टर्की: मुद्रास्फीतिप्रति राष्ट्रपति एर्दोआन किन चिन्तित छैनन्

स्तानबुलको मुद्रा सटही केन्द्र

तस्बिर स्रोत, Getty Images

    • Author, ओज्गे ओज्देमिर
    • Role, बीबीसी टर्किश

टर्कीको मुद्रामा यो वर्ष डलरको तुलनामा ४५ प्रतिशतले अवमूल्यन भएको देखिएको छ। तर राष्ट्रपति रेजेप तय्यीप एर्दोआन यो कुराले अलिकति पनि विचलित देखिँदैनन्।

लिरामा आएको गिरावट यो हप्ता नयाँ बिन्दुमा पुग्दा पनि टर्कीका लामो समयदेखिका नेता न्यून ब्याजदर कायम गरेर स्वतन्त्रताको आर्थिक लडाइँमा जोड दिइरहेका छन्।

त्यसो भए आलोचकहरूले मूल्यवृद्धि, बेरोजगारी र गरिबी बढ्ने चेतावनी दिइरहँदा पनि एर्दोआन किन यही पद्धतिमा जोड दिइरहेका छन् अनि यसको असर टर्क्स भनिने टर्कीका जनतालाई कस्तो परिरहेको छ?

परम्परामा क्रमभङ्ग

टर्कीको लिरामा गिरावट आउनुको कारण सामान्य छ। टर्कीको आर्थिक वृद्धि र प्रतिस्पर्धी मुद्राहरूसँग निर्यात सम्भाव्यता बढाउन कम ब्याजदर कायम राख्ने परम्परागत आर्थिक नीति।

धेरै अर्थविद्हरूका लागि मूल्यवृद्धि रोक्ने उपाय ब्याजदर बढाउनु हो। तर एर्दोआन ब्याजदर धनीलाई थप धनी र गरिबलाई अझ गरिब बनाउने खराब तत्त्वको रूपमा हेर्छन्।

"सबै कुरा असाध्यै महँगो छ," सेभिम यिलदिरिमले स्थानीय एक फलफूल पसलमा बीबीसीसँग भने। "यो भाउमा त परिवारलाई खाना खुवाउन नै असम्भव भइसक्यो।"

टर्कीमा वार्षिक मूल्यवृद्धि १७ प्रतिशतसम्मले बढेको छ। तर एर्दोआनले हस्तक्षेप गरेको टर्कीको केन्द्रीय ब्याङ्कले हालै वर्षको तेस्रो पटक ब्याजदर घटाएर १६ बाट १५ प्रतिशतमा झारेको छ।

खानेकुरादेखि कपडासम्मका सामग्रीसम्मको उत्पादनका लागि टर्कीको अर्थतन्त्र आयातमा निर्भर रहेका कारण डलरसँग लिरा कमजोर हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताले प्रयोग गर्ने सामग्रीमा पर्ने बताइन्छ।

उदाहरणका लागि टर्की व्यञ्जनका लागि गोलभेँडा नभई हुँदैन। तर गोलभेँडा उत्पादनका लागि किसानहरूले मल र ग्यास आयात गर्नुपर्छ।

मर्कामा उत्पादक

अगस्ट महिनामा गोलभेँडाको मूल्य विगतको तुलनामा ७५ प्रतिशतले बढेको दक्षिणी तटीय क्षेत्रको एन्टल्यान्स्थित कृषि केन्द्रको वाणिज्य सङ्घले जनाएको छ।

"हामीले यसबाट अब कसरी पैसा कमाउने?" इस्तानबुलबाट गाडीमा तीन घण्टाको दूरीमा पर्ने पामुकोभाका अङ्गुर खेती गरिरहेकी किसान सदिए कलेसीको प्रश्न छ।

"हामीले बेच्ने सामान सस्तोमा दिनुपर्छ। तर किन्नुपर्ने सामानको भाउ महँगो भइसक्यो।" डिजेल, मल र अङ्गुरमा हाल्ने सल्फरको मूल्य महँगो भएको उनको गुनासो छ।

अर्की किसान फेरिने तुफान सङ्कटबाट उम्किन आफूहरूसँग भएको सम्पत्ति बेच्नुबाहेक आफूसँग विकल्प नभएको बताउँछिन्।

"हामी हाम्रो जमिन र अङ्गुर बारी बेचेर ऋण त तिर्न सकौँला। तर भएको सबै बेचेर त्यसपछि चाहिँ हामीसँग के बाँकी रहन्छ?"

