नेपाल पर्वतारोहणः भारी बोकेर जो आरोहीलाई हिमाल चढ्न सघाउँछन्

तस्बिर स्रोत, Thiring Sherpa
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
छिरिङ शेर्पाले हिमाल चढ्ने आरोहीहरूको भारी बोक्न थालेको छ वर्ष भयो। उनी १९ वर्षको उमेरमा पहिलो पटक भरिया बनेर मनास्लु पुगेका थिए।
अहिले २५ वर्ष लागेका उनी 'हाई एल्टिच्यूड पोर्टर' अर्थात् आरोहीहरूको सामान बोकेर शिखरसम्मै पुग्ने सहयोगी भएका छन्।
कहिले अन्नपूर्णको फेदी, कहिले सगरमाथाको चुचुरो पुग्दा छिरिङ रमाउँछन्। तर उनका लागि हिमाल आरोहण रहर नभएर जीविकोपार्जन गर्न अँगाल्नुपरेको बाध्यता हो।
पछिल्लो पटक हिमाल, आरोही र आरोहणको कथा समेटिएको डकुमेन्ट्री 'फोर्टिन पिक्स' चर्चामा आएपछि छिरिङले पनि हेरे।
त्यहाँ देखाइएका दृश्य उनका लागि नौला थिएनन्। भरिया भए पनि छिरिङले सगरमाथा आरोहण गरिसकेका छन्।
उक्त वृत्तचित्रमा आरोहीहरू हिँड्दै गर्दा उनी कहिले हिउँपहिरो आएको कल्पिएर डराए त कहिले आफूले भर्खरै काटेको बाटोपछाडि फर्केर हेर्दा भत्किएको घटना सम्झिएर आत्तिए। आरोहीहरू चुचुरोमा पुग्दा छिरिङ रमाए।
निर्मल पुर्जा हिउँमा चिप्लिएर लड्दा उनले मन थाम्न सकेनन्। हिमालमा आफूले भोगेको त्यस्तै घटना सम्झिए।
सन् २०२१ को मे २३ तारिखमा छिरिङ एक जापानी आरोहीको सहयोगी बनेर सगरमाथा पहिलो शिविरबाट दोस्रो शिविरतर्फ उकालो लाग्दै थिए।
बाटोमा उनीहरूले आधार शिविरमा एकसाथ समय बिताएको समूह भेटियो। त्यहाँ उनीहरू निकै दुःखी र तनावग्रस्त देखिन्थे।

तस्बिर स्रोत, Thiring Sherpa
केही नजिक पुगेपछि थाहा पाए - चुचुरोमा पुगेर फर्किरहेको त्यस समूहका एक सहयोगी चिप्लिएर लडेका रहेछन्। उनको घटनास्थलमै मृत्यु भयो।
"म झसङ्ग भएँ। आफू पनि सहयोगी भएकाले हुनसक्छ मैले उसको ठाउँमा आफूलाई राखेर हेरेँ," उनी भन्छन्,"घटनाबारे न कतै समाचार आयो न शोकसभा नै आयोजना भयो। दुर्भाग्यवश ज्यान नै गए हाम्रो त नाम समेत बाँकी रहँदैन।"
नेपाली पर्वतारोहीले छ महिनाको अवधिमा विश्वका सर्वोच्च १४ वटा हिमाल आरोहण गरेकोबारे बनेको डकुमेन्ट्रीले आफूमा फरक ऊर्जा सञ्चार गरेको छिरिङ बताउँछन्।
त्यसमा निर्मल पुर्जाले आफ्नो सफलताको श्रेय उनीजस्तै सहयोगीहरूलाई पनि दिएका छन्।
"आरोहीको अगाडिपछाडि हामी हुन्छौँ। उनीहरूलाई आवश्यक सामान बोक्नदेखि अप्ठेरोमा आफूभित्रको डर लुकाएर उनीहरूको हात थाम्छौँ। तर तल झरिसकेपछि हाम्रो नाम समेत विरलैले सम्झन्छन्," उनी खुसी व्यक्त गर्दै भन्छन्,"त्यति चर्चित डकुमेन्ट्रीमा सहयोगीलाई दिइएको धन्यवाद आफैँले पाए सरह भयो।"
