कांग्रेस राजनीति: सर्वसम्मतिमा नेतृत्व चयन कति सम्भव?

तस्बिर स्रोत, RSS
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वसम्मतिमा पार्टी नेतृत्व चयन गर्नुपर्ने मत सार्वनजिक गरेपछि उक्त दलभित्र सानोतिनो तरङ्ग देखा परेको छ।
त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन जनाएको समाचार आएका छन्।
अघिल्लो महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई विफल चुनौती दिएका पौडेल पनि भावी सभापतिका आकाङ्क्षी हुन्।
निधि भने देउवालाई लामो समयदेखि साथ दिँदै आएका नेता हुन्।
फेरि सभापति बन्ने तयारीमा रहेका भनिएका देउवालाई निधिले भेटेरै आगामी महाधिवेशनमा आफूलाई समर्थन गर्न आग्रह गरेको बताइएको छ।
'सर्वसम्मति असम्भव'
त्यस्तो स्थितिमा निधि आफैले अघि सारेको सर्वसम्मतिको निम्ति आफ्नो आकाङ्क्षा त्याग्लान्?
त्यसबारे उनले अहिल्यै केही टिप्पणी नगर्ने बताउँदै भने, "यो सैद्धान्तिक कुरा हो। पहिले यसमा नेतृत्वका आकाङ्क्षीबीच सिद्धान्तत: सहमति भएपछि यसको ढाँचा र स्वरूपबारे छलफल हुने हो।"
तर अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका नेता कृष्णप्रसाद सिटौला भने त्यो सम्भावना फिटिक्कै देख्दैनन्।
गृहजिल्ला झापामा रहेका उनले भने, "सर्वसम्मत सम्भव देखेको छैन। कुन नेताले प्रस्ताव राख्नु भयो र कुन नेताले त्यसमा प्रतिक्रिया जनाउनु भयो म छक्क परेको छु।
वरिष्ठ नेता पौडेल निकटस्थले भने त्यसलाई सकारात्मक ठानेका छन्। नेता नवीन्द्रराज जोशी पनि त्यसलाई सिद्धान्तत: एकदमै राम्रो विकल्प ठान्छन्।
उनी भन्छन्, "तर कति न्याय सङ्गत हुने र कस्तो मापदण्डबाट बनाउने भन्ने पेचिलो प्रश्न छ। त्यस्तो मापदण्ड र सूत्र आयो भने सर्वसम्मत हुनसक्ला तर अहिलेको स्थितिमा म त्यो सम्भावना देख्दिन।"
'वैचारिक एकता सर्वसम्मतिको आधार'
नेता निधिका भनाइमा पार्टीभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका आधारभूत चरित्रलाई स्वीकार गर्दै रक्षाको निम्ति एकताको खाँचो छ।
उनले पहिल्याएका नौवटा आधार हुन्: राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र अहिंसा-शान्तिको बाटो।
"त्यसमाथि अहिलेको कम्युनिस्ट सरकारबाट खतरा छ," निधि भन्छन्, "यी नौवटा सूत्रमा हामी स्पष्ट र प्रतिबद्ध हुनुपर्यो। त्यो सर्वसम्मतिको एउटा आधार हो।"
देउवाका विश्वासपात्र अर्का नेता गोपालमान श्रेष्ठले बीबीसीसँग कुरा गर्दै प्रादेशिक संरचना र धर्मनिरपेक्षता खारेजीको पक्षमा अभिव्यक्ति दिएका थिए।
'सर्वसम्मतले ठूलो निराशा ल्याउँछ'
निधि र श्रेष्ठको अभिव्यक्तिले देउवा समूहभित्र वैचारिक मुद्दा पेचिलो बनेको सङ्केत दिएको कतिपयको बुझाइ पाइन्छ।
देशभरी स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा नेकपाको वर्चस्व छ।
कांग्रेसका सबै खेमाका नेताहरू नेकपा सरकार लोकतन्त्रलाई कमजोर पार्ने प्रयासमा रहेको, जनताका मुद्दालाई बेवास्ता गरेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँछन्।
तर 'नेकपालाई परास्त गर्न सर्वसम्मतिले पार्टीलाई एक बनाउने' तर्कमा नेता सिटौलामा रत्तिभर विश्वास देखिएन।
"आन्तरिक लोकतन्त्रको अभ्यासले एकता हुँदैन् भन्ने दृष्टिकोण नै गलत हो। आन्तरिक लोकतन्त्रले पार्टीभित्र एकता हुँदैन भने देशको लोकतन्त्रले देशमा कसरी एकता हुन्छ?," उनी भन्छन्।
"सर्वसम्मत भन्ने बहाना मात्रै हो, त्यसले एकदम ठूलो निराशा ल्याउँछ, पार्टीभित्र मनोबल गिराउँछ।"
'देउवाको विकल्पमा सर्वसम्मत'
देउवाको नाममा कुनै पनि हालतमा सहमति हुन नसक्ने उनी इतर नेताहरू बताउँछन्।
पौडेल पनि देउवाको नाममा सर्वसम्मत गर्न तयार हुने सम्भावना नरहेको बताइन्छ।
त्यसो भने उनीहरू देउवाको विकल्पमा मात्र सर्वसम्मति हुने सम्भावना देख्छन्?
नेता जोशी भन्छन्, "त्यसमा त भनिराख्नुपर्छ आवश्यक नै छ जस्तो लाग्छ, यो चार वर्षमा पार्टी जसरी चल्यो त्यो प्रक्रिया र प्रवृत्ति हेर्दा त्यही देखिन्छ।"
सिटौलाले अर्का नेता पौडेलको नाम पनि जोडे।
"शेरबहादुरजी र रामचन्द्रजीले भावना जागेर, समयलाई बुझेर आफै छाड्नु भयो भने बेग्लै विषय हो। तर उहाँहरूलाई पनि दबाव दिएर छोड् भन्नु उपयुक्त हुँदैन," उनले भने।
"प्रतिस्पर्धाबाटै नेतृत्व छनौट गर्नु पार्टीको बृहत्तर हितमा हुन्छ।"
महाधिवेशन अब वैशाखमा?
उनका बुझाइमा कसलाई सभापति बनाउन सर्वसम्मति हुन्छ भन्ने सजिलो विषय छैन्।
'त्यसैले त्यो असजिलो बाटो समय खर्च गर्नु व्यर्थ हुने' भन्दै उनले 'त्यतापट्टि लाग्नुभन्दा महाधिवेशन समयमै सम्पन्न गर्नु पार्टी हितमा हुने' बताए।
देउवा २०७२ साल फागुनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए।
'असाधारण स्थिति भएका केन्द्रीय कार्यसमितिले सोको कारण खोलेर बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने' पार्टी विधानमा व्यवस्था छ।
त्यस अनुसार नै देउवा र केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्दै आउँदो फागुनमा महाधिवेशन तोकिएको छ।
पौडेल समूहले अघिल्लो फागुनमै महाधिवेशन गराउन ठूलै कसरत गरे पनि तोकिएको तालिकाअनुसार काम नहुँदा आउँदो फागुनमा महाधिवेशन सारिएको हो।
तर फागुनमा पनि महाधिवेशन हुने सम्भावना नदेख्ने सिटौला वैशाखको तयारीमा लाग्नुपर्ने बताउँछन्।









