माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: अर्को नेता खोज्दै संसद्‌को तेस्रो ठूलो शक्ति, महासचिवमा को पर्ला प्रचण्ड र पार्टीको रोजाइमा?

प्रचण्ड

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ।

नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।

पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको माओवादी नेता र जानकारहरूको भनाइ छ।

माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ।

पुस ११ गतेदेखि १५ सम्म काठमाण्डूको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी चयन थाती राख्न सक्ने आशङ्का पनि कतिपयले गरेका छन्।

माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो।

के माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने छैनन्?

तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको माओवादी नेता राम कार्की बताउँछन्।

"त्यो [पार्टी अध्यक्ष फेरिने] स्थिति देख्दिनँ। त्यो हुनुपर्थ्यो, भएन। कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन," सम्मेलनबाट नेतृत्व परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा कार्कीले भने।

प्रचण्ड

तस्बिर स्रोत, RSS

माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ।

विगत १५-२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको भन्दै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए।

"नेता भनेको कहिले पनि अंश दिएर हुने होइन। त्यसरी त शिष्य मात्रै हुन्छन्, नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ। विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेता आउँछन्," कार्कीले भने।

यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए।

दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे।

वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन्।

माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन्।

किन हुन सकेन माओवादीमा जिम्मेवारी हस्तान्तरण?

प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ।

महाभारतको एउटा प्रसङ्गको उदाहरण दिँदै माओवादी नेता कार्की नेतृत्वले पनि पार्टीको जिम्मेवारी हस्तान्तरणको नीति नलिएको बताएका छन्।

"महाभारतमा पनि भीष्मलाई ढालेपछि नै अर्जुन सर्वश्रेष्ठ रूपमा अगाडि आए। हुन त आफू ढल्ने तरिका उनले (भीष्मले) स्वयम् अर्जुनलाई बताएका थिए," कार्की भन्छन्।

"हामीले पनि युवापिँढीलाई बताइदिनुपर्छ हामीलाई प्रतिस्थापन गर्ने विधि यो हो...। त्यो पनि चाकरी गरेर होइन की वैचारिक बहस गरेर।"

यसअघि हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरूले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो।

नेतृत्व कस्तो बन्ला?

माओवादी नेताहरू

तस्बिर स्रोत, CMPRACHANDA/FACEBOOK

सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र सङ्गठनात्मक संरचनाबारे बहस हुने बताइएको छ।

माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ।

माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन्।

माओवादी नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न नसकेको नेताहरूले बताएका छन्।

माओवादी नेताहरूका अनुसार पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद थप गर्नेबारे छलफल चलिरहेको छ।

माओवादीले प्रदेश र स्थानीय तहमा सातजना पदाधिकारी रहने व्यवस्था पारित गरेको छ।

केन्द्रमा पनि विगतको भन्दा पदाधिकारी सङ्ख्या थप गर्नेबारे छलफल भइरहे पनि त्यसको टुङ्गो राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट मात्रै टुङ्गो लाग्ने माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए।

आकाङ्क्षी को छन्?

माओवादी केन्द्रमा अहिलेसम्म चार जनालाई प्रचण्डपछि शक्तिशाली मानिने भावी महासचिव पदको उम्मेदवारको रूपमा हेरिएको माओवादीभित्र अन्तरसङ्घर्ष पुस्तकका लेखक तथा पत्रकार नेत्र पन्थीको बुझाइ छ।

उनले पूर्वमहासचिव कृष्णबहादुर महरा, सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन र पम्फा भुसाल माओवादी महासचिवको दाबेदार भएको बताए।

"प्रचण्डका समकक्षी नेताहरू अहिले माओवादीमा कोही पनि छैनन्। त्यस कारण तुरुन्तै नेतृत्व परिवर्तन हुने कुनै छाँट छैन," पन्थी भन्छन्।

महरा यसअघि विवादमा आएका कारण उनलाई उपाध्यक्ष बनाएर बाँकी तीन नेतामध्येबाट महासचिव चयन गर्ने प्रचण्डको तयारी हुनसक्ने पन्थीको विश्लेषण छ।

तीन आकाङ्क्षीमध्ये वर्षमान पुन स्वास्थ्य समस्याका कारण उपचाररत रहेका कारण अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालको दाबेदारी बलियो रहेको उनको बुझाइ छ।

नेकपा

तस्बिर स्रोत, EPA

प्रचण्डसँग कतिपय विषयमा असहमति राख्दै आएका अर्का नेता नारायणकाजी श्रेष्ठलाई दाहालले कार्यकारी भूमिकामा साथ दिने सम्भावना कम रहेको लेखक पन्थी बताउँछन्।

माओवादीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनको अभ्यास नभएका कारण सहमतिबाटै नेतृत्व चयनको पहल गर्ने नेताहरूको तयारी छ। माओवादीले बागमती प्रदेशको अध्यक्ष टुङ्गो लगाउन मतदान गरे पनि बाँकी प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गरेको छ।

सहमति हुन नसक्दा अधिकांश प्रदेशमा अध्यक्ष र सदस्यहरू मात्रै टुङ्गो लगाएर बाँकी पदाधिकारीको चयन थाती राखिएको छ। केन्द्रमा पनि त्यही अभ्यास दोहोरिन सक्ने सम्भावना भएको आकलन छ।

"प्रचण्डले अरू पार्टीलाई देखाउन केन्द्रीय समितिमा युवाहरू ल्याउने सम्भावना छ। तर युवाहरू नै पदाधिकारीमा जाने सम्भावना अहिले माओवादीभित्र देखिँदैन," उनले भने।

महाधिवेशन र राष्ट्रिय सम्मेलनमा के फरक?

माओवादीको महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ठूलो भिन्नता नभएको पार्टी कार्यालयका मुख्य सचिव ढकाल बताउँछन्।

महाधिवेशनमा अन्य दलका नेता र विदेशस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिने भए पनि राष्ट्रिय सम्मेलन पार्टीका प्रतिनिधिहरूमाझ मात्रै गरिने ढकालले बताए।

पार्टीको नीति, नेतृत्व र वैचारिक कार्यदिशा चयनको अधिकार राष्ट्रिय सम्मेलन र महाधिवेशन दुवैमा समान भएको उनले जानकारी दिए।

यसअघि विसं २०७१ मा विराटनगरमा भएको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामै फर्केर माओवादीले नेतृत्व चयन गरेको थियो।

पेरिसडाँडामा मतदानबाट नेतृत्व चयन भए पनि मतदाता केन्द्रीय सदस्यहरू मात्र थिए।

बाबुराम भट्टराई उम्मेदवारी दर्तामै सहभागी नभए पनि उनलाई पार्टीमा निर्वाचित गराइएको थियो।

त्यसअघि माओवादीले २०६९ सालमा हेटौँडामा महाधिवेशन गरेको थियो।

शान्ति प्रक्रियामा आएपछि भएको पहिलो महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएका थिए।