ओढ्ने, ओछ्याउने, खाना र अक्सिजनको भारीसँगै थोरै डर, धेरै जोस बोकेर हिमाल उक्लने यी सहयोगीहरूसँग फर्कँदा चुचुरो छुनुको खुसी र केही रकम बाहेक केही हुँदैन।
आरोहणको मौसममा कमाएको पैसाले बेमौसममा समेत गुजारा चलाउनुपर्ने छिरिङको कथन छ।
कोरोनाभाइरसको महामारी सुरु भएपछि त मौसममा समेत आरोहीहरू आउन पाएनन्।
आरोहणका क्रममा भारी बोक्नेदेखि खाना बनाउने र बाटो देखाउने सम्मको कमाइ ठप्प भयो। नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको चपेटामा पर्यो पर्वतारोहण पर्यटन पनि।
खुला भएपछि फाट्टफुट्ट आरोही त आए तर यस क्षेत्रमा सक्रिय सबैले काम पाउने सम्भावना थिएन। आफूले जापानी पर्यटकको सहयोगी हुन पाउनुलाई 'भाग्य' भन्छन् उनी।

तस्बिर स्रोत, Thiring Sherpa
उनी भन्छन्,"काम नभएपछि माम हुने कुरै भएन। जम्मा गरेको पैसा सुरुको लकडाउनमै सकियो। रासनपानी किन्न र कोठा भाडा तिर्नै गाह्रो हुन थालेपछि गाउँ (भोजपुर) गएर बसेको थिएँ।"
तर समस्यासँग भागेर हुँदैन भन्ने कुरा समयले बुझायो।
प्लस टू अध्ययनरत श्रीमतीको कलेजमा शुल्क तिर्नु पर्नेबारे पटकपटक सूचना आयो।
ऋण गरेर भए पनि तिर्नैपर्ने स्थिति आएपछि काठमाण्डू फर्किएँ। त्यही बेला सगरमाथा चढ्ने आरोहीको सहयोगी बन्ने प्रस्ताव आएको हो।
संसारको सर्वोच्च शिखर आरोहण उनका लागि ठूलो अवसरसँगै गर्वको विषय थियो।
त्यसैले उनी चढे, आरोहीलाई पनि चढाए। यस पटक पारिश्रमिक पाउँदाको क्षण खुसीको आँसु झरेको सुनाउँछन् उनी।
उनले भने,"चरम अभाव भोगेपछि पैसाको मूल्य थाहा हुँदो रहेछ।"
अभावकै कारण उनले स्नातक तह पढ्ने इच्छालाई थाती राख्नु परेको छ।
कोभिड-१९ को महामारी साम्य भएपछि भारी बोकेरै केही रकम जुटाउने र पढ्ने उनको योजना थियो।
तर दुई वर्षयता त्यही एउटा आरोहणबाट भएको आम्दानीले सापटी फिर्ता गर्नदेखि पेट भर्नसम्म पुर्याउनुपरेको उनको भनाइ छ।
निधारमा 'नाम्लोको डाम'
नेपालमा हरेक वर्ष मार्चदेखि मे र अगस्टदेखि डिसेम्बर महिनामा विदेशी पर्वतारोहीको लर्को लाग्छ। त्यही बेला हो भरियादेखि, भान्से र आरोहण गाइडहरूको आम्दानी हुने।
चाप र अनुकूलता हेरेर एउटा याममा दुईदेखि तीनवटा समूहलाई आरोहण गराउन सक्छ सहयोगीहरूको एउटा समूहले।
ती सहयोगीको दैनिक ज्याला १,५०० देखि २,००० रुपैयाँसम्म हुने बताउँछन् रोयल अर्किड ट्रेक्सका सञ्चालक फुर्वा शेर्पा।
आधार शिविरभन्दा माथि जानेहरूलाई भने ज्यालाबाहेक पाँचदेखि आठ लाख रुपैयाँ दिइन्छ।
"शिविरबाट माथि उक्लनु जोखिम मोल्नु हो। उनीहरूले आफ्नो लागि महँगा लुगादेखि अन्य उपकरणको खर्च त्यही रकमबाट गर्नुपर्छ," शेर्पाले जानकारी दिए,"तलै बस्नेहरूले ज्याला मात्र पाउँछन्। त्यही ज्यालाबाट आफ्नो खाजाखानाको व्यवस्था गर्नुपर्छ।"

तस्बिर स्रोत, Thiring Sherpa
बीस वर्ष भयो ४१ वर्षीय आइतराम तामाङले पर्वतारोहीहरूको भारी काठमाण्डूदेखि विभिन्न हिमालको आधार शिविरसम्म पुर्याउन थालेको।
भारी बोकेरै छ जनाको परिवारको पेट पालेका थिए। यही पेसाबाट हुने कमाइको भरमा तीन छोरा र एक छोरीलाई रसुवाबाट काठमाण्डू ल्याएर निजी विद्यालयमा पढाउन सकिन्छ जस्तो उनलाई लागेको थियो।
"राम्रो ठाउँमा पढाउन सके उनीहरूले कुल्ली बन्नु पर्दैन कि भन्ने आशा थियो।"
तर महामारीले उनको मौसमी कमाइ त छोराछोरी हुर्कँदै जाँदा दुई छाक टार्न समेत अपर्याप्त रहेछ भन्ने बुझायो।
"गाउँमा तरकारी त करेसाबारीमै फलेकोले पनि पुग्थ्यो। चामल सकिए पछि पो झल्याँस्स भएँ, एक पैसा पनि जम्मा भएको थिएन," उनले भोगाइ सुनाए।
जग्गाजमिन भएकाहरूले त खेतीकिसानी गरेर गुजारा चलाए। आइतरामसँग भने कुनै विकल्प थिएन। त्यसैले स्थानीय तहमा भइरहेको निर्माण कार्यमा मजदुरी गर्न थाले।
"जे काम गरे पनि निधारमा नाम्लोको डाम चाहिँ टुट्ने भएन," उनी ठट्टाको शैलीमा भन्छन्।
उनलाई चिन्ता त एउटै विषयको छः गाउँमा निर्माण कार्य सकिएपछि चामल जोहो गर्न के काम गर्ने? तत्काल पर्वतारोहण पुरानै लयमा फर्कन्छ फर्कँदै भन्ने विषयको विश्लेषण गर्न उनी सक्दैनन्।
तर काठमाण्डूबाट कसैले भारी बोक्न बोलाइहाल्छन् कि भन्ने आशा तीव्र छ।
त्यसैले हरेक दिन फुर्सद मिल्ना साथ नेटवर्क नटिप्ने आफ्नो गाउँबाट केही थुम्को उकालो लाग्छन् र डाँडामा बसेर फोनको घण्टीको प्रतीक्षा गर्छन्।
केही खेप भारी बोक्न पाए, त्यसबाट भएको आम्दानीले जेठो छोरालाई इन्टरनेट चल्ने फोन किनिदिने योजना उनले बनाएका छन्।
"मोबाइल किन्दिन नसकेर पढ्नै नपाएको गुनासो गर्यो। अब फेरि हिमालको फेदीसम्म पुग्न पाए, फर्कँदा जसरी पनि ल्याइदिन्छु भनेको छु," उनी भन्छन्,"अरू बच्चा त सानै छन्। किताबै हेरेर पढ्न सिकेका छैनन्।"

तस्बिर स्रोत, Phurba Sherpa
गाउँ फर्किएर आलुखेती गरिरहेका काजी
सोलुखुम्बुका काजी राई चाहिँ पर्वतारोहीहरूका लागि खाना बनाउने काम गर्थे। उनी दुई वर्षयता गाउँमै छन्। त्यहाँ श्रीमती रीता कुलुङलाई आलुखेतीमा सघाइरहेका छन्।
चार जनाको परिवारलाई खानै अभाव त भएको छैन। तर छोराछोरी विद्यालय भर्ना गर्नुपर्ने समय नजिकिँदो छ। खातामा पैसा छैन।
"पहिले बूढा काम गर्न हिमाल वरपर जाँदा स्वास्थ्य बिग्रिन्छ कि, दुर्घटनामा पर्नु हुन्छ कि भन्ने चिन्ताले सताउँथ्यो। अब खानै नपाउने दिन आउँछ कि भन्ने चिन्ता बढेको छ। सानोतिनो काम गर्नेहरूलाई पीरले कहिल्यै नछोड्ने रहेछ," रीता कुलुङले बीबीसीसँग भनिन्।
आफूले श्रीमानलाई आलुखेती नै बढाउन प्रेरित गरिरहेको सुनाउँछिन् उनी।
काजी भन्छन्,"अरू काम खोजौँ भने हातमा पकाउने बाहेक सीप छैन। होटल रेस्टुराँमा काम गरौँ भने काठमाण्डूमा बस्न समेत पुग्ने तलब हुँदैन। त्यसैले श्रीमतीलाई सघाउनु नै उचित देखेँ।"
उनी ती दिनहरू सम्झन्छन् जब आफूले पकाएर खाएको टोली शिविरबाट चुचुरोतर्फ लम्कन्थ्यो। अनि आफूहरू फेदीमा बसेर सफल आरोहणको कामना गर्थे।
"कोरोनाभाइरसले ती सबै यथार्थहरू सपनाजस्तो बनाइदियो। मलाई जति सक्दो चाँडो काममा फर्कनु छ। हिउँको चिसोमा सबैलाई तात्तातो खाना बनाएर खुवाउनु छ," उनले रहर व्यक्त गरे।
काजीले महामारीका कारण निम्तिएको परिस्थितिलाई स्वीकारेका छन्। गुनासो त विभिन्न सङ्घसंस्था र सरकारप्रति रहेछ जसले उनीहरूलाई 'समस्या र अभावसँग कसरी जुधिरहेका छौ?' भनेर प्रश्न समेत गरेनन्।
पर्वतीय पर्यटन क्षेत्रका आधार, कुल्लीदेखि भान्सेहरू गाउँ फर्किने, विदेश भासिनेदेखि अन्य पेसा अँगाल्न बाध्य हुँदा राहत र सहयोग नपाएकोमा उनलाई चित्त दुखेको रहेछ।

तस्बिर स्रोत, Phurba Sherpa
६० प्रतिशतले घट्यो आरोहण
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भने गत अगस्टदेखि पर्वतारोहणका लागि केही पर्यटक आए पनि यस क्षेत्र सक्रिय हुन नसकेको बताउँछन्।
"केही आरोही आए। आरोहण गरे तर सीमित मानिस आउँदा यस क्षेत्रमै निर्भर सयौँ मानिसका लागि कामको अवसर सिर्जना गर्न सकिएन," लामाले भने,"जो कामविहीन रहे र निकै अभावबाट गुज्रिए उनीहरू हाम्रो सम्पर्कमा आएको अवस्थामा हामीले सङ्घमार्फत् सकेको सहयोग गर्यौँ।"
हिमाल आरोहीले तिर्ने रोयल्टीबाटै सङ्घ सञ्चालन हुने भएकाले आरोही नआउनुले संस्था समेत प्रभावित भएको उनको दाबी छ।
उनका अनुसार महामारी अघिको तुलनामा महामारीपछि हिमाल आरोहण ६० प्रतिशतले कम भएको छ। तीबाहेक छोटा पदयात्रा र अन्य पर्वतीय पर्यटन पनि निकै खस्किएको बताए।
छिरिङ शेर्पा अन्य व्यावसायिक क्षेत्रजस्तै पर्वतारोहण पनि पूरानै अवस्थामा फर्कनेमा आशावादी छन्।
"राहतस्वरूप केही रकम र रासन पाउनुभन्दा छिटोभन्दा छिटो काम पाउनु महत्त्वपूर्ण हो। यस विषयमा सरकारको ध्यान जाओस्। भाइरससँग डराएर आरोहण नै ठप्प पार्नुभन्दा व्यवस्थापन चाहिँ राम्ररी गरोस्," उनी आफ्नो धारणा राख्छन्।
"हिमाल चढाउनेहरूको नाम नभए पनि पेट भर्ने माम त हुनुपर्यो नि!"
यो पनि हेर्नुहोस्













