पोल्याण्डद्वारा बेलारुसतर्फको सीमामा सयौँ आप्रवासीलाई अवरोध, लुकाशेन्काले उक्साएको आरोप

पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोजेका कयौँ आप्रवासीलाई रोकेको जनाउँदै हजारौँ अझै त्यसतर्फ आइरहेको बताएको छ।

भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ।

पोल्याण्ड सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ।

पोल्याण्डले बेलारुसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई 'शत्रुतापूर्ण कार्य' भनेको छ।

को हुन् ती आप्रवासी?

पोल्याण्ड, लिथुआनिआ र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्।

ती धेरैजसो मध्यपूर्व र एशियाबाट आएका आप्रवासीहरू हुन्।

युरोपेली सङ्घले एलेक्जेन्डर लुकाशेन्काले बेलारुसविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध आप्रवासीको त्यस्तो लहरलाई सहजिकरण गरेको आरोप लगाएको छ।

आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको छ।

मङ्गलवार बिहानैबाट बेलारुसतर्फकै एउटा सीमा नाका कुज्निका बन्द गरिने पोलिस बोर्डर गार्डले जनाएको छ।

चिन्ता

उक्त क्षेत्रमा शून्य डिग्री सेल्सिअसभन्दा तल पुग्ने ठन्डीकाबीच सीमामा आप्रवासीहरूको असहज अवस्था देखिन्छ र उनीहरूको स्वास्थ्यको चिन्ता भइरहेको छ।

पोल्याण्डबाट निकालिँदा र बेलारुसले फिर्ता लिन नचाहँदा पोल्याण्डको जङ्गलमा उनीहरू अलपत्र परेका छन्।

चिसोकै कारण केहीको मृत्युको भएको छ।

एक आप्रवासीले त्यस्तो यात्राको योजना सामाजिक सञ्जालमा बनेको बताउँदै उनीहरूलाई बेलारुसले उक्साएको सङ्केत गरे।

एक इराकी आप्रवासी बर्वा अहमदले बीबीसीसँग भने, "मानिसहरूलाई (एलेक्जेन्डर लुकाशेन्काले) प्रयोग गरिरहेको थाहा छ तर उनीहरूको कुनै भविष्य छैन।"

आरोप

वार्साले भनेको छ- बेलारुसले मानिसहरूलाई देशबाट निस्कन बाध्य पार्ने कदम चालेर असहज अवस्था सिर्जना गर्न खोजेको छ।

जर्मनीका आन्तरिक मामिला मन्त्रीले युरोपेली सङ्घलाई एउटा आग्रह गर्दै पोल्याण्डको सीमा सुरक्षित राख्ने एकीकृत कदम चाल्न आग्रह गरेका छन्।

यसअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बेलारुसका अधिकारीहरूले जबरजस्ती आप्रवासी लहर सिर्जना गर्न खोजेको आरोप लगाएका थिए।

जसलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले अस्वीकार गरेका छन्।