नेपाली कांग्रेस महाधिवेशन: यस्तो छ सभापति निर्वाचित शेरबहादुर देउवा र पराजित शेखर कोइरालाको राजनीतिक यात्रा

तस्बिर स्रोत, Rss
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।
पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्।
उनले शेखर कोइरालालाई पराजित गरेर दोस्रो पटक सभापति बन्न सफल भए।
मङ्गलवार पुन: भएको निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ ले मत खसालेकोमा देउवाले २,७३३ र कोइरालाले १,८५५ मत पाए।
देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो।
३५ मत बदर भएको दोस्रो चरणको निर्वाचनमा पहिलोमा भन्दा ५६ मत कम खसेको थियो।
पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो।
सोमवारसम्म पहिलो चरणमा सभापति नछानिए देउवालाई समर्थन नगर्ने भनिरहेका निधि र सिंह दुवैले साथ नदिँदा कोइराला भने पराजित हुन पुगे।
कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा
कांग्रेसका सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन पाउने भाग्यमानी नेपाली नेतामा पर्छन्।
उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेका थिए।
कार्यकर्ताको मतले सभापति चुनिएका देउवाको राजनीतिक छवि भने विवादरहित छैन।
आलोचकले उनलाई 'प्रजातन्त्र दरबारलाई लगेर बुझाएको' भन्ने आरोप पनि लगाउँछन्।
त्यस्तै उनले प्रधानमन्त्रीका रूपमा होस् वा पार्टी सभापतिका रूपमा "खासै राम्रो भूमिका निभाउन नसकेको" भन्नेहरू धेरै छन्।
कतिपयका नजरमा उनी "राजनीतिक संयोगहरूका कारण" पटक पटक सफलताको सिँढी चढ्न सफल भएका हुन्।

तस्बिर स्रोत, RSS
कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा 'कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता' देखिन्छन्।
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए।
२०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने। पञ्चायत विरोधी राजनीति गर्दा देउवामा पटक-पटक जेल परेका थिए।
त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यस बेला समेत उनी केही समय जेल परेका थिए।
आफ्नो राजनीतिक जीवनमा पटक पटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।
प्रजातन्त्र कालमा देउवा
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए।

तस्बिर स्रोत, Rss
२०४८ सालमा डँडेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।
त्यस बेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका 'सुरा-सुन्दरी काण्ड'लगायतका घटनाहरू पनि भएका थिए।
त्यस्तै उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन्।
२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।
२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए।

तस्बिर स्रोत, RSS
त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।
ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने।
त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे।
तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।
त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।
उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।
तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए।
पार्टी विभाजन
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।
२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो।
नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बनेका थिए।
उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो।

तस्बिर स्रोत, RSS
देउवा २०७२ साल फागुनमा भएको १३औँ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका थिए।
त्यस बेला पनि पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि तेस्रो स्थानमा रहेका कृष्ण सिटौलाको समर्थनमा दोस्रो चरणमा उनी सभापति बनेका थिए।
उनीविरुद्ध उठेका रामचन्द्र पौडेलले भने पराजित हुनु परेको थियो।
सभापति पराजित कोइरालाको राजनीतिक यात्रा
१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर पराजित भएका शेखर कोइरालाको सक्रिय राजनीतिक जीवन भने देउवाको जस्तो लामो छैन।
यद्यपि उनले विभिन्न समयमा दिएका अन्तर्वार्ताहरूमा कांग्रेसका संस्थापकमध्येका एक बीपी कोइराला जीवित हुँदैदेखि भूमिगत रूपमा राजनीतिक क्रियाकलापमा आफू सक्रिय भएको बताउने गरेका छन्।
कोइराला परिवारमा राजनीतिमा खासै सक्रिय नभएका केशव कोइराला र राजनीतिमा सक्रिय नेतृ नोना कोइरालाका पुत्र शेखर राजनीतिक वृत्तमा २०४६ सालको परिवर्तनपछि मात्र देखिन थालेका हुन्।

तस्बिर स्रोत, RSS
उनी धेरैले देखिने र सम्झने गरी राजनीतिमा आएका चाहिँ राजा ज्ञानेन्द्रले सत्ता लिएका बेलादेखि हो।
त्यस बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सूचनावाहक भएर माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने सुत्रधारको भूमिका उनले निभाएका थिए।
१२ बुँदे दिल्ली सम्झौताका बेलामा समेत कोइराला र कांग्रेस नेता कृष्ण सिटौलाको सक्रियता निकै रहेको बताइन्छ।
भारतमा चिकित्सा विज्ञान अध्ययन गरेका उनी पेसाले चिकित्सक हुन्।
विराटनगरस्थित कोइराला निवासको आँगनै अगाडि अवस्थित कोशी अस्पतालमा काम गरेका उनले कुनै बेला आफ्नै क्लिनिक समेत चलाएका थिए।
पछि उनी भारतीय सहयोगमा धरानमा निर्मित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो उपकुलपति बने।
उपकुलपति पद छाडेर राजनीतिमा होमिएका कोइरालाले पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङबाट चुनाव लडेका थिए।
तर सुरुमा पराजित भएका उनले सोही क्षेत्रबाट उपनिर्वाचनमा विजय हासिल गरे।
कोइराला परिवारभित्रै पनि गिरिजापुत्री सुजाता र बीपीपुत्र शशांकसँग खासै मत नमिल्ने व्यक्तिका रूपमा उनलाई धेरैले बुझ्ने गरेका छन्।
नोना कोइरालाको अवसानपछि गिरिजाप्रसाद र गिरिजाप्रसादको अवसानपछि सुशील कोइरालाले शेखरलाई राजनीतिक रूपमा अघि बढ्नबाट रोक्ने कार्य गरेको बुझाइ कैयौँको छ।
हालको महाधिवशेनमा पनि सुजाता उनी विरुद्धको गठबन्धनमा स्पष्ट रूपमै खुलेर लागिन् भने भाइ शशांकले पनि शेखरलाई खुलेर समर्थन गरेनन्।
त्यस्तै सुशील कोइराला सभापति रहँदैदेखि पार्टीको संस्थापन पक्षको नेताका रूपमा रामचन्द्र पौडेललाई अघि सार्ने शेखरले पौडेलको निर्वाचनस्थलमा "भौतिक उपस्थितिको नैतिक सहयोग" समेत पाएनन्।
कतिपयका विश्लेषणमा कुनैबेला "सबै कोइरालाहरू एक छौँ" भनेर सार्वजनिक रूपमै एक स्थानमा उभिने कोइराला परिवारका तीन नेताहरूबीच मत नमिल्दा शेखरले यसपटक सभापतिमा बाजी मार्ने अवस्था रहँदा रहँदै त्यो मौका चुकाएका छन्।
यद्यपि हालसम्म मन्त्री समेत नबनेका र कांग्रेसकै उच्च पदमा नपुगेका ७१ वर्षे कोइरालाले देउवालाई दिएको टक्कर उनको राजनीतिक भविष्यका लागि फलदायी हुनसक्ने कतिपयको विश्वास छ।
अघिल्लो महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका कोइराला एघारौँ महाधिवेशनपछि लगातार केन्द्रीय सदस्य भए पनि उनी पार्टी पदाधिकारी हुन सकेका थिएनन्।










