एमाले महाधिवेशन: भारतबाट भाजपा र कङ्ग्रेसका वरिष्ठ नेताको सहभागिता, चीनबाट सन्देश मात्र

एमाले महाधिवेशन उद्घाटनका लागि बनाइएको मञ्च
तस्बिरको क्याप्शन, एमाले महाधिवेशन उद्घाटनका लागि बनाइएको मञ्च

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको शुक्रवार एक समारोहबीच चितवनमा उद्घाटन हुँदैछ।

पार्टी विभाजनपछि पहिलोपटक हुन लागेको उक्त महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

महाधिवेशनमा आगामी आइतवार मतदान हुने र सोमवार नयाँ नेतृत्वको घोषणा गर्ने तालिका छ।

चितवनको नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनका लागि अधिकांश जिल्लाबाट प्रतिनिधिहरू पुगिसकेको बताइएको छ।

आयोजक समितिसहित २,३०० प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने नेताहरूले बताएका छन्।

एमालेका सल्लाहकारसहित पुराना र पाका १०३ जना नेताहरूलाई पर्यवेक्षकका रूपमा महाधिवेशनमा बोलाइएको बताइएको छ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डेले भने, "ट्याक्कै २,३०० हाम्रा प्रतिनिधि रहेका छन्। सबै टुङ्गो लागेर नाम पनि आइसकेको छ। उद्घाटन समारोह साढे १२ बजे आरम्भ हुनेछ।"

"११ गते उम्मेदवारी र उम्मेदवारी फिर्ता लिनेजस्ता प्रक्रिया सुरु हुनेछ। १२ गते बिहान ८ बजेदेखि मतदानको प्रक्रिया सुरु हुनेछ। भोटिङ मेसिन पनि आइसकेको छ। १३ गते नयाँ नेतृत्वको घोषणा हुनेछ।"

अरू दललाई निम्तो

महाधिवेशनको उद्घाटन कार्यक्रममा संसद्‌मा रहेका अन्य दललाई बोलाइए पनि केहीअघि एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निम्तो नदिइएको बुझिएको छ।

निम्तो पाएका दलका नेताहरू उक्त समारोहमा सहभागी हुने एमाले नेताहरूले जानकारी दिएका छन्।

ओली र प्रचण्ड

तस्बिर स्रोत, PM's Secretariat

तस्बिरको क्याप्शन, महाधिवेशनमा शुभकामना दिन प्रचण्ड नजाने बताइएको छ

उनीहरूका भनाइमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उद्घाटन समारोहमा शुभकामना दिन उपस्थित हुनेछन्।

नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार उक्त पार्टीले स्थायी कमिटी सदस्यमध्ये एक जनालाई एमालेको महाधिवेशनमा शुभकामना दिन पठाउने निर्णय भएको छ।

त्यस्तै उक्त समारोहमा राप्रपाका एक अध्यक्ष कमल थापा र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतको पनि सहभागिता हुने बताइएको छ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात दललाई निम्तो दिइएकोमा पाँच वटा दलबाट प्रतिनिधित्व हुने जानकारी प्राप्त भएको बताए।

विदेशबाट सहभागिता

भट्टराईका अनुसार एमालेको महाधिवेशनमा विदेशी मुलुकबाट पनि नेताहरू आउने भएका छन्।

"विदेशबाट चार देशका आठ राजनीतिक दलहरूले हाम्रो सम्मेलनमा आफैँ उपस्थित भएर शुभकामना सन्देश दिनुहुने छ भने २६/२७ वटा विभिन्न मुलुकका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाउनु भएको छ," उनले भने।

भट्टराईका अनुसार छिमेकी भारतबाट सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी भारतीय कङ्ग्रेस पार्टीका नेताहरूको प्रत्यक्ष सहभागिता हुने भएको छ।

"हाम्रो महाधिवेशनमा भारतको सत्ताधारी भाजपाबाट पूर्वमन्त्री हर्षवर्धन गोयलको नेतृत्वमा नेताहरू आइसक्नु भएको छ," शुक्रवार बिहान भट्टराईले बीबीसीसँग भने।

"कङ्ग्रेस आईका तर्फबाट पनि पूर्वमन्त्री अखिलेशप्रसाद सिंहको नेतृत्वमा सोनिया गान्धीको सन्देशसहित टोली आउँदैछ।"

त्यस्तै भारतीय कम्युनिस्ट पार्टीसहित अन्य थप दुई दलका नेताहरू पनि महाधिवेशनमा शुभकामना दिन उपस्थित हुने भट्टराईले जानकारी दिए।

