नेपाली कांग्रेस: अङ्कमा जान्नुहोस् पार्टीको १४औँ महाधिवेशनका ९ खास कुरा

तीन तहका पछिल्ला चुनावसँगै नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन यसै साता सुरु हुँदैछ।
संविधानको मर्म अनुसार प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट चयन भएर आउने प्रतिनिधिहरूले आगामी चार वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्दैछन्।
के हुन् यस महाधिवेशनका विशेषता-
५०%: आधाभन्दा धेरै नयाँ क्रियाशील सदस्य
नेपाली कांग्रेसको महाधिवेशनलाई प्रत्यक्ष असर पार्ने क्रियाशील सदस्यहरू यसपटक झण्डै आठ लाख ४० हजार कायम गरिएको उक्त पार्टीको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए।
उनले भने, "क्रियाशील सदस्यमा यसपटक नविकरण गर्नेभन्दा केही प्रतिसतले नयाँ धेरै छन्।"
१३४: निर्वाचन हुने पद सङ्ख्या
यस महाधिवेशनमा पहिलोपटक सबै पदाधिकारीहरू निर्वाचित भएर चयन हुँदैछन्। केन्द्रीय समितिको १३४ पदमा निर्वाचन हुँदैछ।
१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन हुँदैछन्।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।
खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ।

तस्बिर स्रोत, RSS
३३: केन्द्रीय समितिमा मनोनित सदस्य सङ्ख्या
यसपटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ।
त्यसमा महिला, दलित, आदिवासी-जनजाति, मुस्लिम, थारू, मधेसी, खस-आर्य र पिछडिएको क्षेत्रलाई कांग्रेसको विधानले समेटेको छ।
कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन्।
४,७००: महाधिवेशन प्रतिनिधि
यस महाधिवेशनमा करिब ४,७०० महाधिवेशन प्रतिनिधिहरू छन्।
१६५ निर्वाचन क्षेत्रका हिसाबले प्रत्येकबाट २६ जना, जनसम्पर्क समितिबाट झण्डै १३० जना, भातृ संस्था तथा शुभेच्छुक संस्था एवं विद्यामन केन्द्रीय समितिको १०३ जना गरेर महाधिवेशन प्रतिनिधिका रूपमा रहनेछन्।
प्रदेश नम्बर दुईका केही जिल्लाको भने अझै प्रतिनिधिको टुङ्गो लाग्न बाँकी रहेको कांग्रेसले जनाएको छ।
कांग्रेसको महाधिवेशन सबैभन्दा तल वडाबाट अधिवेशन सुरु हुन्छ।
वडा तहमा विजयी भएकाहरू निर्वाचन क्षेत्रमा चुनाव जितेपछि मात्र महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न पाउँछन्।
महाधिवेशन प्रतिनिधिहरू मात्र केन्द्रीय समितिका पदहरूमा उठ्न र मतदान गर्न पाउँछन्।
जनसम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्थाबाट भने एकैपटकमा निर्वाचित वा सहमतिमा प्रतिनिधिहरू आउन सक्छन्।
प्रदेशमा जित्ने केन्द्रमा उठ्न मिल्छ?
प्रदेश अधिवेशनमा जित्नेहरूले केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिए भने उनीहरूको तल्लो तहको पद स्वत: खारेज हुनेछ।
प्रदेश, क्षेत्र वा जिल्ला तहका पार्टीका चुनावमा पराजित हुनेहरू केन्द्रीय कार्यसमितिमा उम्मेदवार हुन सक्दैनन्।
३: कार्यपत्र प्रस्तुत हुने
शुक्रवार काठमाण्डूको भृकुटीमण्डपमा हुने उद्घाटन समारोह लगत्तै हुने बन्द सत्रमा महामन्त्रीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुँदैछन्।
त्यसबाहेक महाधिवेशनले पारित गर्नुपर्ने केही विषयहरू कार्यपत्र मार्फत् प्रस्तुत हुँदैछन्।
३: कोभिडबाट बच्च 'महाधिवेशन झोला'मा हुने कुरा
ओमिक्रोन भाइरस नेपालमा समेत देखा परिसकेको परिप्रेक्षमा यस महाधिवेशनमा त्यसबाट बच्नका लागि केही सामग्री महाधिवेशनको झोलामै राखिएको छ।
केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली भन्छन्, "त्यसमा एन-९५/सर्जिकल मास्क, स्यानेटाइजर र अनुहार छेक्ने फेसशील्ड समेत राखिनेछ।"
४ देखि ५ करोड: महाधिवेशनको अनुमानित खर्च
उपत्यकाका तीन जिल्लाका प्रतिनिधिबाहेकलाई नेपाली कांग्रेसले होटलको व्यवस्था गरेको जनाएको छ।
आवास, खानपान र अन्य व्यवस्थापन गरेर ४ देखि ५ करोड रूपैयाँ बीचमा खर्च हुने अनुमान गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।








