पैसाबारे दम्पती र साथीहरूबीच हुने विवादका चार कारण

पैसा

तस्बिर स्रोत, Getty Images

के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि?

हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ; यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन। र यसको कुराकानीको अन्त्य सधैँ राम्रो हुँदैन।

हालै ब्रिटेनमा गरिएको एउटा अध्ययनका अनुसार सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो।

र यसको असर दम्पतीमा मात्र सीमित हुँदैन। यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको समेत कारण हो। र यस्तो अवस्थाको समाधान भनेको कुराकानी र पैसाबारे इमानदारी र खुला छलफल हो।

तर विवादको मुख्य कारणहरू के के हो?

तपाईँ खर्चालु हुनुहुन्छ या बचत गर्नुहुन्छ?

पैसा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ

मानिसहरूबीच पैसाको विषयमा विवाद उत्पन्न हुनुको एउटा प्रमुख कारण भनेको यसको विषयमा उनीहरूको फरक दृष्टिकोण हो।

त्यस्तो दृष्टिकोणको निर्माण बाल्यकालदेखि नै हुन्छ जुन घरेलु वातावरण र अनुभवबाट सिर्जित हुन्छ।

तर यसको अर्थ तपाईँले सधैँ आफ्ना अभिभावकको सिको गर्नुहुन्छ भन्ने भने होइन। उदाहरणका लागी तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने पछि गएर तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ।

र हामी पैसालाई यसको लेनदेनसँग सम्बन्धित सुविधाभन्दा माथि राखेर यसलाई अर्थपूर्ण बनाउँछौँ।

हामी मध्ये केहीका लागि पैसाले सुरक्षा प्रदान गर्छ भने केहीका लागि यसले स्वतन्त्रता प्रदान गर्छ। अन्य केहीका हकमा भने यसले हैसियत र शक्तिको प्रत्याभूति दिलाउँछ।

यसै कारण पैसासँगको हाम्रो सम्बन्ध जटिल हुन्छ र यसको छाप गहिरो हुन्छ। र त्यसले पैसाबारे फरक धारणा राख्ने मानिससँग भेट हुँदा निराशा उत्पन्न गराउन सक्छ।

तपाईँ आफ्ना साथीसँगीले नयाँ लुगा वा रात्रिकालीन मनोरञ्जनमा पैसा खर्च गरेको नरुचाउन सक्नुहुन्छ। तपाईँको साथीसँगी भने पैसाबारे तपाईँको सोच साँघुरो हुन नहुने र कहिलेकाहीँ मनग्य खर्च गर्नुपर्छ भन्ने हुन सक्छ।

सम्पत्ति बाँडफाँट

पैसा बारे छलफल

तस्बिर स्रोत, Getty Images

नयाँ सम्बन्ध सुरु गर्दा 'मेरो पैसा' र 'तिम्रो पैसा'लाई 'हाम्रो पैसा' बनाउन जटिल हुनसक्छ।

आफूहरूको पैसा कसरी बाँड्ने भन्ने विषयमा निर्णय लिने कुरा तिक्ततापूर्ण हुनसक्छ। पैसा आधाआधा गर्ने कुरा सधैँ उचित नलाग्न सक्छ।

त्यस्तो अवस्थामा तपाईँहरू दुवै जनालाई मान्य हुने कुरा के हुन सक्ला?

त्यस्तै अवस्था परिवर्तन हुँदा पैसा बारे फेरी छलफल गर्नुपर्ने हुनसक्छ। जस्तो नयाँ बच्चा जन्मेको अवस्थामा वा जागिर नभएको अवस्थामा। यस्तो अवस्थामा के उचित होला?

तपाईँहरू मध्ये एक जनासँग बाबुबाजे बाट प्राप्त भएको धनराशि छ। के तपाईँ त्यो बाँड्नुहुन्छ?

तपाईँसँग साथीभन्दा कम पैसा छ भने त्यसले तपाईँको सम्बन्धमा शक्तिको असन्तुलन उत्पन्न गराउन सक्छ। अरूमा भर पर्नुपर्दा निराशा महसुस हुनसक्छ।

अविश्वास

तनाव

तस्बिर स्रोत, Getty Images

"यस्तो महसुस भइरहेको थियो कि उनी भिसा (कार्ड) सँग सम्बन्धमा थिइन।"

"उनी हाम्रो वैवाहिक सम्बन्ध बाहिर मोजमस्ती गरिरहेकी थिइन," बीबीसी रेडियोका श्रोता जेम्स भन्छन्।

आफ्नी पत्नीले थाहै नदिई क्रेडिट कार्डको प्रयोग गरेर हजारौँ पाउन्ड खर्च गरेको थाहा पाएपछि उनले आफूमाथि धोका भएको महसुस गरे।

जब तपाईँ कुनैपनि सम्बन्ध सुरु गर्नुहुन्छ, एकआपसमा विश्वासको स्तर उच्च हुन्छ। तपाईँ आफ्नो साझेदारमाथि विश्वास गर्नुहुन्छ।

तर पैसालाई हेर्ने दृष्टिकोण फरक परेको अवस्थामा भने उक्त विश्वासमाथि असर पर्नसक्छ।

त्यसकारण पनि तपाईँ आफ्नो खर्च गर्ने बानी बारे इमानदार हुनपर्छ र पैसा अनि खर्चबारे तपाईँलाई के लाग्छ भन्ने कुरा खुला रूपमा छलफल गर्न तयार हुनुपर्छ।

पैसा सापटी

पैसा

तस्बिर स्रोत, Getty Images

कसैले तपाईँसँग पैसा सापट माग्यो भने के गर्नुहुन्छ?

ऋण माग्ने अप्ठयारो अवस्थामा रहेका साथी हुन सक्छन् वा घर मर्मत गर्न वा नयाँ गाडी किन्न थप रकमको आवश्यकता परेको आफन्त हुन सक्छन्।

तपाईँले उनीहरूलाई निष्फिक्री ऋण सहयोग गर्न सक्नुहुन्छ। तर उनीहरूले त्यस्तो सहयोगलाई उपहारको रूपमा लिएर फिर्ता नगर्न पनि सक्छन्।

त्यस्तो अवस्थामा के होला?

यदि तपाईँ कसैलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने प्रस्ट रूपमा कुराकानी गर्न आवश्यक हुन्छ। गलत बुझाइ नहोस् भनेर सहमति के हो भन्ने विषयमा प्रस्ट हुनुस्।

line

पैसा जोगाउने केही तरिका:

growing money

तस्बिर स्रोत, Getty Images

  • उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस्। र आवश्यक परेको बेला मात्र किन्नुस्। एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।
  • प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।
  • खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।
  • सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।
  • प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।
  • अनावश्यक कुरा बेच्नुस।
  • ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।
line

यो सामग्री बीबीसी रेडिओ ४ को मनी क्लीनीक कार्यक्रममा आधारित हो।

line