केपी ओली: प्रमले प्रचण्डमाथि लगाएका मुख्य आरोप; आरोपप्रत्यारोपको प्रवृत्तिबारे राजनीतिशास्त्री के भन्छन्

तस्बिर स्रोत, PM's Secretariat
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमवार राजनीतिक प्रतिवेदन पेस गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कैयौँ आरोप लगाएका छन्।
गत फागुनमा सर्वोच्च अदालतको एउटा फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको डेढ महिनापछि ओलीले प्रचण्डबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा 'कब्जा गर्ने' प्रयासदेखि उनी 'हताश भएको'सम्म आरोप लगाएका छन्।
नेकपा अस्तित्वमै रहेका बेला केही महिनाअघि प्रचण्डले पछिल्लो पटक ओलीलाई 'एकाधिकारवादी' र 'गुटवादी' भएको लगायतका आरोप लगाएका थिए।
तत्कालीन पार्टी सचिवालयमा पेस गरेको एउटा प्रस्तावमा उनले भनेका थिएः "आफू अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेतालाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्की र चरित्रहत्या जस्ता घृणित हतियार प्रयोग गर्न वहाँ [ओली] हिचकिचाउनुभएन।"
राजनीतिशास्त्री के भन्छन्?
खासगरी कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूबीच आरोपप्रत्यारोप बढी हुने गरेको पाइएको कतिपय राजनीतिशास्त्री बताउँछन्।
"सोभियत सङ्घदेखि नेपालकै कम्युनिस्ट पार्टीहरूको इतिहास हेर्नुहुन्छ भने नेताहरूले एकअर्कामाथि गम्भीर आरोप लगाउने गरेको पाउन सक्नुहुन्छ," राजनीतिशास्त्री कृष्ण खनालले मङ्गलवार भने।
"कम्युनिस्ट नेताहरूबीच नै अरूभन्दा आफूलाई उच्च कम्युनिस्ट ठान्ने प्रवृत्ति एकदमै धेरै देखिन्छ।"
नेपालमा त्यस्ता नेताहरूले लगाउने आरोपहरूमा 'अराजनीतिक' भाषा पनि प्रयोग हुने गरेको प्राध्यापक खनालको ठम्याइ छ।

तस्बिर स्रोत, RSS
"वैचारिक अस्पष्टता, नीतिका कुरा नभएपछि अरूलाई गाली गर्न सजिलो हुन्छ। एक ठाउँमा हुँदा प्रशंसाको पहाड खडा गर्ने र स्वार्थ नमिल्दा छुट्टिएपछि नेताहरू व्यक्तिगत गालीमा ओर्लिने गरेको देखिन्छ," उनले थपे।
अर्का राजनीतिशास्त्री कृष्ण पोखरेल पनि पछिल्लो समय नेताहरूले 'तल्लो स्तरमा ओर्लिएर' एकअर्कामाथि आरोप लगाउन थालेको कुरामा सहमत देखिन्छ।
"पहिलापहिला सैद्धान्तिक र राजनीतिक आरोपप्रत्यारोप हुन्थे भने खासगरी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि नेताहरू व्यक्तिगत र चरित्रसम्बन्धी आरोपप्रत्यारोपमा ओर्लिएको देखिन्छ," उनले भने।

ओलीले प्रचण्डमाथि लगाएका मुख्य आरोप
ओलीले सोमवार पेस राजनीतिक प्रतिवेदनमा लगाइएका आरोपहरू:
- …प्रचण्ड सहितका नेताहरूको ध्यान 'आलोपालो' 'भागबण्डा' र 'राम्रो'लाई होइन हाम्रोलाई अगाडि बढाउनेमा रह्यो। …यी सबै काम एकीकरणलाई सही ढङ्गले निष्कर्षमा पुर्याउने होइन पार्टी 'कब्जा' गर्ने मनसायबाट प्रेरित थिए।
- प्रचण्डसहित पार्टीका कतिपय नेताबाट राजनीतिक 'अस्थिरता सिर्जना गर्ने', सरकारका सकारात्मक काम र उपलब्धिलाई 'ओझेलमा पार्ने', विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा 'नैराश्य फैलाउने' एवं नेपालको बाह्य सम्बन्धमा 'समस्या सिर्जना गर्ने' खालका गतिविधि गरिए।
- …पार्टीमा 'जबर्जस्ती अन्तरविरोध सिर्जना गर्ने', त्यही अन्तरविरोधमा खेल्ने र सके पार्टी 'कब्जा गर्ने' नभए विभाजित प्रचण्डको प्रयोगात्मक प्रयास अगाडि बढ्दै गयो। दुर्भाग्यावश एमालेका कतिपय नेता नै प्रचण्डको त्यो 'दाउपेचमा सहयोगी र संवाहक' बन्नुभयो।
- प्रचण्ड र माधव नेपालहरूले सर्वोच्च अदालतमाथि लगाएका आरोप सही होइनन्। जोसँग मिलेर एकता गर्ने हो वा एकता सम्भव हुने हो त्यस पार्टीको आग्रहलाई इन्कार गर्ने तर अदालतमा पार्टी मिलाइदेऊ गुहार माग्न जाने, यो रवैया 'हताश र एकताविरोधी मनस्थितिको प्रकट रूप नै हो'।
- बेलाबेला प्रचण्डबाट प्रकट हुने अर्को 'जनयुद्ध' अर्को 'विद्रोह'का अभिव्यक्ति 'हताशा' अभिव्यक्तिबाहेक केही होइनन्। 'हताश' बन्दै गएको माओवादी केन्द्रको भूमिका आगामी दिनमा झनै 'नकारात्मक' एवं विभिन्न 'शक्ति केन्द्रका सहयोगी हुने सम्भावना' छ।

कार्यकर्ताहरूबीच 'कडा छवि' भएको देखाउनलाई पनि नेताहरूमा त्यस्तो प्रवृत्ति हावी भएको हुनसक्ने पोखरेलको आकलन छ।
"कसैले आरोप लगायो भने हाम्रा नेता पनि कडा जवाफ दिनसक्ने रहेछन् भन्ने देखाउनलाई पनि त्यसरी आरोपप्रत्यारोपमा ओर्लिने गरेको हुनसक्छ।"
प्रधानमन्त्री ओलीले प्रचण्डमाथि लगाएका पछिल्ला आरोपतर्फ इङ्गित गर्दै पोखरेलले थपे, "आफ्नो पार्टीको राजनीतिक प्रतिवेदनमा अरूलाई आरोप लगाउँदा आफू चोखो भइन्छ। कार्यकर्तामाझ चोखो हुनलाई पनि त्यसरी आरोप लगाइन्छ।"








