नेपाल शेअर बजारः माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिको आलोचना, ओरालो लागेको बजारमा केही सुधार

तस्बिर स्रोत, RSS
सत्ताधारी गठबन्धनको एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत शनिवार पुँजीबजारबारे दिएको एउटा अभिव्यक्तिले नेपालको अर्थराजनीतिक क्षेत्रमा एकखाले तरङ्ग उत्पन्न गरिदिएको छ।
विशेषगरी पुँजीबजारका सानादेखि ठूलासम्म लगानीकर्ताहरूले प्रचण्डको अभिव्यक्तिलाई "गैरजिम्मेवार" भन्दै सच्याउन माग गरिरहेका छन्। तर कतिपयले उनको अभिव्यक्तिको समर्थन गरेको पनि देखिएको छ।
प्रचण्डका स्वकीय सचिवले चाहिँ "माओवादीले साना लगानीकर्ताको सुरक्षाका लागि पहल गर्ने तर प्रचण्डको भनाइ सैद्धान्तिक रूपमा सही भएको" बताएका छन्।
बीबीसीले कुराकानी गरेका नेपाल राष्ट्र ब्याङ्कका दुईजना पूर्व गभर्नरमध्ये एकले प्रचण्डको अभिव्यक्तिलाई "गैरजिम्मेवार" भन्दै सत्ता साझेदार दलको नेता भएकाले प्रधानमन्त्रीले उनलाई अभिव्यक्ति सच्याउन लगाउनुपर्ने बताएका छन्।
तर अर्का पूर्वगभर्नरका दृष्टिमा प्रचण्डले सैद्धान्तिक रूपमा बोलेको कुरालाई "त्यति धेरै महत्त्व दिनुपर्ने र होहाल्ला गर्नुपर्ने अवस्था" छैन।
प्रचण्डले के भनेका थिए?
आफ्नै पार्टीसँग सम्बन्धित एउटा कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले गत शनिवार शेअर बजारबारे पनि बोलेका थिए।
तर उनले नेपाली शेअर बजारको अहिलेको अवस्थालाई लक्षित गरेर भन्दा पनि विश्व अर्थतन्त्रमा अहिले देखिएको प्रवृत्तिबारे व्याख्या गर्दै शेअर बजारको प्रसङ्ग उल्लेख गरेका थिए।
प्रचण्डका भनाइमा विश्वमा अहिले "भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद" देखा परेको छ।
उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै "वित्तीय एकाधिकार पुँजीवाद"लाई परास्त गर्ने जिम्मा "तपाईँ हाम्रो काँधमा आएको छ," भनेका थिए।
उक्त कार्यक्रममा उनले भने, "पहिलेपहिले पुँजीको लगानी उद्योगमा हुन्थ्यो। उत्पादनमा हुन्थ्यो र त्यहाँबाट आउने नाफा चाहिँ पुँजीपतिहरूले लिन्थे। आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन। … पुँजीको लगानी पुँजीमै हुन्छ। पुँजीको लगानी पुँजीमा हुने वित्तीय पुँजीवादको मुख्य विशेषता भएर देखा पर्यो।"

"अहिले तपाईँले हेर्नुभयो भने यो धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व ब्याङ्क, एशियाली ब्याङ्क - यी तपाईँ हामीले हेर्दा 'ब्याङ्क हुन्, पैसा यताउता गर्छन्' भन्छौँ, होइन त्यति सजिलो। यी साम्राज्यवादका विकसित रूपहरू हुन्।"
उनले यो प्रवृत्ति विश्वभरि नै देखिएको र ब्याङ्कहरूले पुँजी थुपारेर घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको बताएका थिए।
प्रचण्डले भने, "यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकट्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसङ्ख्यालाई भोकोनाङ्गो राख्ने प्रणाली हो।"
उनले अब आफूहरूले "भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद"सँग लड्ने तरिकाको खोजी गर्नुपर्ने बेला आएको बताएका थिए।
कसले गरे प्रचण्डलाई प्रश्न?
उक्त अभिव्यक्तिपछि प्रचण्डले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा तिखो आलोचनाको सामना गर्नुपरेको छ।
नेपालमा केही समयदेखि ओरालो लागिरहेको शेअर बजारलाई अझ तल झार्नका निम्ति उनको अभिव्यक्तिले भूमिका खेल्ने भन्दै कैयौँले प्रचण्डलाई उक्त भनाइ सच्याउन आग्रह पनि गरेका छन्।
तर केही समयदेखि ओरालो लागेको शेअर बजारमा मङ्गलवार भने सुधार आएको छ। मङ्गलवार बजार खुलेपछि ६ प्रतिशतले वृद्धि भएपछि दिउँसोदेखि मङ्गलवारका लागि कारोबार नै बन्द गरिएको छ।
सामाजिक सञ्जालमा प्रचण्डको आलोचना गर्नेहरूमा सर्वासधारण, शेअर लगानीकर्तादेखि भूतपूर्व अर्थमन्त्री पनि छन्।
त्यस्तै एउटा सानो दल विवेकशील साझा पार्टीले त वक्तव्य नै जारी गरेर उनको आलोचना गरेको छ।
पूर्वअर्थमन्त्री पनि रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका एक वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै प्रचण्डको आलोचना गरेका छन्।

