नेपाली कांग्रेस १४औँ महाधिवेशन: २९ वटा मतपत्रमा मतदान, परिणामको प्रतीक्षा 'बढीमा १० दिन'

मनोनयन दर्ता गर्ने ठाउँ

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएको छ।

एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि आधा घण्टादेखि एक घण्टासम्मको समय लाग्न सक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।

"सभापति, हरेक पदाधिकारी र फरक समूहबाट उम्मेदवार बन्नेहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाउनुपर्ने भएकाले २९ वटा मतपत्र हुन्छन्। हामीले मतपत्र खसाल्ने ठाउँहरू पनि २९ वटा नै बनाएका छौँ," उनले भने।

कांग्रेसको पार्टी विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुन: मतदान गरिनुपर्छ।

"हामीले सभापतिको मतगणना मतदान समाप्त भएपछि लगत्तै सुरु गर्छौँ र कुनै पनि उम्मेदवारको ५० प्रतिशत नपुगेको अवस्थामा २८ गते यथाशीघ्र पुन मतदानको व्यवस्था गर्छौँ," घिमिरेले भने।

सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा गर्ने निर्वाचन समितिको तयारी छ।

कसरी हुन्छ मतदान

महाधिवेशनस्थलमा आगामी सोमवार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

त्यसअघि शनिवार साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको छ। शनिवार नै दाबी विरोधको समय सकिएपछि राति १२ बजे प्रकाशित गर्ने कार्यसूची छ।

आइतवार ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ। त्यसपछि बाँकी रहेका उम्मेदवारको नामावली प्रकाशित गरेर त्यसै आधारमा मतपत्र तयार गरिने निर्वाचन समितिले जनाएको छ।

मतपत्र हाल्ने ढ्वाङ ल्याइँदै

तस्बिर स्रोत, RSS

मतदाताको भिडका आधारमा मतदानको अन्तिम समय निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ।

मतदाताले हरेक मतपत्रमा आफ्नो उम्मेदवारको नामसँगै ठिक चिन्ह लगाएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

कांग्रेसले वडा अधिवेशनदेखि नै उम्मेदवारका नाममा ठिक चिन्ह लगाएर मतदान गर्दै आएको छ।

मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ। तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।

मतदान सुरु भएको ५ देखि ७ घण्टामा सकिने अनुमान गरिएको संयोजक घिमिरेले जानकारी दिए।

कांग्रेस प्रतिनिधिले सभापति सहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह-महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नेछन्।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९-९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४ मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ।

परिणाम आउन कतिदिन?

मतपत्र हाल्ने ढ्वाङ

तस्बिर स्रोत, RSS

संयोजक घिमिरेले यो महाधिवेशनमा एक साताभित्रै मतगणनाको परिणाम सार्वजनिक गरिसक्ने आफूहरूको लक्ष्य रहेको बताए। अघिल्लो महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम आउन दुई हप्तासम्म लागेको थियो।

निर्वाचन अधिकृत एकराज पोखरेलले मतगणना सक्न बढीमा १० दिनसम्म लाग्न सक्ने जानकारी दिए। सबैभन्दा अन्तिममा खुला केन्द्रीय सदस्यको मतगणना गर्ने योजना निर्वाचन समितिको छ।

कांग्रेसमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने पार्टी विधानको व्यवस्था छ। उम्मेदवारहरूले पार्टी कार्यालयबाट आफ्नो सदस्यता अवधि प्रमाणित गरेर ल्याएपछि मात्रै मनोनयन दर्ता गर्न पाउने निर्वाचन समितिले जनाएको छ।