'हिमालमा झण्डा राख्नेबारे स्पष्ट कानुनी व्यवस्था छैन'

आमादब्लम

तस्बिर स्रोत, Bibek Khadka

तस्बिरको क्याप्शन, छ हजार आठसय १२ मिटर अग्लो आमादब्लम हिमालमा खुम्बु क्षेत्रमा पर्छ

नेपालको आमादब्लम हिमालको चुचुरोको एउटा ठूलो हिस्सा ढाकिने गरी कुवेतको झण्डा राखिएकोमा विवाद उत्पन्न भए पनि कानुनमा त्यसबारे स्पष्ट व्यवस्था नभएको अधिकारीहरूले बताएका छन्।

खुम्बु क्षेत्रमा पर्ने छ हजार आठ सय १२ मिटर अग्लो हिमालमा भएको त्यस्तो झण्डाको प्रयोगलाई गैरकानुनी भन्दै नेपाल सरकारले झण्डाको आकृति दिन प्रयोग गरिएका कपडा जफत गरेको जनाएको छ।

हिमाल चढ्ने क्रममा चुचुरोमा फहराउन सबैजसोले आफ्नो देशको झण्डा बोक्ने भए पनि कुवेतको झण्डा सामान्य आकारको भन्दा निकै ठूलो भएको भन्दै पूर्वअनुमति नलिनुलाई पर्यटन विभागले समस्याको रूपमा औँल्याएको हो।

आमादब्लमको विवाद

आमादब्लम हिमालको चुचुरो मुन्तिरको भागमा हिउँको सेतो भित्ता बीचमा पारेर दुईतिर रातो र हरियो रङ्को लामो कपडा तल फहराइएको थियो।

त्यसको माथिपट्टि त्यस्तै कालो कपडा तेर्स्याएर त्यसलाई कुवेतको झण्डाको आकार दिइएको थियो।

एक सय मिटर लामो लम्बाइ र ३० मिटर चौडाइको उक्त झण्डाको आकृति बनाउन खर्च भएको कपडाको तौल झण्डै एक सय ५० किलो पुगेको बताइएको छ।

सामान्य आरोहण अभ्यासमा त्यस्तो काम गर्न नहुने भन्दै पूर्व अनुमति नलिएको कारण देखाएर ती कपडा जफत गरिएको पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्य बताउँछिन्।

उनी भन्छिन्: "त्यस्तो ठाउँमा फहराइएको झण्डालाई प्रदर्शनीमा वा अन्यत्र विशेष स्थानमा महत्त्व दिएर राखिने हुँदा हामीले त्यो जफत गर्नु नै सबैभन्दा ठूलो कारबाही हो।"

अनुमति चाहिन्छ?

यसरी झण्डा राख्न अनुमति नलिनु गलत भएको बताइए पनि हिमालमा झण्डा राख्नेबारे स्पष्ट व्यवस्था अहिलेको कानुनमा छैन।

तर हिमालमा कुनै नयाँ रेकर्ड राख्नुपूर्व त्यसको पूर्व जानकारी गराउनु पर्ने अधिकारीहरूको भनाइ छ।

जुन यसअघिका अन्य कीर्तिमानका बेला धेरैजसो आरोहीहरूले पालना नगर्ने गरेका पाइएको अधिकारीहरूले स्विकार्ने गरेका छन्।

आमादब्लम

तस्बिर स्रोत, Purnima Shrestha

निर्देशक आचार्य भन्छिन्: "सरकारले आरोहीहरूलाई गर्न नहुने कामका सूचीमा व्यावसायिक झण्डाको प्रयोगमा प्रतिबन्ध लगाएको छ। तर यो राष्ट्रिय झण्डा नै पर्‍यो। अब कत्रो आकार वा तौलसम्मका झण्डा प्रयोग गर्न दिने भन्नेबारे यस घटनासँगै स्पष्ट व्यवस्थाको खाँचो अनुभव गरिएको छ।"

तिब्बती संवेदनशीलताका कारण चीनसँगको सीमामा पर्ने हिमालमा आरोहीले बोक्ने झण्डालाई ख्याल गरिने गरेको छ।

अन्यत्र त्यसको ख्याल नगरिने गरेको अधिकारीहरूले अनौपचारिक कुराकानीका क्रममा बताउने गरेका छन्।

'जोखिमपूर्ण'

आमादब्लममा त्यस्तो झण्डाको आकार बनाउन कुवेतको आरोहण दललाई कीर्तिमानी आरोही निर्मल पुर्जाको दलले सघाएको थियो।

कुवेतको सबैभन्दा ठूलो आकारको झण्डा दाबी गरिए पनि त्यसलाई एउटा जोखिमपूर्ण कामको रूपमा धेरैले औँल्याएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

धेरैले उक्त कामको आलोचना गरेपछि आफ्नो एउटा फेसबुक पोस्टमा निर्मल पुर्जाले त्यो निकै जोखिमयुक्त काम भएको स्वीकारेका छन्।

पुर्जाले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्: "ती सबै जोखिमको मूल्याङ्कन आफूले गरेको, त्यसमा संलग्न भएका सबै १७ जना शेर्पाहरू सुरक्षित रूपमा फर्किएको र अन्य आरोहीलाई अप्ठ्यारो नपार्नेगरी ती सबै फर्किएपछि झण्डा टाँग्ने काम गरिएको हो।"

उनीसँग पर्यटन विभागले समेत स्पष्टिकरण सोधेको थियो।

उनले हिमालमा व्यावसायिक झण्डा राख्न नपाइने व्यवस्था भएपनि उक्त झण्डा व्यावसायिक नभएको जवाफ दिएका थिए।

त्यस्तै उनले विभागलाई हिमालमा राखिने झण्डाको आकारको प्रावधानबारे कतै उल्लेख नभएकाले आफूले झण्डा राख्न सघाएको बताएको अधिकारीहरूले जानकारी दिए।