उनले लेखेका छन्, "माओवादीका नेता पुष्पकमल दाहालजीले पुँजी बजारमा लगानी गर्नु सम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन्। विगतका केही वर्षमा चीनमा भएको पुँजी बजारको विस्तार पनि के सम्राज्यवादको विकसित रूप हो? ठोकेर केही कुरा बोल्नुअगाडि प्रचण्डजीले अलि चिन्तन गरे कसो होला?"
प्रचण्डको उक्त अभिव्यक्तिपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अर्थशास्त्री विश्व पौडेलले पनि फेसबुकमा लेख्दै पुँजी बजारबारे विभिन्न जानकारी दिएका छन्।
उनले प्रचण्डको भनाइ खण्डन हुनेगरी लेखेका छन्,"… शेअर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो। यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो।"
उनले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको नेतृत्वकर्ताहरूलाई पनि सुझाव दिएका छन्।
पौडेलले लेखेका छन्, "राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वलाई मेरो सल्लाह सधैँ पुँजी बजारको बारेमा कम बोल्ने र ब्याजदर सकेसम्म स्थिर बनाउन कोसिस गर्ने गर्नुहोस् भन्ने नै छ।"
"धेरै जनताको पैसा लगानी भएको क्षेत्रको बारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरूको सम्पत्तिप्रति हाम्रो गैरजिम्मेवारीपन मात्र देखाउँछ।"
के भन्छन् पूर्वगभर्नर?
उक्त विषयमा बीबीसीले कुराकानी गरेका नेपाल राष्ट्र ब्याङ्कका दुई पूर्वगभर्नरबीच मत फरक देखिएको छ।
एक जनाले प्रचण्डल भनाइ सच्याउनुपर्ने र उनले नसच्याए सत्ता गठबन्धनमा रहेकाले प्रधानमन्त्रीले उनलाई भनाइ सच्याउन लगाउनुपर्ने बताएका छन्।
अर्का पूर्वगभर्नरले चाहिँ अहिले पुँजी बजारलाई प्रत्यक्ष असर गर्ने स्थानमा नभएका व्यक्तिले दिएको अभिव्यक्तिबारे धेरै हल्लाखल्ला गरिरहनुपर्ने आवश्यकता नरहेको बताए।
पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपालमा "वामपन्थी विचारधारा"का व्यक्तिहरू सत्तामा आउँदा पुँजी बजारमा प्रहार हुने गरेको बताए।
उनी कतिपयले नबुझेर र कतिले चाहिँ बुझेर पनि शेअर बजारविरुद्ध बोल्ने गरेको पाइएको बताउँछन्।
नेपालका भनाइमा पुँजी बजार उत्पादनमूलक होइन भन्नु भनेको अल्पज्ञान भएको बताए।
"उत्पादनमूलक उद्योग पनि पब्लिकमा गएर पुँजी बजारमा जान्छन् भन्ने पनि हेर्नुपर्यो नि!" उनले भने।

नेपाल अहिले प्रचण्डले बोलेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोध्नुपर्ने र भनाइ सच्याउन लगाउनुपर्ने बताउँछन्।
उनले भने, "कि कांग्रेसले खुला बजार अर्थतन्त्र मान्दिन भन्नुपर्यो, होइन भने सत्ता गठबन्धनमा रहेको र नीतिगत प्रभाव पार्ने ठाउँमा भएको व्यक्तिले बोल्दा कांग्रेसले सच्याउनुपर्छ।"
"प्रचण्डहरूको त सिद्धान्त हो भन्नुभयो होला, तर कांग्रेसले त बोल्नुपर्यो नि!"
अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री चाहिँ प्रचण्डले बोलेको कुरालाई "धेरै होहल्ला गर्नुपर्ने विषय" नभएको बताउँछन्।
उनका भनाइमा प्रचण्ड गठबन्धन सरकारको एउटा दलको नेता भए पनि शेअर बजारबारे उनको अभिव्यक्तिको "कुनै तुक हुँदैन"।
क्षेत्री भन्छन्, "यो विषयलाई यत्रो धेरै ठूलो बनाउनु पर्ने विषय नै होइन। उहाँ (प्रचण्ड)हरू त त्यही सिद्धान्तबाट आउनुभएको हो। त्यसलाई उहाँले सैद्धान्तिक आधारमा मात्र भन्नुभयो, व्याख्या गर्न पाउनुभएन। तर बजारले त्यसलाई अर्को रूपमा लियो र गालीमा ओर्लियो।"
"जसले शेअर बजारको अन्तर्य बुझेको छ त्यसलाई यस्तो बाहिरबाट आउनु अभिव्यक्तिले त्यसलाई असर गर्दैन।"
उनले कसैले कागले कान लग्यो भन्दैमा कागको पछि दौडिनु नहुने बताए।
के भन्छन्विज्ञ?
शेअरविज्ञ र लगानीकर्ताका भनाइमा पछिल्लो मौद्रिक नीति शेअर कर्जामा केही कडाइ गर्ने खालको नीति लिएपछि नेपालको शेअर बजारमा नकारत्मक असर परिरहेको छ।
त्यसलाई प्रचण्डको अभिव्यक्तिले थप बल दिएको उनीहरूको भनाइ छ।
एकजना शेअरविज्ञ रवीन्द्र भट्टराई भन्छन्, "प्रचण्डको भनाइका कारण लगानीकर्तामा त्रास उत्पन्न भएको जस्तो देखिन्छ। यदि प्रचण्ड सत्ता गठबन्धनमा नभएको र उनको पार्टीको अर्थमन्त्री नभएको भए त्यो खतरा हुँदैन थियो।"
प्रचण्डको अभिव्यक्तिपछि पुँजी बजारमा त्यसको नकारात्मक असर देखिइसकेको उनको भनाइ छ।
माओवादी र अन्य वामपन्थी दलहरूले पुँजी बजारलाई नकारात्मक रूपमा नै लिने गरेको देखिएको स्मरण गर्दै उनी भन्छन्, "पुँजी बजार भनेको पुँजी लगाउने मात्र होइन लगानी गर्ने माध्यम पनि हो।"
उनी नेताहरूले नबुझेर शेअर बजारलाई सामन्तवाद भन्ने गरेको बताउँछन्।
उनी प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए।