त्यसबाहेक बाङ्ग्लादेशबाट त्यहाँको कम्युनिस्ट पार्टी र श्रीलङ्काको एउटा दलका नेताहरू पनि महाधिवेशनमा उपस्थित हुनेछन्।

त्यस्तै कम्बोडियाको सत्ताधारी दलका नेता पनि कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए।

चीनबाट सन्देश मात्र

दक्षिणी छिमेकी भारतबाट सत्ताधारी र विपक्षी दलबाटै मन्त्री भइसकेका वरिष्ठ नेताहरूले सहभागिता जनाउने तय भए पनि उत्तरी छिमेकी चीनबाट भने प्रत्यक्ष रूपमा नेताहरू सहभागी नहुने भएका छन्।

कम्युनिस्ट पार्टीको सत्ता भएको भए पनि नेपालको एउटा कम्युनिस्ट दलको महाधिवेशनमा पनि चिनियाँ कम्युनिस्ट नेताहरू सहभागी नहुने भएका हुन्।

भट्टराईले भने, "कोरोनाभाइरसका कारण चीनबाट चाहिँ नेताहरू प्रत्यक्ष रूपमा सहभागी हुनुहुने छैन।"

उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले चाहिँ एमालेलाई सन्देश मात्र पठाएको छ।

उक्त पार्टीको केन्द्रीय कमिटीको तर्फबाट पठाइएको सन्देश प्राप्त भएको भट्टराईले जानकारी दिए।

एमाले महाधिवेशनको लोगो

तस्बिर स्रोत, CPNUML

तस्बिरको क्याप्शन, एमाले महाधिवेशनको लोगो

उत्तर कोरियालाई पनि निम्तो

एमालेले आफ्नो महाधिवेशनमा सहभागिताका लागि विश्वभरिका कम्युनिस्टसहित अन्य र कैयौँ देशका सत्ताधारी दलहरूलाई निम्तो पठाएको थियो।

निम्तो प्राप्त गरेका धेरैले एमालेलाई शुभकामना सन्देश पठाएका छन्।

भट्टराईले दिएको जानकारी अनुसार एमालेलाई जापान, जर्मनी, टर्की, ग्रीस लगायतका देशबाट विभिन्न दलहरूले शुभकामना सन्देश पठाएका छन्।

तर निम्तो पठाइएको कम्युनिस्ट शासन भएको उत्तर कोरियाको सत्ताधारी दल र त्यसका नेताहरूका तर्फबाट अहिलेसम्म सन्देश प्राप्त नभएको उनले बताए।

त्यस्तै अमेरिकाबाट पनि शुभकामना सन्देश प्राप्त भएको छैन।

राजमार्गमा अवरोध

एमाले महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्ग र नारायणगढबाट काठमाण्डू प्रवेश गर्ने सडकमा अवरोध हुने विवरणहरू आइरहेका छन्।

तर चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अति आवश्यक सवारीसाधन आवतजावतका लागि वैकल्पिक व्यवस्था मिलाइएको बताएका छन्।

उनले भने, "मृत्यु संस्कार, विवाह संस्कार अत्यावश्यक जरुरी काम छ दमकल, एम्बुलेन्सका लागि हामीले वैकल्पिक रुट बनाएका छौँ। त्यो रुटबाट हामी एक्सेस दिन्छौँ।"

"ठूला मालवाहक गाडीहरू होल्ड गर्नु भनेका छौँ। यात्रुवाहकहरूको पनि अलिकति कम गरिदिनु भनेका छौँ।"

उनले उद्घाटनका दिन केही घण्टाका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए।

अडिओ क्याप्शन सुरु हुँदैछ, दलविहीन बनेका वामदेव गौतम भन्छन्- ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा त जान्नँ’

नेपाल-खनाल नहुने महाधिवेशन

एमालेले पहिले नै विधान अधिवेशन गरिसकेको छ। त्यसैले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताइएको छ।

पहिलेका महाधिवेशनमा एमालेमा प्यानल बनाएर चुनाव लड्ने गरेको देखिएको थियो।

तर यसपटक पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एमालेमा छैनन्।

त्यसले गर्दा प्यानल बनाएर चुनाव लड्ने अवस्था नहुने बताइएको छ।

यद्यपि एमाले उपाध्यक्ष रहेका भीम रावलले पार्टी अध्यक्षका लागि र अन्य कतिपय नेताहरूले पदाधिकारीका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

तर वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सहमतिमै नेतृत्व चयन हुने बताउँदै आएका छन्।