तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: ओमिक्रोन रोक्न 'सबै देशबाट आउने यात्रुलाई होटल क्वारन्टीन अनिवार्य गर्न' स्वास्थ्य मन्त्रालयको सिफारिस
ओमिक्रोन भेरिअन्टको सङ्क्रमण रोकथामका लागि विदेशबाट आउने सबै यात्रुलाई "अनिवार्य होटल क्वारन्टीन"को व्यवस्था गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ताले बताएकी छन्।
अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नुपर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थगित गरेका बेला स्वास्थ्य प्रवक्ताले उक्त जानकारी दिएकी हुन्।
अध्यागमन विभागले शुक्रवार अमेरिका, क्यानडा, यूके, रुस, कोरियालगायतका देशहरूसमेत कुल ६७ देशबाट आउने यात्रुले सात दिन होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने सूचना निकालेको थियो।
तर शनिवार बिहानै विभागले उक्त व्यवस्था "अर्को निर्णय नहुन्जेल लागु नहुने" जानकारी दिँदै सूचना निकालेको छ।
विभागका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयको सिफारिस र जोखिमयुक्त मुलुकको सूची अनुसार शुक्रवारको निर्णय गरिएको बताएका थिए।
शनिवार बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले भनिन्, "सूची नपठाउने (कुन कुन देश भनेर) सबै देशकै (यात्रुलाई) सात दिन क्वारन्टीन गर्ने … भनेर मन्त्रिपरिषद्मा गइसकेको छ।"
"त्यो मन्त्रिपरिषद्मा गइसकेको छ। त्यसैले अध्यागमनले निकालेको सूचीलाई बेवास्ता गर्नुपर्छ। अहिले स्वास्थ्य मन्त्रालयले सम्पूर्ण देशबाट आउने मान्छेलाई सात दिन क्वारन्टीनको प्रस्ताव गरेको छ।"
उनले अध्यागमन विभागले स्वास्थ्य मन्त्रालयले केही अघि नै पठाएको सूचीलाई आधार मानेर उक्त सूचना निकालेको बताइन्।
अध्यागमनको सूचना
अध्यागमन अधिकारीहरूका भनाइमा "माथिल्लो निकायबाट ती देशहरूको सूचीबारे थप विश्लेषण गर्नुपर्ने" निर्देशन आएपछि उक्त नियम हाललाई स्थगित गरिएको हो।
शुक्रवार अध्यागमन विभागले मङ्सिर १३ गते मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयका आधारमा भन्दै त्यस्ता देशहरूको सूची निकालेको थियो।
उक्त सूचना आएपछि सामाजिक सञ्जालमा कैयौँले त्यसको आलोचना पनि गरेका थिए।
अध्यागमन विभागले सार्वजनिक गरेको र हाल स्थगित उक्त सूचनामा विभिन्न ६७ वटा देशको सूची दिइएको थियो।
सूचनामा ती देशहरूबाट आउने यात्रुहरूले "आफ्नै खर्चमा सात दिन होटल क्वारन्टीनमा बसी कोभिड-१९ को आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने" उल्लेख थियो।
त्यस्तो परीक्षणको नतिजा नकारात्मक आएमा सात दिनपछि थप सात दिन घरमा क्वारन्टीन बस्न पाउने गरी त्यस्ता यात्रुले जान पाउने बताइएको थियो।
यदि कसैमा सङ्क्रमण देखिए तोकिएको आइसोलेशन केन्द्र वा अस्पताल पठाइने सूचनामा उल्लेख गरिएको थियो।
आलोचना
सूचना आएपछि कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालमा लेख्दै पीसीआर परीक्षण गरेर सङ्क्रमण नदेखिएकालाई घरैमा क्वारन्टीनमा बस्न दिनुपर्नेमा जोड दिएका थिए।
कतिले उक्त निर्णयलाई अव्यवहारिक भनेका थिए भने कतिले होटल क्वारन्टीनमा मापदण्ड पालन नभएको भन्दै प्रश्न पनि उठाएका थिए।
हालै मात्र कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले अनुगमन गर्दा पनि कतिपय होटलहरूले क्वारन्टीन मापदण्ड उल्लङ्घन गरेको पाइएको बताएको थियो।
उसले त्यस्ता होटलहरूको सूची प्रकाशित गर्दै ती होटलहरूमा क्वारन्टीन नबस्न भनेको थियो।
अध्यागमन अधिकारीको भनाइ
सूचना सच्याउनुको कारणबारे अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, "मंसिर १३ गते बसेको मन्त्रिपरिषद् निर्णयबाट दक्षिण अफ्रिका क्षेत्रका ९ वटा देशका मान्छेहरूलाई प्रवेश रोक लगाउने निर्णय भएको थियो।"
"त्यसैमा स्वास्थ्य मन्त्रालयले हरेक १५ दिनमा ओमिक्रोनको सङ्क्रमणको विश्लेषण गरेर जोखिमयुक्त देशको सूची निर्माण गर्ने र सो अनुसार ट्राभल एड्भाइजरी जारी गर्नलाई अध्यागमन विभागलाई लेखी पठाउने भन्ने निर्णय पनि भएको थियो।"
"त्यसै अन्तर्गत हामीले स्वास्थ्य मन्त्रालयबाट त्यो सूची प्राप्त गर्यौँ। त्यो आधारमा हामीले यो सूचना निकाल्यौँ।"
भट्टराईले उक्त सूचना हाललाई स्थगित मात्र गरिएको र पछि सूची फेरि जारी हुनसक्ने सङ्केत गरे।
"त्यो सूचना निकालेपछि सम्भवत: सबैतिरको फिडब्याक आयो होला। त्यसपछि माथिल्ला निकायहरूबाट ती देशहरूको सूची अलिकति बढी ठूलो भयो यसलाई फेरि एक पटक विश्लेषण गर्न जरुरी भयो। धेरै मान्छेलाई समस्या हुन्छ कि? भन्ने कुरा आयो।"
"सीसीएमसीसीमा बैठक गर्छौँ र त्यतिन्जेललाई यो सूचना स्थगित गरिदिनु भन्ने कुरा आइसकेपछि हामीले स्थगित गरेका हौँ।"
उनले थप प्रस्ट्याउँदै भने, "सम्भवत: सोमवार अर्को बैठक बस्छ होला त्यतिन्जेललाई हामीले स्थगित गरेका हौँ।"
नेपालमा ओमिक्रोन
दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको ओमिक्रोन भेरिअन्ट नेपालमा पनि फेला परिसकेको छ।
स्वास्थ्य मन्त्रालयले गत मंसिर २० गते उक्त भेरिअन्ट नेपालमा पनि भेटिएको पुष्टि गरेको थियो।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको जानकारी मन्त्रालयले दिएको थियो।
उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। त्यसपछि भने मन्त्रालयले आधिकारिक रूपमा ओमिक्रोन भेटिएको जानकारी दिएको छैन।
स्वास्थ्यसम्बद्ध अधिकारीहरूका भनाइमा नेपालमा भेटिएका सङ्क्रमितको नमुना सङ्कलन गरेर ओमिक्रोन हो कि होइन भन्ने पत्ता लगाउन जीन सिक्वेन्सीङ गर्ने काम नियमित रूपमा भइरहेको छ।
पछिल्ला त्यस्ता परीक्षणको नतिजा आउन बाँकी रहेकाले पुन: थप व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण भएको हुनसक्ने कतिपयले बताइरहेका छन्।