कार्लोस सोरियाको ८१ वर्षको उमेरमा सबै उच्च शिखर आरोहण गर्ने लक्ष्य

तस्बिर स्रोत, Courtesy of Carlos Soria
मास्क लगाएर जब ८१ वर्षीय कार्लोस सोरिया अभ्यासका लागि मड्रिडस्थित घरबाट निस्कछन्, उनी हिमालय क्षेत्रमा बिताएको समय सम्झन्छन्।
"श्वास फेर्न नै गार्हो भएपछि मलाई लाग्छ म उच्च भूभागमा छु," मुस्काउँदै उनी भन्छन्।
उनी आउँदो सिजनमा फेरि हिमालमा आएर नेपालको धौलागिरी हिमाल आरोहण गर्ने योजनामा छन्।
त्यसपछि उनी अर्को सिजनमा तिब्बतको शीशापाङ्मा हिमाल चढ्ने योजनामा छन्। यी दुवै हिमालमा उनी सफल भएमा विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन्।
आफ्नो जीवनभर आरोहण गरेका कार्लोस गएको दुई दशकमा उमेरसम्बन्धी आरोहणका कीर्तिमानका कारण चर्चित छन्।
उनले ६० वर्ष उमेर नाघेपछि ती १४ मध्ये ११ वटा हिमाल आरोहण गरेका छन्।
उनी ६२ वर्षको उमेरमा सगरमाथा चढेर केही समयका लागि विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए।
सत्तरी वर्षको उमेरसम्म उनले सबै सात महादेशका उच्च हिमालहरू आरोहण गरिसकेका थिए।
'आफ्नै दुई खुट्टामा'
उनको सबैभन्दा ठूलो सफलता भनेको उनको आरोहण शैली हो।
"म सबैभन्दा गर्वित हुने कीर्तिमान भनेको मलाई अहिलेसम्म उद्धार गर्नुपरेको छैन र म सधैँ आफ्नै खुट्टाको भरमा शिखर पुगेर फर्केको छु," उनी भन्छन्।

तस्बिर स्रोत, Courtesy of Carlos Soria
उनको गत वर्ष नै १४ शिखर आरोहण सक्ने योजना थियो तर कोभिडका कारण त्यो रोकियो।
उनले बाँकी दुई शिखरमा पुग्दा महामारीका मृत्यु भएकाहरूको सम्झना गर्ने बताएका छन्।
"म मेरा उमेरका भाइरसबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्न चाहन्छु," उनले भने।
"म फूलको गुच्छा लिएर जानेछु र यो खराब अवस्थामा मृत्यु भएका सबैको सम्झनामा तिनलाई शिखरमा छोडेर फर्कने छु।"

तस्बिर स्रोत, Courtesy of Carlos Soria
उनी हाल मड्रिड नजिकैको पहाडमा कडा अभ्यास गरिरहेका छन्। उनले घरमा रहेको व्यायामशालालाई पनि आरोहण अभ्यास गर्न प्रयोग गरिरहेका छन्।
"विश्वमा कसैले पनि यस्तो गरेका छैनन्," कार्लोससँग आरोहण गरेका सिटो कार्काभिल्ला भन्छन्।
"कार्लोस जागिर सकिएपछि दिक्क लागेर आरोहण गर्न सुरु गरेका वृद्ध होइनन्," उनले भने। "उनी अनुभवी आरोही हुन् जो अझै सक्रिय छन्।"
दुई वर्षअघि कार्लोसको घुँडाको शल्यक्रिया गरिएको थियो तर उनी यसले आरोहणमा असर नपार्ने बताउँछन्।
"केही असहज भएको छ, केही शक्ति कम भएको छ, मानसिक शक्ति पनि कम भएको छ," उनी भन्छन्। "तर जब म हिमालयमा पुग्छु तब कहिल्यै बूढो जस्तो महसुस गर्दिनँ।"
"थुप्रै मानिसहरूले म ७० लागिसकेँ भनेर भन्छन् तर के भयो र? यो गजबको उमेर हो!"









