कोभिड नेपाल: खोपको बुस्टर मात्राको आवश्यकताबारे के भन्छ स्वास्थ्य मन्त्रालय

नेपालमा कोभिड-१९ विरुद्ध खोपको दुवै मात्रा लगाएकाहरूमा क्रमशः एन्टीबडी घट्दो क्रममा देखिएकोले बुस्टर मात्राको आवश्यकतासम्बन्धी अध्ययन आवश्यक रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।

परिषद्ले गरेको "नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरूमा एन्टीबडीको अध्ययन"मा कोभिशील्ड, भेरोसेल र अन्य खोप लगाएकाहरूको सहभागिता सङ्ख्या १,४४८ थियो।

अध्ययनले दुवै मात्रा खोप लगाएका ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टीबडी रहेको देखाएको छ।

त्यसमा कोभिशील्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत थिए।

अन्य खोप लगाउनेहरूको सङ्ख्या ०.२ प्रतिशत अर्थात् तीन जना मात्रै अध्ययनमा समावेश गरिएका थिए।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ''कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका सहभागीहरूमा पनि समय क्रममा एन्टीबडी विकसित भएका व्यक्तिहरूको सङ्ख्या घट्दै गएको देखिएको हुँदा यसै अध्ययनका सहभागीहरूमा एन्टीबडीको स्तरको थप अध्ययनको जरुरी रहेको छ।"

"त्यस्तै बुस्टर डोजको आवश्यकता सम्बन्धी थप अध्ययनको आवश्यकता रहेको छ।''

अध्ययनका केही नतिजा

  • कुल सहभागीमध्ये १,४४८ अर्थात् ८१ प्रतिशतले खोप लगाएका थिए। त्यसमा कोभिशील्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत (२१० जना) थिए
  • सहभागीमध्ये ६१ प्रतिशतमा एन्टीबडी देखियो
  • पहिलो मात्रा मात्रै लगाएका ५५.१ प्रतिशत र दुवै मात्रा लगाएकामध्ये ८२ प्रतिशतमा एन्टीबडी देखियो
  • खोप लगाएको दिनसँग नमुना सङ्कलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेका ८२.३३ प्रतिशत सहभागीहरूमा एन्टीबडी देखियो भने चौथो महिना पछि त्यो घटेर ४३.७५ मात्र रहेको देखियो
  • एउटा दीर्घरोग भएकाहरूमध्ये ७८.९ प्रतिशत, दुई दीर्घरोग भएकामध्ये ७१.६९ प्रतिशतमा र तीन वा त्योभन्दा बढी दीर्घरोग भएकामध्ये ४२.३ प्रतिशतमा एन्टीबडी देखिएको छ

परिषद्का अनुसार खोप लगाएका र नलगाएका व्यक्तिहरूमा एन्टीबडीको स्तर मूल्याङ्कन गर्नका लागि अध्ययन गरिएको हो।

के भन्छ स्वास्थ्य मन्त्रालय?

तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नहुँदै बताउँदै एन्टीबडीको तह बारे ''फलोअप'' भइरहेको र परिषद्ले गरेको अध्ययन अपूरो रहेको जनाएको छ।

"हामीले उहाँहरूलाई 'फलोअप' गर्नूस् कति महिनासम्म कति काम गर्छ भनेर भनेका छौँ। कति एन्टीबडी भयो भने कति महिना काम गर्छ पनि यकिन छैन,'' मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने।

उनले एन्टीबडी घट्दै जानु प्राकृतिक प्रक्रिया रहेको बताउँदै कोभिशील्ड र भेरोसेलको नतिजा अन्य देशहरूमा जस्तै नराम्रो नदेखिएको बताए।

''हामी विश्व स्वास्थ्य सङ्गठनको स्ट्रयाटेजिक ग्रुप अफ एक्सपोर्टस समितिको सिफारिस नआउँदासम्म बोल्ने अवस्था छैनौँ,'' बुस्टर मात्राबारे पौडेलले भने।

''खोप लगाएका मानिसहरूलाई पनि सङ्क्रमण हुन सक्छ। त्यसैले हामी विश्वव्यापी सिफारिस कुर्ने छौँ।''

खोपबारे देशअनुसार नीति हुने र त्यसै अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।

अध्ययनले ६० वर्षभन्दा माथि उमेर समूहका पहिलो मात्रा कोभिशील्ड खोप लगाएका व्यक्तिहरूको पनि उल्लेख सहभागिता भए पनि त्यसमा आधा सहभागिता मात्र एन्टीबडी बनेको पाइएको जनाएको छ जसकारण यस्तो व्यक्तिहरूमा खोपको दोस्रो मात्रा लगाएको १४ देखि २१ दिनपछि फेरि एन्टीबडीको अध्ययनको आवश्यकता रहेको उल्लेख छ।

अध्ययनमा काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा खोप लगाएका र नलगाएका १,७९६ जनाको गत जेठ १७ गतेदेखि असार २५ गतेसम्म रगतको नमुना सङ्कलन गरिएको थियो।

ती नमुनाहरूमा सीएलआईए विधिमार्फत एन्टीबडीको स्तरको परीक्षण गरिएको परिषद्ले जनाएको छ।

अध्ययनले कोभिड-१९ विरुद्धको खोप नलगाएका तथा कोभिडको सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीहरूमा पनि एन्टीबडी विकसित भएको देखिएको अवस्थामा कोभिड १९ समुदाय स्तरमा फैलिएको हुनसक्ने सम्भावना रहेको औँल्याएको छ।

''त्यसैले नेपालभरि "सीरोप्रिभलन्स सर्भे'' अध्ययनको आवश्यकता देखिन्छ,'' विज्ञप्तिमा उल्लेख छ।

अघिल्लो "सीरोप्रिभलन्स सर्भे''ले के देखाएको थियो?

गत अगस्टमा नेपालमा एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

कोभिड १९ सङ्क्रमणको दोस्रो राष्ट्रिय "सीरोप्रिभलन्स सर्भे''मा देशभरिका गत असार २१ देखि साउन ३० गतेसम्म १३,१६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो।

सर्वेक्षणले देशभरिका ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखाएको बताइएको थियो।

सीरोप्रिभलन्स सर्भेमा रगत परीक्षण गरेर कतिमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको रहेछ भन्ने थाहा पाउन सकिने विज्ञहरू बताउँछन्।

परिषद्को सिफारिस बारे टिप्पणी गर्दै पौडेलले आफूहरूले "सीरोप्रिभलन्स सर्भे'' गरी नै रहेको र त्यो आगामी दिनहरूमा पनि गर्ने जानकारी दिए।