सगरमाथा आरोहण: धेरै आरोही हुँदा खुसी हुने कि दु:खी?

तस्बिर स्रोत, Seven Summit Treks
- Author, प्रदीप बस्याल
- Role, बीबीसी नेपाली सेवा
यो वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमति लिएर आधार शिविरमा भेला भएका पर्तारोहीहरूले विश्वको सर्वोच्च शिखर चढ्ने प्रयास थालेका छन्।
नेपालको पर्यटन विभागमा यो याममा सर्वोच्च हिमाल चढ्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ३७८ जनाले अनुमति लिएका छन्।
आरोहण अनुमति बापत नेपाल सरकारले ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व उठाएको छ।
तर पर्वतारोहीको बढ्दो सङ्ख्यालाई नियमन गर्नुपर्ने अन्यथा कालान्तरमा सगरमाथामा विभिन्न समस्या उत्पन्न हुने चेतावनी विज्ञहरूले दिएका छन्।
तपाईंलाई लाग्न सक्छ- सगरमाथामा धेरै आरोही हुँदा के फरक पर्छ?
त्यसको लागि सगरमाथा आरोहणको शैली बुझ्नुपर्छ।
छोटो अनुकूल दिन

तस्बिर स्रोत, IRELAND ON EVEREST
वर्षमा केही दिन मात्र सगरमाथा चढ्ने अनुकूल समय मानिन्छ। त्यस्तो समय औसतमा एक हप्ताभन्दा पनि कम हुने गरेको छ।
त्यही छोटो समयभित्र सबै आरोही चुचुरोमा पुग्नुपर्ने हुँदा त्यो निकै चुनौतीपूर्ण हुने गर्छ।
सामान्य अवस्थामा हाम्रो शरीरसँग अनुकूल नहुने उचाइमा अक्सिजनको कमीले गर्दा धेरै समय बस्न सकिँदैन।
चिसो हावा, अस्थिर हिउँका चट्टान र कमजोर शरीरिक अवस्थासहित शिखरमा पुग्नुपर्ने बाध्यता हुन्छ।
त्यो समयमा कम अनुभव र तालिम भएका, शारीरिक रूपमा दुर्बल वा उचाइसँग पर्याप्त अनुकूलन नभएका आरोहीहरू भइदिए पनि अन्य आरोहीले पनि समस्या खेप्नुपर्ने हुन्छ।
किनकि सगरमाथा चढ्ने निश्चित बाटो छ। जहाँ पहिल्यै शेर्पाहरूले बाँध्ने डोरीलाई समात्दै आरोहीहरू माथिसम्म जान्छन्।
अनि हुन्छ सगरमाथामा ट्राफिक जाम
सन् २०१२ मा जर्मन आरोही रल्फ दुज्मोभित्सले खिचेको एउटा तस्बिर निकै चर्चित भएको थियो।
एकै दिन छ सय मानिस चुचुरोतर्फ लम्किरहेको तस्बिर खिचेका उनले त्यसलाई 'मानव सर्प'को उपमा दिएका थिए।

तस्बिर स्रोत, AFP/GETTY
त्यसयता बल्ल सगरमाथामा ट्राफिक जामको कुरा सुरु हुन थालेको हो। आरोहीका सङ्ख्या पनि त्यसयता लगातार बढेको छ।
सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिमपहिरोले आरोहण यामको सुरुमै १६ जना शेर्पाको ज्यान लिएपछि त्यो वर्षका सम्पूर्ण आरोहण रोकिएको थियो।
सन् २०१५ मा भूकम्पका कारण आरोहण हुन पाएन। तिनका कारण एउटा स्वाभाविक चाप अहिलेसम्म आरोहीको सङ्ख्यामा देखिइराखिएको अधिकारीहरू बताउँछन्।
तर अस्वाभाविक चाप पनि छ
सगरमाथा चढ्ने आरोहीको सङ्ख्या जति भनिएको हुन्छ, त्यसमा उनीहरूलाई सघाउने कम्तीमा एकजना शेर्पा हुँदा त्यो ठ्याक्कै दोब्बर हुनेगर्छ।
त्यसमाथि पछिल्लो समय सौखिन आरोहीहरू बढिरहेका छन्। उनीहरू एक जनाले नै दुई-तीन जना शेर्पा लिन थालेका छन्।
त्यसमाथि चौथौ शिविरसम्म खाना पकाउने र अन्य सामग्री ओसारपसार गर्ने शेर्पा पनि हुन्छन्।
ल्होत्से हिमाल चढ्नेहरू समेत चौथो शिविरसम्म सगरमाथाकै बाटो प्रयोग गर्छन्। ल्होत्सेका लागि यो याममा ९२ जना आरोहीले अनुमति लिएका छन्।
बाइस पटक सगरमाथाको चुचुरोमा पुगिसकेका कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आएका थुप्रै परिवर्तनहरू देखेका छन्।
उनी भन्छन्, "आरोहण गराउने कम्पनीहरू यतिधेरै बढे कि उनीहरूले शेर्पाकै भर परेर अनुभव नभएका जो कोहीलाई पनि हिमाल चढाउन थालेका छन्।"

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC
जसको कारण पैसा भएपछि जसरी पनि सगरमाथा चढ्न सकिन्छ भने जसरी प्रचार हुन थालेको छ।
कामिरिता सुनाउँछन्, "यसले शेर्पाहरूमाथि झन् बढी भार पार्न थालेको छ र हिमालप्रतिको सम्मानमा कमी ल्याइरहेको छ।"
अक्सिजन चोरी
सगरमाथामा अतिडरलाग्दो मानिएको 'डेथ जोन' भनिने झन्डै आठ हजार मिटर माथिको ठाउँ प्राय: शेर्पाहरू पनि सिलिन्डरबाट कृत्रिम अक्सिजनको प्रयोग गर्छन्।
तर त्यो उचाइमा आरोहीले आफूलाई चाहिने सबै अक्सिजनका बोतल बोकेर हिँड्न सक्दैनन्। त्यसैले उनीहरू आफ्ना चिह्न राखेर ठाउँठाउँमा पहिल्यै शेर्पाहरूमार्फत् बोतलहरू गाडेर राख्छन्।
तर जब हिमालमा बाटो 'जाम' हुन्छ र चुचुरो पुग्नका लागि त्यसमुनिका हिलारी स्टेप (ढुङ्गा) को फेद, साउथ समिट वा साउथ कोलमा धेरैबेर पर्खनुपर्छ अक्सिजन छिट्टै सकिन्छ। र आरोहीहरूमा हिउँले खानेदेखि लिएर ज्यान नै जाने अवस्था आइपुग्छ।
त्यस्तो बेलामा अरूले राखेका अक्सिजन चोरी हुने गरेको छ। पछिल्ला केही वर्षमा आरोहीहरूले बर्सेनि यस्ता गुनासो सार्वजनिक रूपमै गर्न थालेका छन्।
एकल आरोहीका रूपमा शेर्पाबिनै जाने कतिपयले त्यस्तो चोरी गर्ने गरेको शेर्पाहरूको आरोप छ।
"त्यो उचाइमा कसैको अक्सिजन चोर्नु भनेको अरूको हत्या गर्नुसरह नै हो," तीन पटक सगरमाथा चढिसकेकी माया शेर्पा भन्छिन्।
"आधार शिविरमाथि सरकारी अनुगमन समेत हुँदैन त्यसैले शेर्पासँग सरकारले नियमकानुन लागु गर्न समन्वय गर्नुपर्छ।"
सौखिन आरोही र अस्पष्ट नीति
आठ हजार मिटर माथिका सबै हिमाल अक्सिजनबिनै आरोहण गरेका इटालीका आरोही राइन्होल्ड मेस्नरले सगरमाथा आरोहण 'पदयात्रा जस्तो' हुन थालेको भन्दै चिन्ता व्यक्त गर्छन्।
अहिले सगरमाथाको उत्तरी मोहडाबाट सगरमाथा चढ्ने क्रममा रहेका सन् २०१६ का सगरमाथा आरोही कुन्तल जोइसरले भारतमा भइरहेको प्रचारबारे सुनाउँछन्, "तपाईं हिँड्न सक्ने भए सगरमाथा चढ्न सक्नुहुन्छ जसरी प्रचार गरिएको छ। पैसा भए यो एउटा सबैले सजिलै गर्न सकिने साहसिक खेल जसरी हेरिएको छ।"
कुन्तल जोइसरले भनेझैँ यो वर्ष भारतबाट सबभन्दा बढी ७७ जना आरोही छन्। त्यसपछि भने अमेरिकाबाट ७५ र चीनबाट ६० जना छन्।
सगरमाथा चढ्न सकिने उत्तरी मोहडा चीनतर्फ भने पछिल्ला वर्षमा चढ्न पाउने आरोहीको निश्चित सङ्ख्या कायम गरिएको छ।
पर्यटन विभागका अधिकारीहरू समेत यसबारे अवगत भएपनि नीतिगत परिवर्तनबिना केही गर्न नसकिने बताउँछन्।
"चुचुरो पुग्ने बेलामा आरोहीहरू निकै बेर कुर्नुपर्ने अवस्था आएकोबारे हामी अवगत र सचेत छौँ," पर्वतारोहण हेर्ने विभागकी निर्देशक मीरा आचार्य भन्छिन्।
"त्यहाँ वैकल्पिक डोरी टाँगेर सहज पार्न सकिन्छ कि भनेर सोचेका छौँ तर सगरमाथा चढ्न आउने कसैलाई रोक्न भने अहिलेको अवस्थामा नीतिगत परिवर्तन नभईकन सम्भव छैन।"
यसअघि सगरमाथा चढ्नुअघि तुलनात्मक रूपमा केही होचा हिमाल चढेको अनुभव हुनुपर्ने, र शेर्पाबिना चढ्न नपाइने भनिए पनि त्यो नीतिगत अस्पष्टताका कारण कार्यान्वयनमा आउन सकेको छैन।
पहिला सरकारले हातखुट्टा गुमाएका वा दृष्टिविहीन व्यक्तिलाई पनि सगरमाथा चढ्नमा प्रतिबन्ध लगाएको थियो। तर पछि त्यो सर्वोच्च अदालतले सो निर्णय उल्ट्याइदिएको थियो।















