नेपाली कांग्रेस महाधिवेशन: शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन

देउवा

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेस सभापतिको निर्वाचनमा पहिलो चरणबाट बाहिरिएका दुई प्रमुख उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन्।

दोस्रो चरणमा सभापति पदका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मङ्गलवार साढे ३ बजेदेखि मतदान सुरु भएको छ।

"उहाँले यस पटक मलाई सहयोग गर्नूस्... विधानमा र पार्टीमा भइरहेका कमीकमजोरीमा सल्लाह गरेर [काम] गर्छौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ... अब दोस्रो चरणमा हामीहरू उहाँलाई नै समर्थन गर्छौँ," सिंहले भने।

सिंहले आफ्नो निवास चाक्सीबारीमा त्यस्तो घोषणा गर्दा देउवा र सिंहको प्यानलबाट उपसभापति उम्मेदवार सुजाता कोइराला साथमै उभिएका थिए।

"हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिएका हौँ। तर देशभरिकै महाधिवेशन प्रतिनिधिको अधिकांशको बहुमतमा शेरबहादुरजीकै स्वीकार्यता देखियो," सिंहले भने।

प्रकाशमान सिंह, सुजाता कोइराला र शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

निधिको पनि समर्थन

सभापति पदका अर्का उम्मेदवार निधिले पनि दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई साथ दिने बताएका छन्।

निधिको निजी निवासमा पुगेका देउवासँगको छलफलपछि निधिले आफूले पनि देउवालाई नै समर्थन गर्ने बताएका हुन्।

"मैले उहाँलाई भनेँ म तपाईँलाई पूर्ण समर्थन गर्छु। र म साथीहरूसँग पनि के आग्रह गर्न चाहन्छु भने… दोस्रो चरणमा पूरै विनासर्त पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै समर्थन गर्ने मैले उहाँलाई जानकारी गराएँ," निधिले भने।

यसअघि निधिले दोस्रो चरणमा निर्वाचन हुन गए बाँकी उम्मेदवारले देउवालाई पराजित गर्न सहयोग गर्नुपर्ने बताएका थिए।

पहिलो चरणमा सभापतिको छिनोफानो हुन नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले मङ्गलवार अपराह्ण ३:३० बजेदेखि साँझ ७:३० सम्म राष्ट्रिय सभागृह, भृकुटी मण्डपमा दोस्रो चरणको मतदान हुने गरेको थियो।

महाधिवेशन प्रतिनिधिहरू काठमाण्डूबाट फर्किनुअघि नै सभापतिको टुङ्गो लगाइसक्न महाधिवेशनका लागि गठित निर्वाचन समितिले मतदान सकिनासाथ अन्य पदको गणना थाती राख्दै सभापति पदको मतगणना सुरु गरेको थियो।

देउवा र निधि

तस्बिर स्रोत, RSS

पहिलो चरणमा कसको मत कति?

सोमवार राति सम्पन्न निर्वाचनमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मतदान गरेका थिए।

देउवाले २,२५८ अर्थात् ४८.२५ प्रतिशत मत ल्याएका थिए।

कोइरालाले १,७०२ मत अर्थात् ३६.९५ प्रतिशत मत प्राप्त गरे।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २५० र २२ मत प्राप्त गरे।

कांग्रेस सभापति प्रथम चरण निर्वाचन. कूल मत सङ्ख्या: ४,६७९. * नेपाली कांग्रेसको विधान बमोजिम सभापतिमा निर्वाचित हुनका लागि कूल मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्ने व्यवस्था छ।.

कुल खसेको मतमध्ये ७७ बदर भएको जनाइएको छ।

कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।

सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन।

बाँकी पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कांग्रेस महाधिवेशनमा सहभागी चार पुस्ताका नेताको नजरमा

१४औँ महाधिवेशन: कसरी चुनिँदैछ नेतृत्व?

नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलोपटक नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरबाट सुरु भएको हो।

क्रियाशील सदस्यमा यस पटक नवीकरण गर्नेभन्दा केही प्रतिशतले नयाँ धेरै आएकाले त्यसको प्रभाव नेतृत्व चयन कसरी पर्छ भन्ने चासोपूर्वक हेरिएको छ।

यस महाधिवेशनमा पहिलो पटक सबै पदाधिकारीहरू निर्वाचनको विधिबाट चयन हुँदैछन्।

केन्द्रीय समितिको १३४ पदमा निर्वाचन हुनुपर्नेमा दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेस

तस्बिर स्रोत, RSS

चौध पदाधिकारीमा सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष छानिँदैछन्।

कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ।

कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनीत गर्न पाउँछन्।

अघिल्लो महाधिवेशनमा के भएको थियो?

विसं २०७२ साल फागुनमा भएको अघिल्लो महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी नल्याएपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बन्यो।

दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भए।

तेह्रौँ महाधिवेशनको दोस्रो चरणमा देउवाले १,८२२ मत प्राप्त गर्दा तात्कालिक कार्यवाहक सभापति पौडेलले १,२९६ मत ल्याएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कांग्रेस महाधिवेशन: 'पदाधिकारीमा पनि ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो'