एमाले महाधिवेशन: माधवकुमार नेपाल र झलनाथ खनाल बिनाको महाधिवेशनबारे कार्यकर्ताको दुखमनाउ

एमाले

तस्बिर स्रोत, RSS

    • Author, माधव नेपाल
    • Role, चितवन

भूमिगतदेखि खुला राजनीतिमा आउँदासम्म करिब चार दशकदेखि प्रतिस्पर्धा र सहकार्य गर्दै आएका नेकपा एमालेका कतिपय महत्त्वपूर्ण नेताहरूलाई चितवनमा सुरु भएको पार्टीको दशौँ महाधिवेशनमा नदेख्दा तल्लो तहका कार्यकर्ताहरूले दुखमनाउ गरेका छन्।

यसअघिका महाधिवेशनहरूमा हालका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका माधवकुमार नेपाल र झालनाथ खनालले अर्को पार्टी गठन गरी सकेका छन् भने अर्का वरिष्ठ नेता वामदेव गौतम पनि एमालेबाट अलग्गिएका छन्।

विसं २०७१ मा काठमाण्डूमा भएको नवौँ महाधिवेशनमा ओलीसँग पराजित भएपछि बिग्रिएको नेपाल र ओलीको सम्बन्ध त्यसपछि कहिल्यै राम्रो हुन सकेन।

नेताहरूबीच सम्बन्ध जेजस्तो कारणले बिग्रे पनि महाधिवेशनमा आएका कार्यकर्ताहरू भने त्यसप्रति दुखी भएको देखियो।

विसं २०४६ देखि एमालेमा सक्रिय स्याङ्जाका गुप्त खाँड भन्छन्, "वरिष्ठ नेताहरूले पार्टी छाड्दा दुख लागेको छ।"

"जेजस्तो समस्या आए पनि पार्टी नै छाड्नुभन्दा त्यहीँ बसेर आन्तरिक प्रतिस्पर्धा गर्नु पर्ने थियो।"

करिब १५ वर्षसम्म पार्टीको महासचिव हुँदा ओलीले नेपाललाई सहयोग नै गरेको कतिपय कार्यकर्ता बताउँछन्।

महत्त्वाकाङ्क्षा

विसं २०६५ मा बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि यी नेताबीच कुनै समस्या नभएको बताइन्छ।

विसं २०३५ सालदेखि राजनीतिमा लागेका बझाङका गोरखबहादुर विक नेपालको महत्त्वाकाङ्क्षाले अहिलेको अवस्था आएको दाबी गर्छन्।

एमाले

तस्बिर स्रोत, RSS

उनी भन्छन्, "केपी ओलीले यही महाधिवेशनबाट पार्टी अध्यक्षमा नलड्ने घोषणा गर्नु भएकै थियो तर माधव नेपालहरूले छोटो समय पनि पर्खन सक्नु भएन। यसले पार्टीलाई ठूलो क्षति पुर्‍याएको छ।"

दाङबाट आएका हेमबहादुर थापाले नेपालहरूले पार्टी छाड्दा दुख लागेको बताउँदै नछाडेको भए कार्यकर्तामा थप उत्साह हुने बताए।

थापा भन्छन्, "हामी तल्लो तहबाट पार्टीलाई माया गरिरहेका थियौँ। नेताहरूबीच किन मायो मर्‍यो बुझिएन।"

ओलीप्रति असन्तुष्ट नेपाल लगायतका नेताहरूले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर गएको भदौदेखि एमालेसँग औपचारिक रूपमै अलग भएका छन् ।

अडिओ क्याप्शन सुरु हुँदैछ, दलविहीन बनेका वामदेव गौतम भन्छन्- ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा त जान्नँ’