एमाले महाधिवेशन: केपी शर्मा ओली फेरि पार्टी अध्यक्ष निर्वाचित

तस्बिर स्रोत, RSS
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्ष पदमा नेता केपी शर्मा ओली निर्वाचित भएका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई शपथ खुवाएका छन्।
चितवनको सौराहामा जारी दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
मङ्गलवार बिहान विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो।
महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए।
खसेको मतमध्ये ओलीले १,८३७ ल्याएकाले उनी विजयी भएका हुन्। रावलको पक्षमा २२३ मत खसेको छ।
काठमाण्डूमा आयोजित नवौँ महाधिवेशनमा ओलीले माधव नेपाललाई झिनो मतान्तरले पराजित गरेर अध्यक्ष निर्वाचित भएका थिए।
विजयी भएपछि ओलीले के भने?

तस्बिर स्रोत, RSS
शपथ ग्रहण पश्चात् मन्तव्य दिने क्रममा ओलीले पार्टीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। लगत्तै पार्टीको १०औँ केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने पनि उनले जानकारी दिएका थिए।
पार्टीको केन्द्रीय कमिटीले छिट्टै पोलिटब्युरो र स्थायी कमिटी बनाउने ओलीले सम्बोधनका क्रममा बताए।
''स्थायी कमिटी मार्फत, पोलिटब्युरो मार्फत र केन्द्रीय कमिटी मार्फत हामी विभिन्न ढङ्गका गतिविधिहरू, आन्दोलनहरू, अभियानहरू अनेक सञ्चालन गरेर जनताकाबीचमा जानेछौँ,'' उनले भने।
ओलीले अबको तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने उद्घोष गरे। त्यस अन्तर्गत कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउने उनले जानकारी दिए।
''यो पार्टी-पार्टी भेला गराएर हुँदैन। कार्यकर्ता भेला गर्नुपर्छ। त्यही हो एकता, त्यही हो एकीकरण।,'' उनले थपे। ''विभिन्न पार्टीबाट हामीले कार्यकर्ता ल्याउनुपर्छ, प्रवेश गराउनुपर्छ र एउटा अभियान सृजना गरेर पार्टीलाई माथि उठाउनुपर्छ।''

तस्बिर स्रोत, RSS
उपाध्यक्ष पदमा के भयो?
महाधिवेशनमा ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका छ जनाबाहेक घनश्याम भुसालको पनि उम्मेदवारी परेकाले उक्त पदका लागि पनि निर्वाचन भएको थियो।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १,९७६ मत ल्याएकी छन्।
त्यस्तै नेता सुरेन्द्र पाण्डेले १,९२५, सुवास नेम्वाङले १,८६५, विष्णु पौडेलले १,८५६, युवराज ज्ञवालीले १,८४२ अनि रामबहादुर थापाले १,७६८ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीमा माओवादी पृष्ठभूमिका नेता थापा पार्टी विभाजन हुँदा एमालेतिर लागेका थिए।
पराजित भएका भुसालले भने ७२५ मत प्राप्त गरेका छन्।
सचिवमा को को विजयी भए?
त्यस्तै एमालेको सचिव पदमा गोकर्ण विष्टले सबैभन्दा बढी १,९७४ मत प्राप्त गरेका छन्।
विजयी हुने नेताहरूमा योगेश भट्टराई (१,९६० मत), पद्मा अर्याल (१,७९९ मत), छविलाल विश्वकर्मा (१,८०३ मत), लेखराज भट्ट (१,७०४ मत), टोप बहादुर रायमाझी (१,८०४ मत) र रघुवीर महासेठले (१,५०० मत) ल्याएका छन्।
७८८ मत ल्याएका भीम आचार्य र ५५९ मत प्राप्त गरेका टङ्क कार्की पराजित भएका छन्।
मतदान सुरु हुनु अघि के भएको थियो?
आइतवार राति ओलीले ३०१ जनाको केन्द्रीय समिति सदस्यको नामावली सार्वजनिक गरेका थिए।
तर उनले सार्वजनिक गरेको केन्द्रीय समिति सदस्य र १९ जना पदाधिकारीको नामावलीमा आफू नपरेपछि केही नेताले असहमति व्यक्त गरेका थिए।
सर्वसम्मतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास विफल भएसँगै मङ्गलवार बिहान विभिन्न पदका लागि मतदान भएको थियो।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान भएको हो।
यसअघि सोमवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा नेता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ अनि विष्णु रिमाल सर्वसम्मत निर्वाचित भएका थिए।
नेता भीम रावलले लोकतान्त्रिक पद्धतिका लागि उम्मेदवारी दिएको र परिणाम जे भए पनि स्वीकार्ने बताएका थिए।








