीबीसी रीयालिटी चेक

दक्षिण अफ्रिका त्यही देश हो जहाँ कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट सबैभन्दा पहिले पहिचान भएको थियो। त्यहाँ सङ्क्रमितहरूको सङ्ख्यामा पनि एक्कासि वृद्धि भयो।

यही क्रम अरू देशमा पनि देखिन थाल्यो। विश्व स्वास्थ्य सङ्गठनले त यो भेरिअन्ट फैलिने दर " यसअघिका अरू भेरिअन्टमा नदेखिएको" बताएको छ।

फ्रान्सका प्रधानमन्त्रीले यो भेरिअन्ट "बिजुलीको गतिमा" युरोपमा फैलिएको बताएका छन्।

त्यसोभए दक्षिण अफ्रिकाको अनुभवबाट हामीले के सिक्न सक्छौँ त?

के ओमिक्रोन सर्दा कम बिरामी परिन्छ?

दक्षिण अफ्रिकामा अस्पतालहरूको तथ्याङ्क हेर्ने हो भने यो सबै प्रदेशहरूमा उल्लेख्य मात्रामा फैलिरहेको छ। तर सङ्क्रमितहरूको सङ्ख्या हेर्ने हो भने यो अनुमान गरिए जस्तो तीव्र दरमा फैलिएको होइन।

कमै मात्र बिरामी परेकाहरूलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता परेको छ। उनीहरूको अस्पताल बसाइ अवधि पनि छोटो छ।

दक्षिण अफ्रिकाको प्रमुख स्वास्थ्य सेवा प्रदायकमध्येको एक डिस्कभरी हेल्थले कोभिड-१९को पहिलो लहरमा भन्दा ३० प्रतिशत कम वयस्कहरू मात्रै ओमिक्रोन देखा परेको पहिलो चरणमा अस्पताल भर्ना भएको जनाएको छ।

तर दक्षिण अफ्रिकाका वरिष्ठ वैज्ञानिकहरूले यो तथ्याङ्कका आधारमा भेरिअन्ट आफैँमा कम घातक भएको भन्न नसकिने बताएका छन्।

अघिल्लो लहरमा भन्दा ओमिक्रोन आइसक्दा खोप लगाएर वा प्राकृतिक रूपमा प्रतिरोध क्षमता बनाएका मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइसकेको उनीहरूको बुझाइ छ।

यद्यपि दुई मात्राको खोप लगाएका र एक पटक सङ्क्रमित भएर निको भएका मानिसहरूलाई गम्भीर बिरामी पर्नबाट केही सुरक्षित भए पनि ओमिक्रोनबाट सङ्क्रमण हुनबाट नरोकिने बताइएको छ।

जोहानस्बर्गस्थित एउटा अस्पतालमा कार्यरत वरिष्ठ वैज्ञानिक विक्की बेली अस्पतालमा उपचार गराउनेहरूको सङ्ख्यामा कमी हुनुको कारण मानिसमा विकासित प्रतिरो क्षमता नै भएको बताउँछिन्।

"यो कम सङ्क्रामक उत्परिवर्तन हो भन्ने कुनै पनि प्रमाण भेटिएको छैन," उनले भनिन्।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्ट कम सङ्क्रामक देखाउने खालको तथ्याङ्क यथार्यपरक नरहेको चेतावनी दिएको छ। कोभिड भएर अस्पताल जाने बिरामीको सङ्ख्या सानो भएको र भर्ना भएका अधिकांश बिरामीहरू न्यून जोखिम भएको समूहमा पर्ने ४० वर्षभन्दा कम उमेरका भएकाले त्यस्तो देखिएको हुनसक्ने उसको भनाइ छ।

उनीहरू अन्य कुनै कारणले अस्पताल पुगेका हुन सक्छन्। तर दक्षिण अफ्रिकामा अस्पताल भर्न हुन पुगेका सबैको कोभिड परीक्षण हुन्छ। त्यसैले पनि धेरै सामान्य लक्षण भएका बिरामीहरू देखा परेका हुनसक्छन्।

अर्को कारण के पनि हुनसक्छ भने दक्षिण अफ्रिकामा ६० वर्षमाथिका मानिसले यसअघि नै खोप लगाइसकेको हुनसक्ने सम्भावना उच्च छ। त्यसैले उनीहरू गम्भीर बिरामी पर्नबाट सुरक्षित भएका छन्।

दक्षिण अफ्रिकामा औसत उमेर २७.६ वर्षका युवाको बाहुल्य छ। त्यसैले पनि उसको ओमिक्रोनबारेको अनुभव त्यसभन्दा बूढा मानिसहरू भएका अन्य देशको भन्दा फरक हुनसक्छ।

के ओमिक्रोनबाट बालबालिका बढी बिरामी परेका हुन्?