मुद्रा यति अस्थिर भएको छ कि मूल्य हरेक दिनजसो फरक पर्ने गरेको छ। उत्पादनहरूको मात्रै मूल्यवृद्धि ५० प्रतिशतले वृद्धि भएको छ।

"मैले मेरो अधिकांश खर्च कटौती गरिसकेँ। नियमित खर्च तिर्नका लागि सबैले कम खाने र सामानहरू नकिन्ने," एउटा शपिङ मार्केटबाहिर भेटिएका हाकन आयरनले भने।

सुपर मार्केटका कर्मचारीहरूले यसअघिको मूल्य र बढेको मूल्य देखिने गरी मूल्यवृद्धिको सूचना सामाजिक सञ्जालमा हालेका छन्।

स्तानबुलको मुद्रा सटही केन्द्र

तस्बिर स्रोत, EPA

परिकारमा प्रयोग हुने नौनीजस्तै मार्जरिन, जैतुनको तेल, चिया, कफी, साबुनदेखि ट्वाइलेट पेपरसम्मको मूल्य बढेको छ।

टर्कीमा एउटा बेकरीले पीठो, तेल, चिनी लगायतका सामग्रीको लागत बढेको भन्दै मूल्यवृद्धिको सूचना टाँसेको छ। जसमा लेखिएको छ, "ईश्वरले हामीलाई साथ दिऊन्।"

विदेशी मुद्रामा लिएको ऋणका कारण कतिपय निजी क्षेत्र समस्यामा परेका छन्। लिराको अस्थिरता र बढ्दो मूल्यवृद्धिका कारण धेरैजसो कम्पनीहरूले उत्पादित सामग्रीहरू बजार पठाउन भन्दा गोदाममै भण्डारण गरेर राख्न थालेका छन्।

यी सबै परिस्थितिका कारण गरिबी बढ्नुका साथै र आम्दानी र आर्थिक असमानताको अन्तर बढ्ने अनुमान गरिएको छ।

युवा टर्क्स क्रुद्ध

सस्तोमा पाउरोटी दिइरहेका स्थानीय सरकारी कार्यालय र पेट्रोल पम्पहरूमा लाइनहरू बढ्दै गएका छन्।

मध्यावधि निर्वाचनको माग गर्दै विपक्षी दलहरूले प्रदर्शन जारी छ। गत नोभेम्बर २३ मा लिरामा एकै दिन १८ प्रतिशतले गिरावट आउँदा स-साना प्रदर्शनहरू भए पनि दर्जनौँलाई पक्राउ गरियो।

टर्कीका युवाहरूको सबैभन्दा असन्तुष्टि सामाजिक सञ्जाल ट्विटर, ट्वीच लाइभ, टिकटक र यूट्यूबमा देख्न प्रस्ट देखिन्छ।

"म यो सरकारसँग पटक्कै खुसी छैन। यो देशमा मेरो भविष्य नै देख्न सकिरहेको छैन," एक युवाले यूट्यूबमा च्यानलका संवाददातालाई भनेका छन्।

टर्कीका हरेक पाँचमध्ये एक युवा बेरोजगार छन्। युवा महिलाहरूमा यो दर अझै बढी छ।

आर्थिक विकाससम्बन्धी एक अन्तरसरकारी संस्थाका अनुसार टर्की युवाहरू रोजगारी र शिक्षा वा तालिमहरूमा सबैभन्दा कम भएको देशमा टर्की पाँचौँ स्थानमा छ।

अङ्गुरको बगैँचामा किसान तुफान

टर्कीका युवाहरू अरू देशका युवाहरूको जीवनस्तरसँग तुलना गर्दै आफ्नो देशको अवस्था देखेर असन्तुष्ट छन्।

"अमेरिका र युरोपमा एउटा युवाले आफ्नो तलबबाट सजिलै आईफोन किन्नसक्छ। तर मैले महिनौँसम्म काम गरेर पनि त्यो किन्न सक्दिनँ त्यो हैसियत नै बनाउन सक्दिनँ," एक १८ वर्षीय युवाले भने।

सन् २००२ बाट एर्दोआनको जस्टिस एण्ट डेभलपमेन्ट पार्टीले शासन गरिरहेको टर्कीमा यो पुस्ताले राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ।

सन् १९९० को दशकको अन्त्यतिर जन्मिएका ९० लाख युवाहरू सन् २०२३ मा हुने निर्वाचनमा मतदानका लागि योग्य हुँदैछन् जसले एर्दोआनको पार्टीलाई चुनौती दिनसक्ने बताइएको छ।

आमाले राष्ट्रपति एर्दोआनको प्रशंसा गरिरहँदा हालैको विपद्‌हरूमा कमजोर व्यवस्थापन देखाएर उनका आठ वर्षीय छोराले असहमति राखेको एउटा भिडिओ भाइरल भएको छ।

अनुमान लगाउन कठिन

सत्तारूढ पार्टी सन् २००८ को आर्थिक सङ्कटपछि ओइरिएको विदेशी अनुदानका आधारमा सफल भएको थियो।

तर टर्कीको आर्थिक उन्नतिको अधिकांश हिस्सा सरकारी खर्च र निर्माण व्यवसायले धान्यो। परिणाम स्वरूप उत्पादन आयातमा निर्भर रह्यो भने अर्थतन्त्र मुद्राको उतारचढावमा भर पर्‍यो।

एर्दोआनको आर्थिक शैलीले टर्कीस लिराको उद्धार हुनेमा एकदमै थोरैले मात्र आशा कायम राखेका छन्। अर्थशास्त्री अर्दा टुन्काका अनुसार अब के हुन्छ भन्ने अनुमान लगाउन निकै कठिन छ।

"हामीले आर्थिक सिद्धान्त बाहिरको शैली प्रयोग गरेको यो नै पहिलो पटक हो। यसअघि सङ्कट हुँदा पनि हामी के हुनसक्छ भन्ने अनुमान लगाउन सक्थ्यौँ। तर अहिले त्यो असम्भव छ," उनले भने।