नेपाली कांग्रेस: सभापतिमा फेरि उठ्ने देउवाको संकेत

तस्बिर स्रोत, RSS
तीन वर्ष पनि कार्यकाल बाँकी नरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार वर्षपछि हुने निर्वाचनमा पार्टीलाई पहिलो बनाउने लक्ष्य सार्वजनिक गरेका छन्।
हेटौँडामा शुरु भएको पार्टीका जिल्ला सभापतिको भेलामा उनले दिएको अभिव्यक्तिलाई आफू फेरि सभापतिको उम्मेदवार बन्ने संकेत ठानिएको छ।
तर उनी निकट नेताले महाधिवेशन अझैं टाढा भएको भन्दै त्यसबारे चर्चा गर्ने बेला नभएको प्रतिक्रिया दिए।
गत वर्ष भएका तीन तहका चुनावबाट सानो आकारको प्रमुख प्रतिपक्षमा खुम्चिएपछि कांग्रेसभित्र नेतृत्वको विकल्पको आवाज उठिरहेका बेला सभापति शेरबहादुर देउवाले चुनावी हारका दुई कारण प्रस्तुत गरे।
फेरबदल
उनले दुई कम्युनिष्ट पार्टीको एकतालाई हारको प्रमुख र पार्टीभित्रकै अन्तर्घातलाई अर्को कारण बताए।

तस्बिर स्रोत, RSS
तर आफू विचलित नभएको बताउँदै देउवाले भने, "हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकीकरणले चुनौती थपिएको छ। तर म विचलित भएको छैन। मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने प्रण गरेको छु।"
सभापतिमा देउवाको कार्यकाल तीन वर्ष पनि बाँकी छैन, जबकि वर्तमान सत्ता समीकरणमा ठूलै फेरबदल नभए चारपछि चुनाव मात्र हुनेछ।
त्यसको अर्थ के देउवाले आफूलाई आगामी महाधिवेशनमा फेरि सभापतिको उम्मेदवारको रुपमा पेश गरेका हुन्?
देउवा निकट नेता बालकृष्ण खाँडले त्यसबारे चर्चा गर्ने बेला नआइसकेको बताउँदै भने, "उहाँले फेरि उम्मेदवार बन्ने इच्छा राख्नु भयो भने त्यो स्वाभाविक हो। तर अहिले देशभरका कार्यकर्तालाई उर्जाशील बनाउने र पार्टी संगठित र विस्तारित गर्ने, जनतालाई पनि लोकतन्त्रको रक्षा कांग्रेसले गर्न सक्छ भनेर आश्वस्त पार्दै त्यसमा जनताको ठूलो साथ र समर्थन पनि आवश्यक छ भन्ने सन्दर्भमा त्यो कुरा आएको हो।"
'अतिरञ्जित र अशोभनीय'
पार्टीभित्रको कतिपय असन्तुष्टिलाई स्वाभाविक रुपमा लिएको बताउँदै देउवाले कतिपय चाहिं अतिरञ्जित र अशोभनीय ढंगले उठ्ने गरेको टिप्पणी गरे।
आफूलाई चुनौती दिनेहरुलाई जवाफ दिए झैँ लाग्ने गरी देउवाले पहिलो संविधानसभामा पनि पार्टी पराजित हुन पुगेको पृष्ठभूमि प्रस्तुत गरेका थिए।

तस्बिर स्रोत, .
कम्युनिष्ट पार्टीका चारजना प्रधानमन्त्री हुँदा पनि नबनेको संविधान कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको भन्दै उनले आफ्ना पूर्ववर्ती सुशील कोइरालाई श्रेय दिए।
तत्कालीन माओवादी केन्द्रको साथ पाएको केपी ओली नेतृत्वको सरकारले गराउन नसकेको तीन तहको चुनाव पनि माओवादीसँग मिलेर गराएको भन्दै देउवाले नयाँ संविधान कार्यान्वयन गराउने हकदारको रुपमा आफूलाई उभ्याए।

तस्बिर स्रोत, .
लडाईँ
तर त्यसपछिको निर्वाचन हारेको भन्दै आलोचना गर्नेहरु लक्षित जवाफमा उनले भने, "हामीले एउटा लडाईँ हारेका छौ। मैदान हारेका छैनौँ। यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौँ। यस अर्थमा हाम्रो विचारले जितेको छ।"
दुई वर्षअघि सम्पन्न कांग्रेसको महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए।
तर महाधिवेशनमा बनेका समीकरण पनि हेरफेर भएका खबर आइरहेका छन्।
त्यो झल्को जिल्ला सभापतिहरुको भेलामा पनि देखिएको बताइएको छ।