दक्षिण अफ्रिकाका सबैभन्दा प्रभावित क्षेत्रहरूमा रहेका अस्पतालहरूको तथ्याङ्कले बालबालिका अस्पताल भर्ना भएको दर बढेको देखाउँछ।

कतिपयले यो तथ्याङ्कले यो भेरिअन्ट बालबालिकाका लागि घातक रहेको भन्दै त्यो खतराको सूचक भएको ‍बताएका छन्।

जोहानस्बर्गस्थित विट्ओटरस्र्‍यान्ड विश्वविद्यालयमा प्राध्यापरत हेलन रीज एकदमै सानो सङ्ख्याका आधारमा यही निष्कर्ष मा पुग्न नसकिने बताउँछिन्।

डा. बेलीले आफ्नो अस्पतालमा सानो सङ्ख्यामा मात्रै बालबालिका कोभिडका कारण बिरामी परेर आएको तर उनीहरू दुईदेखि तीन दिनको अवधिमा निको भएको बीबीसीलाई बताइन्।

उनका अनुसार यो विवरण धेरै बालबालिकाहरू गरिबीमा बाँचिरहेको क्षेत्रको भएका कारण उनीहरूमा पोषणको कमी लगायत समस्याका कारण भाइरसको जोखिम औसतभन्दा बढी हुन्छ।

यो प्रदेशमा कोभिडका कारण बालबालिका अस्पताल भर्ना हुने अनुपात पनि घट्दै गएको छ। पहिलो साता १४ प्रतिशत रहेको यो अनुपात तेस्रो सातामा आठ प्रतिशत छ।

ओमिक्रोनविरुद्ध खोपको भूमिका कस्तो छ?

दक्षिण अफ्रिकामा तुलनात्मक रूपमा खोप लगाउनेहरूको दर कम छ। पूर्ण मात्रा खोप लगाएको जनसङ्ख्या २६ प्रतिशत मात्रै रहेको यो देशको ओमिक्रोन अनुभव धेरै जनसङ्ख्याले खोप लगाएका देशहरूसँग नमिल्न सक्छ। तर यसको प्राकृतिक प्रतिरोध क्षमता त्यति धेरै छैन।

एन्ड्रूज विश्वविद्यालयका डा. मुगे सेभिक खोपले सङ्क्रमण फैलिने जोखिम कम गर्ने बताउँछन्। किनभने खोप लगाएका मानिसहरू छोटो अवधि बिरामी पर्छन् र भाइरस धेरै समय शरीरमा बस्दैन जसले फैलिने अवसर पनि कम पाउँछ।

तर यो स्पष्ट छ कि यो खोप लगाउनेहरूको सङ्ख्या उच्च भएका देशमा पनि निकै तीव्र रूपमा फैलिरहेको छ। केही खोपहरूले मात्रै सङ्क्रमणलाई रोक्न सक्छन्।

तर यो भाइरसमा आएको व्यापक उत्परिवर्तनका बाबजुद पनि खोपले गम्भीर बिरामी पर्नबाट जोगाउने भूमिका निभाइरहेको छ।

तर कति हदसम्म जोगाउँछ भन्ने अझै स्पष्ट भएको छैन।

दक्षिण अफ्रिकामा भएका प्रारम्भिक अध्ययनहरूले फाइजर खोपको दुई मात्रा लगाएको धेरै महिनासम्म पनि अस्पताल भर्ना हुनबाट ७० प्रतिशतसम्म जोगाउने देखाएका थिए। बूस्टरका रूपमा तेस्रो मात्रा लगाएपछि यो दर ९० प्रतिशत रहने देखिएको थियो।

तर दक्षिण अफ्रिकामा अरू खोपहरू पनि प्रयोगमा छन्। यहाँ धेरैले जोनसन एन्ड जोनसन खोप पनि लगाएका छन्। त्यस कारण फरकफरक खोपहरूले भिन्न उमेर समूहका मानिसमा कति हदसम्म सुरक्षा दिन्छ भन्ने अनुसन्धान आवश्यक देखिन्छ।

बीबीसी मोनिटरिङकी निकोल मरिसनले यो सामग्रीका लागि थप रिपोर्टिङ गरेकी छन्