"यो अनुत्पादक हो भनेर सरकारको एउटा पार्टी वा त्यसको नेताले त्यस्तो भनेर सर्वसाधारणको सम्पत्तिमाथि जोखिम उत्पन्न गाउनु हुँदैन," उनले भने।
नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले चाहिँ प्रचण्डले नबुझेर मात्र भन्दा पुँजी बजारप्रति अनुदार भएर त्यस्तो अभिव्यक्ति दिएको आरोप लगाएको छ।
नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले भनिन्, "प्रचण्डको अभिव्यक्तिले यो बजार साच्चै पुँजीपतिको मात्र छ भन्नेजस्तो लगानीकर्ताको मनमा पर्यो। तर यो पुँजीपतिको मात्र होइन, यो बजारमा गृहिणीहरूले घरखर्च कटाएर लगानी गरेका छन्। साग बेचेर बनाएको पैसाले र विद्यार्थीले पकेट खर्च कटाएर पनि लगानी गर्छन्।"
उनले प्रचण्डको उक्त भनाइ आएपछि सत्ता गठबन्धनको अर्को दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूहरूले "प्रचण्डलाई उक्त अभिव्यक्ति फिर्ता लिइदिन" आग्रह गरिदिन भनेको जानकारी पनि दिइन्।
सोमवार नेपाललाई भेटेर उक्त आग्रह गरिएको र नेपालले "प्रचण्डले अन्जानमा बोलेको हुनसक्ने" भन्दै आफूले त्यसबारे उनीसँग कुरा गर्ने आश्वासन दिएको पोखरेलले बताइन्।
यसअघि कस्ता विवाद थिए?
नेताहरूले शेअर बजारबारे नेताहरूले दिएका अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको यो पहिलो पटक भने होइन।
माओवादी नेतृत्वको पहिलो सरकार बनेका बेला बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए।
त्यस बेला उनले शेअर बजारलाई "जुवाघर" भनेपछि विवाद उत्पन्न भएको थियो।
त्यसबेला शेअर बजार नियामक धितोपत्र बोर्डका अध्यक्ष रहेका चिरञ्जीवी नेपालले अर्थमन्त्रीसँग असहमति जनाउँदै राजीनामा दिएका थिए।
तर "त्यस बेला कुरा नबुझेका भट्टराईले अहिले बुझिसकेको" नेपालको तर्क छ।
त्यस्तै गभर्नर हुँदा र अर्थमन्त्री बन्दा समेत अर्थशास्त्र बुझेका मानिने युवराज खतिवडाले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो।
उनले पनि शेअर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए। कतिपय लगानीकर्ताले त्यसको विरोध पनि जनाएका थिए।
त्यस्तै खतिवडाले "सट्टेबाजका कारण शेअर बजार सुन्निएको अर्थतन्त्रको ऐना" जस्तो बनेको भनेका थिए। त्यसले पनि निकै विवाद निम्त्याएको थियो।
के भन्छ प्रचण्डको सचिवालय?
यस पटक प्रचण्डको अभिव्यक्तिले विवाद निम्त्याएपछि उनका स्वकीय सचिवले त्यसबारे प्रष्टीकरण दिने प्रयास गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
आइतवार साँझ ट्वीट गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, "पुँजी बजारबारे अध्यक्ष कमरेड प्रचण्डले हिजो (शनिवार) राखेको सैद्धान्तिक विषय एकदम सही छ।"
"यद्यपि अहिलेको नेपाली पुँजी/शेअर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौँ।"









