नेपाली कांग्रेस: के शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्ने प्रयास सफल होला?

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनका बेलादेखि सबै कालखण्डमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो। कैयौँ प्रभावशाली र विश्वासपात्र नेताले छाड्दा उनी देउवासँगै थिए।

यस पटक भने उनले महाधिवेशनको मुखमा आफैँ उम्मेदवार बन्ने घोषणा दोहोर्‍याएका छन्। नेता निधिका अनुसार गत वर्षको साउन २९ गते नै उनले देउवालाई भेटेर त्यो जानकारी दिइसकेका थिए।

उनै नेता निधिले सोमवार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। कतिपयले कांग्रेसमा नयाँ ध्रुवीकरणले आकार लिन थालेको ठानेका छन्।

बीपी कोइराला र गणेशमान सिंहका छोराहरूसँग परामर्श गरेका निधि अर्का वरिष्ठ नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

‘अघि बढ्नुहोस्’

पार्टी सभापतिमा उठ्ने आकाङ्क्षा देखाएका कोइराला र सिंहसँगको छलफलपछि निधिले युवा नेताहरूसँग सामूहिक भेटघाट गरेका थिए। त्यसमा अधिकांश नेताहरू सभापति देउवाइतर खेमाका थिए।

देउवाका विश्वासपात्र निधिले देउवालाई नै चुनौती बन्न सक्ने आफ्नो अग्रसरमा साथ दिन ती युवा नेताहरूलाई आग्रह गरे।

छलफलमा सहभागी नेत्री सरिता प्रसाईँ भन्छिन्, “म सभापतिमा लड्दैछु भनेपछि हामीले दोस्रो पुस्तामा नेतृत्व आउँछ भने त त्यो ऊर्जाशील कुरा हो। राम्रो कुरा हो, 'गो अहेड' अघि बढ्नुहोस् भन्यौँ।”

उनका अनुसार निधिलाई शशाङ्क कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला ‘सबै सँगै बसेर सल्लाह गर्न’ सुझाव दिइएको थियो।

सहभागी नेताहरूका अनुसार निधिले ‘अघिल्लो महाधिवेशनमा देउवाले साथ दिन आग्रह गर्दै आउँदो महाधिवेशनमा आफूलाई साथ दिने वचन दिएको’ सुनाएका थिए।

पुस्तान्तरणमा ‘नयाँ फड्को’

तर बीबीसीसँगको अनौपचारिक कुराकानीमा देउवा निकटस्थ नेताहरूले उक्त कुरा अस्वीकार गरेका छन्। देउवा स्वयंले त्यसबारे केही बोलेका छैनन्।

नेता त्रय कांग्रेसका प्रभावशाली नेताहरूका छोराहरू हुन्

तस्बिर स्रोत, Bimlalendra Nidhi's Secretariat

तस्बिरको क्याप्शन, नेतात्रय नेपाली कांग्रेसका तीन दिवङ्गत नेताका छोरा हुन्

कारण जेसुकै भए पनि अर्का नेता प्रदीप पौडेलले निधिको अग्रसरतलाई ‘पुस्तान्तरणको आफूहरूको पुरानो प्रस्तावमा उनको आगमन’ ठानेका छन्।

“सैद्धान्तिक रूपमा हामीले उठाउँदै आएको विषयमा उहाँ तयार हुनुभयो भन्ने हिसाबले तपाईँ अगाडि बढ्नुहोस्, थप छलफल गर्न सक्छौँ भन्यौँ,” पौडेलले बताए।

छलफलमा निम्त्याइएका धेरै युवा नेता अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको पक्षका थिए।

दोस्रो पुस्ताबाटै तीन-चारजना उम्मेदवार बनेमा त्यसको लाभ त खासगरी देउवालाई पुग्ने कतिपय ठान्छन्। त्यसबारे प्रदीप पौडेलले भने, “उम्मेदवार धेरै हुने होइन कि पुस्तान्तरणको कुरा परिणाममुखी हुनेगरी यसबीचमा अभ्यास त गर्छौँ।”

मानार्थको सम्मानको खोजी?

नेपाली कांग्रेसमा राजनीतिक यात्राका हिसाबले प्रकाशमान सिंहभन्दा विमलेन्द्र निधि अगाडि हुन्। तर पछि सिंहले निधिलाई महामन्त्रीको निर्वाचनमा पराजित गरे।

ती दुवैभन्दा शशाङ्क र शेखर कोइराला सक्रिय राजनीतिमा धेरैपछि आएका हुन्।

रामचन्द्र पौडेल

तस्बिर स्रोत, RSS

त्यसैले प्रकाशमानले रामचन्द्र पौडेलबाहेक कोइराला परिवारका सदस्यलाई नछाड्ने कतिपयको ठम्याइ छ।

पार्टी प्रमुख जो भए पनि एकताका बीपी, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायको प्रभाव थियो। पछि वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराई देखिए र बीपीको निधन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासहित नेतात्रयको अवधारणामा नेपाली काङ्ग्रेस हिँडेको थियो।

त्यसैले कतिपयले कैयौँ नेताको आकाङ्क्षालाई नेतात्रयको अवधारणाअनुरूप शक्तिअभ्यासमा प्रवेश गर्ने जमर्को ठानेका छन्। सङ्गठनमा बलियो प्रभाव नभए पनि अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा ओर्लिएकै कारण देउवाले निर्णायक बैठक वा अवसरमा निकटमत प्रतिद्वन्द्वी रामचन्द्र पौडेलसँगै सिटौलालाई स्थान दिने गरेको जानकारहरू बताउँछन्।

निधिको प्रयासलाई पनि कतिपयले शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई साथ लिएर त्यो हैसियत स्थापित गर्ने प्रयास ठानेका छन्।