सगरमाथा: नेपाली प्राविधिक टोली आधार शिविरमा, यसरी नापिँदैछ सर्वोच्च शिखरको उचाइ

तस्बिर स्रोत, Tshiring Jangmu Sherpa
- Author, सुजाता तामाङ
- Role, बीबीसी नेपाली सेवा
यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका नापी विभागका एक अधिकारीले नेपालको पहिलो सगरमाथा उचाइ मापन टोलीका प्रावधिकको टोलीको नेतृत्व गर्दैछन्।
प्रमुख नापी अधिकृत खिमलाल गौतम अहिले प्रावधिकि सहयोगी र शेर्पा आरोहीहरूसँगै सगरमाथा आधार शिविरमा रहेका छन्।
उनी सन् २०११ को नेपाली कर्मचारी सगरमाथा आरोहण दलमा पनि सामेल थिए।
सगरमाथाको उचाइ मापन गर्ने ऐतिहासिक आरोहण अभियानअघि उनी यतिखेर सगरमाथा आधार शिविरमा अन्तिम तयारीमा व्यस्त छन्। उनको टोलीको नेतृत्व नेपाल पर्वतारोहण प्रतिष्ठानका पथप्रदर्शक छिरिङ जाङ्ग्मु शेर्पाले गर्दैछन्।
उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्।
नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो।
यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ।
त्यसका लागि प्राविधिक टोलीले चुचुरोसम्मै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछ।

तस्बिर स्रोत, BBC Newsround

उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन्।
केही आरोहण सहयोगी पनि टोलीमा सहभागी छन्।
को-को जाँदैछन् चुचुरोमा?
चार सरकारी कर्मचारीमध्ये गौतम र कार्की सगरमाथाको चुचुरोमै पुग्ने योजनामा छन्।
चुचुरोमा जाने टोलीका सदस्यले 'ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम' (जीएनएसएस) नाम उपकरण लानेछन्।

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL

उक्त उपकरणले सगरमाथाको चुचुरोमा भू-उपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसमी तथ्याङ्क र आद्रतासम्बन्धी तथ्याङ्क सङकलन गर्नेछ।
सन् २०११ मा निजामती कर्मचारी आरोहण दलको सदस्यका रूमा गौतमले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
सुरजसिंह भण्डारी र युवराज धितालले भने आधार शिविरमा बसेर उनीहरुलाई सहयोग गर्नेछन्।
तयारीका क्रममा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संयोजकत्वको चारसदस्यीय उचाइ मापन टोलीले ६,१८९ मिटर उचाइ अग्लो आइलन्ड पीक आरोहण गरिसकेको छ।

तस्बिर स्रोत, Phurba Tenjing Sherpa

काम कति सकियो?
नापी विभागले भारतको बङ्गाल हुदै नेपाली भूभाग सिराह जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर सम्पर्क स्थापित गरेको छ।
जीएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन्।
एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दु कायम गरिएको विभागले जनाएको छ।
भूबनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने, स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डङ्गोलले बताए।
ती सबै विन्दुको तथ्याङ्क नापी विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजानिक गरिने उनले बताए।

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL

उनका अनुसार सगरमाथालाई मध्य भागमा राखेर चारै दिशातर्फ नियन्त्रण विन्दुहरू समेत कायम गरिएका छन्।
लेभल मशिन, जीएनएसएस मशिन, ग्र्याभिमिटर आदि उपकरणको प्रयोग गरेर तल्लो क्षेत्रको उचाइ मापन गरिएको विभागले जनाएको छ।
उच्च हिमाली क्षेत्रको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको र झन्डै डेढ महिनाभित्र सबै विवरण सङ्कलन हुने डङ्गोलले बताए ।
इतिहास
यसअघि सन् १९५४ मा भारतको नापी विभागले सगरमाथाको उचाइ नापेको थियो।
उसले सगरमाथाको उचाइ समुद्र सतहदेखि ८,८४८ मिटर भएको बताएको थियो।
अहिलेसम्म विश्वभरि त्यो उचाइ नै मान्य हुँदै आएको छ।

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL

त्यसपश्चात् पनि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका छन्। तर तिनले आधिकारिक मान्यता पाएका छैनन्।
अन्तिम तयारी
सगरमाथाको उचाइ नाप्ने कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी विभागले काम अघि बढाएको थियो।
सतही मापनको ७० प्रतिशत कार्य सम्पन्न भएको डङ्गोलले बताए।
उनले भने, "सगरमाथाको चुचुरोमा पुगेर जीएनएसएस डाटा सङ्कलन र खुम्बु क्षेत्रका आठवटा स्थानको तथ्याङ्क लिने कार्य भइरहेको छ। यी कार्य पूरा भएपछि तथ्याङ्क एकीकृत गरेर रुजु गर्छौँ।"
उनका अनुसार सगरमाथाको चुचुरोबाट जीएनएसएस उपकरखओ डेटा आएमा आगामी पुस मसान्तभित्र परिणाम सार्वजानिक हुनेछ।
विसं २०७२ सालको ठूलो भूकम्पपश्चात् सगरमाथाको उचाइ के भयो होला भन्ने चासो धेरैमा देखिएको छ।












