सगरमाथा: कोरोनाभाइरस महामारी फैलिएको बेला चिनियाँ नापी टोली विश्वको सर्वोच्च शिखरमा

तस्बिर स्रोत, Getty Images
- Author, नवीनसिं खड्का
- Role, वातावरण संवाददाता, बीबीसी विश्व सेवा
चिनियाँ सर्वेक्षकहरूको एउटा टोलीले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको छ।
कोरोनाभाइरस महामारी फैलिएपछि नेपाल र चीनले पर्वतारोहणसम्बन्धी सबै गतिविधि बन्द गरेको बेला यो वर्षको वसन्तऋतुमा विश्वको सर्वोच्च शिखरमा उक्त टोली मात्र पुगेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार उक्त टोली सगरमाथाको उचाइ पुन: मापन गर्न गएको हो।
सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित छ।
नेपालका अनुसार सगरमाथाको उचाइ ८,८४८ मिटर छ। तर अहिलेसम्म चीनले त्यसभन्दा चार मिटर कम भएको मानेको छ।
चिनियाँ टोलीले गत एप्रिल महिनामा आफ्नो आरोहण अभियान थालेको थियो। तर प्रतिकूल मौसमका कारण त्यो प्रभावित भयो।
हावा चलिरहेको बेला सर्वेक्षकहरू सगरमाथाको चुचुरोमा काम गरिरहेको दृष्य चीनको सीसीटीभीले प्रत्यक्ष प्रसारण गरेको थियो।
आरोहण गरेपछि टोलीका सदस्यहरूले हिमाच्छादित शिखरमा सर्वेक्षणको चिनो गाडेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

तस्बिर स्रोत, Getty images
उसका अनुसार मङ्गलवार पर्वतारोहीलाई आरोहण गर्न सहज बनाइदिन डोरी टाँगिएको थियो।
चिनियाँ आरोहीहरू मात्र सगरमाथाको शिखरमा पुग्नु दुर्लभ घटना भएको बताइन्छ।
"सन् १९६० को वसन्तऋतुमा चिनियाँहरू मात्र शिखरमा पुगे। भारतीयहरूले प्रयास गरेका थिए तर सफल हुन सकेनन्," पर्वतारोहणसम्बन्धी अभिलेख राख्ने हिमालयन डेटाबेसका रिचर्ड सौल्ज्ब्री भन्छन्।
यो वर्ष चीनले सगरमाथाको सफल आरोहणको ६० औँ वार्षिकोत्सव मनाउन लागेको छ।
सगरमाथाको उचाइ
चीनले सन् २००५ मा पनि सगरमाथाको उचाइ नापेको थियो।
त्यसपछि उसले विश्वको सर्वोच्च शिखरको उचाइ हिउँको तहबाहेक ८,८४४.४३ मिटर भएको बताउने गरेको छ।
तर नेपालले अहिलेसम्म भारतमा ब्रिटिश शासन हुँदा निर्धारित उचाइ ८,८४८ मिटरलाई मान्यता दिँदै आएको छ। यो उचाइमा हिउँको तह पनि समाविष्ट छ।

तस्बिर स्रोत, BBC News Round
सन् २०१५ मा नेपालमा आएको भूकम्पले सगरमाथामा पारेको प्रभावको परीक्षण हुन बाँकी नै छ। केही भूगर्भशास्त्रीहरू भूकम्पका कारण हिउँको तह खुम्चिएको धारणा राख्छन्।
सन् २०१७ नेपाल सरकारले आफैँ सगरमाथाको उचाइ नाप्ने अभियान थाल्यो।
नेपाली टोलीले परम्परागत र आधुनिक प्रविधि प्रयोग गरेर सङ्कलित डेटा प्रशोधनको कार्य लगभग सकिएको बताइएको छ।
अब अन्तिम चरणको काम मात्र काम बाँकी भएको नापी विभागका प्रवक्ता दामोदर ढकालले बीबीसीलाई बताए।
"यति बेला एउटा अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गर्ने र मापनको परिणाम सार्वजनिक गर्ने योजना थियो। तर कोभिड-१९ का कारण लगाइएको लकडाउनले सबै कुरा ढिलो हुने भयो," उनले भने।
गत अक्टोबर महिनामा चीनका राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गर्दा दुई देशले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए।
दुई देशका टोलीले फरक उचाइ मापन गरे भने के हुन्छ भन्ने स्पष्ट छैन।
चीनले सन् १९७५ मा पहिलो पटक सगरमाथाको उचाइ मापन गरेको थियो।
यो पनि हेर्नुहोस्









